+
+

नयाँ राष्ट्रपति रामचन्द्र कि माधव ?

राजनीतिक घटनाक्रममा नाटकीय परिवर्तन नभए नयाँ राष्ट्रपति रामचन्द्र पौडेल वा माधवकुमार नेपाल मध्ये एक बन्ने समीकरण तयार भएको छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ फागुन ८ गते २१:४०

८ फागुन, काठमाडौं । चुनाव संवैधानिक राष्ट्रपतिको हो, तर कार्यकारी प्रधानमन्त्रीलाई भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि रातिसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । सोमबार साँझ माओवादी केन्द्रको बैठकमा पनि त्यही एजेन्डामा सहमति जुट्यो– जुनसुकै उम्मेदवार उठाए पनि त्यसबारे प्रचण्ड एक्लैले निर्णय गर्ने ।

प्रचण्डलाई भेट्न आज बिहानै बालुवाटार पुगेका थिए, रवि लामिछाने । यी तिनै नेता हुन्, जसबारे तीन दिनअघि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच कुरा भएको थियो ।

शुक्रबार आफूलाई भेट्न बालकोट आएका प्रचण्डसँग ओलीले पुस १० गतेको बाचा सम्झाउँदै त्यो दिनका साक्षी बसेका रविको नाम लिएका थिए ।

१० पुसमा कांग्रेससँगको गठबन्धन त्यागेर बालकोट पुगेका प्रचण्डलाई प्रधानमन्त्री दिनेगरी एमालेले राष्ट्रपति लिएको थियो ।

७९ सिटको पार्टीलाई मुख्य संवैधानिक पद छाड्न तयार हुँदै गर्दा ३२ सिटको माओवादी केन्द्रका प्रमुख प्रचण्डले सभामुखमा एमाले र माओवादीबीच आलोपालो हुनुपर्ने शर्त राखेका थिए ।

यी सबै दृश्य देख्ने रवि लामिछानेलाई सोमबार अनलाइनखबरले सोध्यो, ‘राष्ट्रपति एमालेले पाउने भन्ने सहमति त्यो दिन भएको थियो होइन त ?’

‘अँ, भएको थियो । त्यो कुरा हुँदा म त्यहीँ थिएँ ।’

‘उसोभए ओली र प्रचण्डको त्यो सहमति अहिले पनि कायम छ ?’

रविले राजनीतिमा दैनन्दिन बदलिइरहने यथार्थहरुको विवेचना गर्दै प्रष्ट पार्न खोजे, ‘अब हेर्नुस् । त्यो दिन प्रधानमन्त्री माओवादी केन्द्रले पाउने, राष्ट्रपति एमालेले पाउने सहमति भएको नै हो । तर सहमति पनि चरण–चरणमा हुन्छन् नि । त्यसपछि भएका छलफलहरुमा उहाँहरुले छुट्टै केही कुरा गर्नुभयो होला । त्यो मलाई थाहा छैन ।’

अनलाइनखबर – तपाईंले आज बिहान प्रधानमन्त्रीसँग छुट्टै भेट्नुभएको थियो । त्यसमा के कुरा भयो ?

रवि – राष्ट्रिय सहमतिको आधारमा (राष्ट्रपति) हुनुपर्छ भन्ने कुरा गर्नुभयो । सहमति अनुसार हुन्छ भने ठिकै छ भन्ने हाम्रो भनाइ रह्यो ।

रविको भनाइबाट अब राष्ट्रपति एमालेले पाउँदै छैन भन्ने अर्थ निस्कन्छ । उनले राष्ट्रपतिमा अरु कोही आउन सक्ने संकेत गर्दै, तर यसैका कारण हालको गठबन्धन भने नटुट्ने रोचक दाबी गरे । ‘उहाँहरुले जे सहमति गर्नुहुन्छ, त्यसमा हाम्रो समर्थन हुन्छ’, रविले भने ।

रविले संकेत गरेका ‘उहाँहरु’ मा कांग्रेस पनि पर्छ । संसदको ठूलो दल कांग्रेस, जो हालको सत्ता गठबन्धनमा छैन । रविको रास्वपा, जो सरकारमा छैन, तर गठबन्धनमा छ । बालुवाटारको उच्च स्रोतले खुलायो, ‘रविजीका केही सवालहरु छन्, त्यसमा प्रधानमन्त्रीको एस्योरेन्स (सुनिश्चितता) खोजिराख्नुभएको छ । त्यो पाउनुभयो भने प्रधानमन्त्रीज्यूले समर्थन गर्ने राष्ट्रपति उम्मेदवारलाई रास्वपाले पनि साथ दिन्छ ।’

