+
+
ब्लग :

ब्रेन ड्रेन कि ब्रेन गेन ?

नेपाली विदेशबाट ज्ञान, सीप तथा प्रविधि लिएर फर्केको खण्डमा यसलाई ‘ब्रेन गेन’ भन्न सकिन्छ। ज्ञान आर्जन गर्न गएका विद्यार्थीलाई फिर्ता ल्याउन ब्रेन ड्रेनलाई निरुत्साहित गर्नुका साथै ब्रेन गेन गर्न उनीहरूलाई प्रोत्साहित गर्ने नीति बनाउन ढिलाइ गर्नुहुँदैन।

श्रीराम पौडेल श्रीराम पौडेल
२०७९ फागुन ९ गते १५:१९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार माघ महिनामा मात्र उच्च शिक्षाका लागि विदेश जान चाहने ७ हजार ६१८ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। एक महिनामा यति ठूलो संख्याले एनओसी लिनुले उच्च शिक्षाका लागि विदेशका शिक्षालय नेपाली छात्रछात्राको रोजाइ नै रहेको अनुमान गर्न सकिन्छ।

वर्षमा ७० हजारको हाराहारीमा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान गरिएको छ। एनओसीका लागि विद्यार्थीले सरकारलाई राजस्व बापत माघ महिनामा करिब १ करोड ६० लाख रकम बुझाएका छन्।

अवसरको खोजी र स्तरीय शिक्षा हासिल गर्नका लागि विदेशमा पढ्न जाने विद्यार्थीको चाप बढ्दै गएको तथ्यांकले दुई दशक बढी शैक्षिक परामर्श सेवामा संलग्न भएको नाताले मलाई केही तथ्यहरूमाथि मन्थन गर्न मन लाग्यो।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीबाट देशलाई लाभ वा हानि के भइरहेको छ भन्ने बारे वस्तुनिष्ठ अध्ययन भएको छैन। तर, नेपाली छात्रछात्रालाई उच्च शिक्षाका लागि विश्वका राम्रा देशहरूमा पठाउँदाको मेरो अनुभवले भन्छ- यसबाट नेपाललाई लाभ नै भएको छ।

उच्च शिक्षाका लागि छात्रछात्रालाई विश्वका राम्रा शिक्षालयमा पठाउन सहजीकरण गर्ने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा मात्रै ४६५ वटा व्यवसायी संस्था दर्ता भएका छन्। इक्यान बाहेक फिकोन, आइरिन, नेका, नायर र जालसान लगायत पेशागत संस्थामा आवद्ध संस्थाहरूको संख्या अनुमानित एक हजारको हाराहारीमा छ। शिक्षा मन्त्रालयमा दर्ता भएका व्यवसायी संस्थाको संख्या चाहिं १ हजार ४७३ छ भने यीमध्ये करिब ७५ प्रतिशत संस्था काठमाडौंकेन्द्रित छन्।

देशभरिमा करिब १० हजार भन्दा बढी शैक्षिक परामर्श व्यवसायी संस्थाहरू खोलिएका छन्। शैक्षिक परामर्श व्यवसायी संस्था खोल्न व्यवसायीले न्यूनतम १० लाखदेखि अधिकतम करोडभन्दा बढी लगानी गरेका हुन्छन्। अपवाद बाहेक उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी यिनै संस्थाको माध्यमबाट विदेशका शिक्षालयमा जोडिने गर्छन्। एउटा विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाँदा औसत १० देखि १५ लाख लगानी गरेको हुन्छ।

विदेश जानुअघि नेपाली विद्यार्थीलाई हाम्रा संस्थाहरूमार्फत यहाँका विश्वविद्यालय र कलेजहरूमा उपलब्ध नहुने भाषिक सीप सम्बन्धी प्राविधिक कक्षाहरू सञ्चालन गरेर छात्रछात्राको भाषा सम्बन्धी वाञ्छित सीप विकास गरिएको हुन्छ। त्यो सीप देश बाहिर अध्ययनका लागि पूर्व शर्त नै हो। जापान, कोरिया तथा चीन लगायत देशमा अध्ययन गर्न चाहनेहरूका लागि ती देशका भाषा र अन्यत्रका लागि अंग्रेजी भाषाका कक्षा सञ्चालन गरिएको हुन्छ।

शैक्षिक परामर्श व्यवसायीको धेरै वटा काममध्ये एउटा मुख्य काम नै भाषा कक्षा सञ्चालन भएको छ। विदेशका कलेज तथा विश्वविद्यालयसँगको सहकार्यमा छात्रछात्राले चाहे अनुसारका कोर्ष तथा विषयको खोजी गरिदिने, छात्राछात्रको समग्र प्रोफाइल तयार गरेर विश्वविद्यालय तथा कलेजहरूमा प्रस्ताव पठाउने, विदेश जाने नेपाली विद्यार्थीको बसाइँ व्यवस्था सहज बनाउन र उनीहरूलाई आत्मनिर्भर हुन सीप शिक्षा दिने कामहरू पनि गरिएको छ। भिसा प्राप्त गर्न आवश्यक पर्ने सबै काम नै परामर्श व्यवसायीहरूले गर्ने गरेका छन्।

