
६ फागुन, सुर्खेत । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले नेपाली समाजलाई सद्भावयुक्त बनाउन राज्य र समाज सँगसँगै अघि बढ्नुपर्ने बताएका छन् ।
कर्णाली उत्सवको चौथो संस्करणको पहिलो सत्र ‘दलित दलिल’ मा वक्ताको रुपमा सहभागी उनले दलित र भेदभावमा परेको अन्य समुदायको आत्मसम्मानका लािग भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्ने बताए ।
‘यहाँ विभेदकै कारण मानिस मारिएको अवस्था छ, यस्ता विभेद अन्त्य गर्न राज्यले समानातको सिद्धान्तलाई अबलम्बन गरी अघि बढ्नुपर्छ’, उनले भने, ‘हामीले हाम्रो समाजलाई सदभावयुक्त बनाउनुर्छ र यसका लागि राज्य र समाज सँगसँगै अघि बढ्नुपर्छ ।’
कर्णाली प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्माले दलित प्रतिनिधित्व ढोकाबाट हुन नसकेपछि झ्यालबाट भएको टिप्पणी गरिन् । कर्णालीमा सरकार विस्तारका क्रममा सबै मन्त्रीहरु पुरुष भएपछि अन्तिममा महिला र दलित प्रतिनिधिका रुपमा राज्यमन्त्री बनाइएको थियो । ‘ढोकाबाट छिर्न नसकेको प्रतिनिधित्व झ्यालबाट छिरेको छ’ राज्यमन्त्री विश्वकर्माले भनिन् ।
दलित समुदायको उत्थानका लागि पहिले आत्मनिर्भर बनाउनुपर्ने उनले बताइन् । ‘अहिले दलितले खलो माग्ने प्रचलनको अन्त्य गर्नका लागि दलितसम्बन्धी बनाएका ऐनहरुलाई संशोधन गर्नुपर्छ’, उनले भनिन्, ‘दलितले खानाका लागि खलो माग्ने होइन, आफैंले केही पाइला चाल्नुपर्दछ ।’
पूर्वसचिव डा. मानबहादुर बिकेले अहिलेको कानुन र अभ्यासले सरकारी सेवामा दलितको उचित प्रतिनिधित्व नहुने बताए । कर्णालीका सन्दर्भमा उनले सरकारले दलित समुदायलाई राज्यको मूलधारमा नल्याएसम्म प्रदेश माथि नउठ्ने दावी गरे ।
‘प्रजातन्त्र आएको दुई दशकपछि नेपाल सरकारले एउटा सचिव पायो, यही कानुन र अभ्यास भयो भने अब अर्को सचिव आउन ११ बर्ष लाग्छ’ उनले भने ।
प्रतिक्रिया 4