८ फागुन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै ‘गर्जुरा पर्यटकीय पार्क’ निर्माण अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा क्षेत्रसँगै जोडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क निर्माण अन्तिम चरणमा पुगेको हो ।
पार्कभित्र भ्यूटावर, भिरमा पिङ, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, भलिवल र व्याडमिण्टन मैदान, बिच बिचमा पैदलमा मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, विभिन्न जनावरमा आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ लगायतका निर्माणको काम अन्तिम चरणमा पुगेको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए ।

तम्घास आउने अन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थलको रुपमा पर्यटकीय पार्कलाई लिइएको छ । नगरको गर्जुरामा बन्न लागेको पार्कको लागत ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँ रहेको छ र धुलिखेल–अर्जुन–न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माण गरिरहेको छ ।
पार्क निर्माणको लागि नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । पार्क निर्माणको काम ९० प्रतिशत सकिएको रेसुङ्गा नगरपालिका इन्जिनियर कृष्ण कोइरालाले बताए ।

अब पार्कभित्र सामान्य काम बाहेक धेरै काम सकिएकाले काम सम्पन्न हुनासाथ सबैको अबलोकनका लागि खोलिने कोइरालाको भनाइ छ । अहिले पार्क निर्माणको काम चलिरहेकाले अबलोकनका लागि बन्द गरिएको छ । पार्कको २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया 4