+
+
Shares

उपसभामुख हटाउने प्रक्रिया सुरु भयो: एमाले सांसद राजेन्द्र राई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद राजेन्द्र राईले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन्।
  • प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार उपसभामुखलाई पद अनुकूल आचरण नगरेको भए एक चौथाई सदस्यको समर्थनमा हटाउने प्रस्ताव लैजान सकिन्छ।
  • उपसभामुख हटाउन दुई तिहाइ बहुमत आवश्यक पर्छ र कांग्रेस र एमालेसँग हाल १६७ सांसद छन्, जसमा थप १६ सांसद चाहिन्छ।

३ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले उपसभामुखबाट इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन् ।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर नै सुरु गरिसकेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।

यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो ।

तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।

हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १६ जना सांसद आवश्यक पर्छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।

जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।

जनमत पार्टीले भने उपसभामुख इन्दिरा रानालाइ हटाउनेबारे सत्ता गठबन्धनमा रहेका दलहरूसँग कुरा नभएको बताएको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान यो विषयमा आफ्नो पार्टीसँग कसैले छलफल नगरेको बताउँछन् ।

‘उपसभामुखलाई हटाउनेबारे न अन्य दलले हामीसँग छलफल गरेका छन् न कहीँ छलफल भएको छ’ उनी भन्छन्, ‘औपचारिक रुपमा आयो भने त्यसपछि कुरा गरौंला ।’

नागरिक उन्मुक्ति पार्टीले पनि सत्ता गठबन्धनमा रहेका दुई ठूला दलले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे आफूहरूसँग छलफल नगरेको बताएको छ ।

‘कांग्रेस र एमालेले केही भनेका छैनन् । उपसभामुख हटाउनेबारे हो वा होइन त्यो पनि बुझेको छैन’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?