रविका सवालहरु के हुन् भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले प्रष्ट खुलाएन, तर ती सवाल ‘व्यक्तिगत खालका भएको’ संकेत गर्‍यो । पुस १० का यी साक्षीले त्यसयताका विभिन्न उतारचढावको संक्षिप्त समीक्षा गरे । अनि अरु थुप्रै ‘चरणका सहमति’ ले राष्ट्रिय राजनीति अन्तै मोडिएको इंगित गरे ।

रविसँग छलफल गरेपछि आज प्रधानमन्त्री प्रचण्डले एमाले उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टै साउती मारे । बालुवाटार स्रोत भन्छ, ‘रविजी खुसी हुँदै जानुभयो, विष्णुजी चाहिँ दुःखी हुँदै ।’

प्रचण्डले आजै दिउँसो तीन बजे कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक डाकेका थिए । तर एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले छुट्टै भेट्न खोजेपछि उनले त्यो बैठक तत्काल रोके । अनि प्रधानमन्त्री कार्यालयबाट निस्केर त्यसैको नजिक रहेको माओवादी केन्द्रको संसदीय दल कार्यालय पसे । अरु बेला स्थान, नाम, पात्रमा हदैसम्म खोजीनीति राख्ने माधव नेपाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय या निवास नभई माओवादी कार्यालयमा पुग्नु आफैंमा अर्थपूर्ण कुरा थियो ।

जुन बेला प्रचण्ड राष्ट्रपति बनिदिन आग्रह गर्ने गर्थे, त्यस बेला माधव तयार भएनन् । हिजोआज माधव ‘तयार हुन’ तयार छन् । प्रचण्ड भने अन्तै हिँडिसके । भलै उनमा अलमल बाँकी छ । आज कास्की पुगेर उनले बाह्रबुँदेका सहमतिकर्ता राष्ट्रपति बन्न सक्ने परोक्ष सन्देश भने प्रवाहित गरेका छन् । प्रधानमन्त्री स्रोत भन्छ, ‘माधव कमरेडले इच्छा देखाउनुभएको छ ।’

‘कार्यकारी प्रधानमन्त्री खाइसकेको व्यक्तिले आलंकारिक राष्ट्रपतिमा इच्छा देखाउनु कत्तिको सुहाउँदो कुरा हो ?’ यो प्रश्न प्रधानमन्त्री निकट सूत्रलाई सोधिएन । किनभने मेची पुललाई देखाउँदै प्रचण्ड र माधव दुवैले छुट्टाछुट्टै मन्तव्य दिइसकेका छन् । भर्खरै मेचीमा राष्ट्रवादको अभियान छेडेका दुर्गा प्रसाईदेखि ज्ञानेन्द्र शाहसम्मलाई ललकार्दै बाह्रबुँदे सहमतिको इतिहासको सप्रेम सम्झना गरेका छन् ।

सोमबार साँझ अनलाइनखबरसँग माधव नेपालले भने, ‘प्रचण्डजीले बाह्रबुँदे सहमति सम्झना गर्नुभएको हो भने त्यो ठीकै छ । किनभने मेचीको पुलबाट जेजस्ता गतिविधि हुँदैछन्, के त्यो झस्काउने खालको छैन र ?’

प्रचण्डले केही नेताहरुसँग ओलीको इसारामा दुर्गा प्रसाईले राजावादी गतिविधि गरेको हुन सक्ने आशंका गरेका थिए । त्यस समेतलाई देखाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने आफ्नो कोशिसको औचित्य पुष्टि गर्न उनले खोजेका छन् । प्रचण्डले बालुवाटारमा भेट्न आएका कांग्रेस नेताहरुकहाँ एमालेको तर्फबाट माधव नेपाल उम्मेदवार बन्न सक्ने चर्चा सुनेको भनी नयाँ सूचना छिराएका थिए ।

लामो सहकार्य र तिक्त प्रतिद्वन्द्विता गरेका ओलीले नै माधवलाई राष्ट्रपति उठ्न आग्रह गरेको भनी चलेका चर्चाबारे उनले घुमाउरो संकेतसहित बोले, ‘अब हेर्नुस्, अहिले यतिबेला म केही पनि बोल्दिनँ ।’

‘उहाँ (ओली) सँग, अथवा एमालेका दोस्रो तहका नेतासँग कुरा भएको हो ?’

