+
+

एउटै अभियोगमा सांसदलाई माफी, अर्का अभियुक्त जेलमै

जनक विष्ट जनक विष्ट
२०७९ फागुन ७ गते १४:३३

७ फागुन, धनगढी । १३ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट निर्वाचित सांसद चौधरी रिहा भएका हुन् ।

१९ माघमा बाँकेको कोहलपुरबाट पक्राउ परेर १७ दिन थुनामा बसेका चौधरी रिहा भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेता कार्यकर्ताले कैलाली कारागार पुगेर स्वागत गरेका छन् भने अबिर र मालाले चौधरीलाई बधाई समेत दिए ।

आफ्ना सांसद चौधरीले आममाफी पाएर कारागारबाट छुटेपछि नाउपाका नेता तथा कार्यकर्ता खुसियाली मनाइरहदा सोही मुद्दाका अर्का अभियुक्त वीरबहादुर चौधरी भने कारागार थिए ।

कैलाली प्रहरीले वीरबहादुरलाई पक्राउ गरेपछि मात्र उक्त मुद्दामा सांसद चौधरीलाई पनि अदालतले दोषी ठहर गरेको खुलेको थियो । तर एउटै मुद्दामा ६ महिना कैद र ८ लाख १९ हजार बिगो तोकिएकामध्येका अभियुक्त सांसद चौधरीले आममाफी पाउँदा अर्का अभियुक्त भने थुनामै छन् ।

कैलाली कारागारका निमित्त जेलर लालबहादुर बोगटीले ट्रयाक्टरमा आगजनी गरिएको घटनामा दोषी ठहर भएकामध्ये सांसद चौधरी आम माफीपछि प्रक्रिया पूरा गरेर रिहा भएको बताए । तर अर्का अभियुक्त वीरबहादुर चौधरी भने कारागारमै रहेको बोगटीले जानकारी दिए ।

‘माथिल्लो निकायबाट हामीलाई माननीय अरुणकुमार चौधरीको आचरणबारे सोधिएको थियो । उहाँ हामी कहाँ १८ दिन मात्र बस्नुभयो । यो अवधिमा उहाँका आचरण कस्तो थियो त्यो कुरा लेखेर पठाएका थियौँ,’ बोगटीले अनलाइनखबरसँग भने, ‘बाँकी प्रक्रिया त माथिल्लो निकायबाटै अघि बढ्ने हो । उनीसँगै कैद भुक्तान गरिरहेका वीरबहादुर चौधरीको हकमा भने हामीले केही मागिएको थिएन । उहाँ कारागारमै हुनुहुन्छ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टे्लले आममाफीका लागि सम्बन्धित व्यक्ति स्वयंले राष्ट्रपति समक्ष निवेदन दिनुपर्ने व्यवस्था रहेको बताए । सांसद चौधरी सोही प्रक्रिया पूरा गरेर रिहा भएको बताउँदै कट्टेलले अन्य दुई जना अभियुक्तको हकमा निवेदन नपरेको हुनसक्ने बताए ।

‘आममाफीका लागि सम्बन्धित व्यक्तिले सिधै राष्ट्रपति ज्यू कहाँ अनुरोधसहितको निवेदन पठाउनुहुन्छ । त्यो निवेदनको प्रक्रिया अघि बढेपछि माथिबाट आममाफी गरिएको पत्र हामीलाई आउँछ’, प्रजिअ कट्टेलले अनलाइनखबरसँग भने, ‘हामीले प्रक्रिया सुरु गर्ने होइन उतैबाट हुन्छ ।’

प्रजिअ कट्टेलले चौधरी दोषी ठहर भएको मुद्दामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेका वीरबहादुर चौधरी र फरारको सूचीमा रहेका पर्शुराम चौधरीको हकमा राज्यले केही नबोलेको बताए ।

लम्कीचुहा नगरपालिकाका पूर्व मेयर समेत रहेका महादेब बजगाईंले आफ्नो लु १ त २११ नम्बरको ट्रयाक्टरमा आगजनी गरेको भन्दै अरुण चौधरी, पर्शुराम चौधरी र बिरबहादुर चौधरी समेतलाई प्रतिवादी बनाएर २०६६ सालमा मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालत कैलालीले उक्त मुद्दामा ९ बैशाख २०७० मा फैसला गर्दै प्रतिवादी बनाइएका तीनै जनालाई ६ महिना कैद र ट्रयाक्टर धनी बजगाईलाई ८ लाख १९ हजार ४२३ रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।

करीब १० वर्षसम्म गुपचुप रहेको यो फैसलालाई टेक्दै कैलाली प्रहरीले अभियुक्त मध्येका वीरबहादुरलाई पक्राउ गरेपछि सांसद चौधरी पनि दोषी ठहर भएको खुलेको थियो ।

पक्राउ परेर कारागार चलान भएपछि चौधरीले आफूलाई सुनवाइको मौका समेत नदिएको भन्दै म्याद बदर गर्न माग गर्दै २२ माघमा उच्च अदालत दिपयालमा रिट निवेदन पेश गरेका थिए । २७ माघमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी उत्प्रेषणको रिट पनि दायर गरे तर दुवै रिटमा अन्तिम सुनवाइ नहुदै उनी रिहा भएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?