‘उहाँसँग होइन । तर अरुसँग कुराकानी हुन पनि सक्छ । अहिले केही बोल्ने बेला छैन । पहिले स्थिति के कसरी अघि जान्छ हेरौं न ।’

आज माओवादी संसदीय दल कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग सौहाद्र्ध कुराकानी भएको भन्दै उनले थप खुलाउन अनिच्छा जाहेर गरे ।

यति बेला कांग्रेस मिसन राष्ट्रपतिको रणनीतिमा सक्रिय छ । १० पुसमा प्रचण्डलाई नसघाए पनि २६ पुसमा विश्वासको मत दिने लहरमा कांग्रेस उभिँदा एमाले अध्यक्ष ओलीले ‘ढोक्सा नथाप्न’ चेतावनी दिएका थिए । प्रचण्डलाई भने एमालेको ७९ मत भन्दा कांग्रेसको ८९ ‘मतभार’ गह्रुंगो भइरहेको छ । त्यसयता उनले आफ्नो अभिव्यक्तिमा बदलाव ल्याउन थालेका छन् ।

पुस दोस्रो साता एमालेले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरे पनि विश्वासको मत दिँदा सिंगो संसद आफ्नो पक्षमा उभिएपछि दायित्व बढेको उनले बताउँदै आएका छन् । राजनीतिक सूत्रहरुका अनुसार उनी कांग्रेसले अघि सार्ने उम्मेदवार भनी चर्चा गरिएका रामचन्द्र पौडेलप्रति सकारात्मक देखिएका छन् । चुनावअघि ‘निर्णायक तेस्रो शक्ति’ हुने भन्दै मत मागेका प्रचण्ड अब जता उभिन्छन्, त्यतै राष्ट्रपतिको पल्ला भारी हुने पक्कापक्की देखिन्छ ।

त्यसैले प्रचण्ड जति बालकोट जान्छन्, ओलीलाई त्योभन्दा बेसी बालुवाटार धाउनु परिरहेको छ । उनी प्रचण्डसँग संवादरत हुँदा दोस्रो तहका एमाले नेताहरु माधव नेपालसँग हिमचिम बढाउन थालेका छन् ।

माधव नेपालसँग संवादमा रहेका भनिएकामध्ये एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेबाटै राष्ट्रपति उम्मेदवार प्रस्ताव हुने दाबी गरे । ‘परिस्थिति अलिक जटिल बनाउन खोजिएको छ, तर हाम्रो बुद्धि पुग्यो भने राम्रो उम्मेदवार दिन्छौं, र हामी नै जित्छौं । जेपायो त्यही गरियो भने त भन्न सकिँदैन’, गुरुङले भने ।

उनी आफैं भने एमाले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्तावसहित सक्रिय छन् । एमाले अध्यक्ष ओलीले अहिलेसम्म मुख नखोले पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पदमा चाहना गरेको देखिन्छ ।

यही बीचमा ओलीले माधव नेपालको नाम फ्याट्ट प्रस्ताव गरिदिए भने एमालेभित्र कस्तो परिस्थिति बन्ला ?

पोखरेलले भने, ‘अहिले यो वा त्यो व्यक्ति भन्ने केही कुरा छैन । दृश्य अदृश्य प्रयासहरु, खेलकुदहरु चलिरहेका छन् । तर एमालेबाहेक अरु व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्दैन ।’

आइतबार राति प्रचण्ड भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका शेरबहादुर देउवासँग रामचन्द्र पौडेललाई कसैगरी राष्ट्रपति बनाउने चाहना छ । यही प्रस्तावसहित उनी दौडधुपमा सक्रिय छन् ।

जनता समाजवादी पार्टीको बैठकमा आज सोमबार अध्यक्ष उपेन्द्र यादवले गरेको ब्रिफिङ सुनाउँदै एक नेताले भने, ‘प्रधानमन्त्री र देउवा दुवैजना रामचन्द्रजीलाई राष्ट्रपति बनाउन तयार भइसक्नुभयो । अब अरुको चान्स छैन । चान्स आइहाल्यो भने माधव नेपालको नाम दोस्रोमा छ । अरु कसैको छैन ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?