हुन पनि कक्षा १२ र त्योभन्दा माथिल्लो तह उत्तीर्ण गरेका किशोरवयका नेपाली विद्यार्थीलाई हामीले पश्चिमा देशहरूमा सहज रूपमा उभिन सक्ने बनाउन आवश्यक पर्ने सबै काम गरिरहेका छौं। विद्यार्थी, अभिभावक, कलेज र विश्वविद्यालयबीच हामी सहजकर्ता तथा मध्यस्थकर्ता भएका छौं नेपाल र विश्वका राम्रा शिक्षालयबीच पुलको काम गर्नु आफैंमा एउटा महत्वपूर्ण अवसर हो।

नेपाली विद्यार्थीको शैक्षिक स्तर अनुसार विदेश गएर कहाँ पढ्ने, के पढ्ने र कसरी बस्ने ? आदि प्रश्नको सही जवाफ शैक्षिक परामर्श व्यवसायीबाट नै विद्यार्थी तथा अभिभावकले पाउने गरेका छन्। शैक्षिक परामर्श व्यवसायी नभएको भए यो काम देशमा कसले गरेको हुन्थ्यो होला ? विद्यार्थी तथा अभिभावकहरू कहाँ गएका हुन्थे होलान् ? यो प्रश्नमा कोही पनि घोत्लिएको देखिएको छैन।

पछिल्लो समय इन्टरनेटको पहुँचले कतिपयले आफैं पनि कलेज, विश्वविद्यालय खोज्ने गरे पनि अन्तिममा परामर्श व्यवसायीकै सहयोग जरुरी पर्ने विद्यार्थी तथा अभिभावकको संख्या कम छैन। नेपालबाट भिसाको तयारी तथा आवेदन सम्बन्धी सबै काम पनि परामर्श व्यवसायीहरूले गर्ने गरेका छन्। नेपाल जस्तो विकासोन्मुख देशका नागरिक र छात्रछात्राले युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विकसित देशमा सहज रूपमा भिसा पाउने अवस्था अझै बनेको छैन।

त्यसका लागि बृहत् तयारी गरेर अध्ययन भिसा सुनिश्चित गर्नु सबैभन्दा जटिल काम हो। यसका लागि आवश्यक पर्ने सबै तयारी विद्यार्थी अभिभावकसँग मिलेर कन्सल्टेन्सीहरूले नै गर्ने हो। भिसा अन्तर्वार्ताको पूर्वतयारीदेखि स्वास्थ्य परीक्षणसम्म, शैक्षिक कर्जाको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारी जस्ता काममा पनि शैक्षिक परामर्श संस्थाहरूको सहयोगी भूमिका रहन्छ।

नेपालबाट १०९ देशमा नेपाली छात्रछात्रा उच्च शिक्षा अध्ययनका लागि जाने गरेका छन्। ती देशसम्म नेपाली विद्यार्थी र अभिभावकको पहुँच स्थापित गर्न सहजकर्ताको रूपमा काम गरिरहेका शैक्षिक परामर्श व्यवसायीलाई राज्य तथा समाजका सरोकारवाला निकायबाट सकारात्मक रूपमा हेर्ने गरिएको छैन।

राज्यबाट त यस क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो हतोत्साहित गर्ने गरिएको छ। बेरोजगारको समस्याले ग्रसित मुलुकमा यस क्षेत्रले झण्डै ५० हजार भन्दा बढी प्राविधिक सीप र उम्दा शैक्षिक योग्यता भएको जनशक्तिलाई रोजगारी दिएको छ। यो आफैंमा देशका लागि महत्वपूर्ण योगदान हो।

करका माध्यमबाट यो क्षेत्रले राज्यलाई वर्षमा ठूलो धनराशि राजस्व बुझाउने गरेको छ। नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि सहजीकरण गरेर योग्यतम नेपाली बनाउने बाटोमा शैक्षिक परामर्श व्यवसायी र संघ–संस्थाको ठूलो योगदान रही आएको छ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी), सामाजिक उत्तरदायित्व, रेमिट्यान्स आदिमा यस क्षेत्रको बहुआयामिक योगदान बुझ्न नखोज्ने र नचाहनेहरूको संख्या ठूलो छ। अन्यथा यस क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुनेथियो।

नेपालमा उच्च शिक्षाका लागि पर्याप्त राम्रो अवसर नभएकोले विद्यार्थी त उच्च शिक्षा हासिल गर्न विदेश जाने नै भए, उनीहरूका अभिभावकले पनि छोराछोरीका माध्यमबाट विकसित देश जाने र देख्ने अवसर पाएका छन्। कैयौं नेपालीले विकसित संसार देख्ने अवसर छोराछोरीका माध्यमबाट पाएका छन्। विदेशमा राम्रो शिक्षा हासिल गरेर नेपाल फर्किने र यहाँ कुनै उद्यम वा रोजगारीमा लाग्नेहरूको संख्या पनि ठूलो छ।

कानुनी प्रक्रिया पूरा गरेर नेपालबाट विकसित देशमा आप्रवासन गर्ने छात्रछात्रा पनि धेरै नै छन्। अध्ययन गर्न विदेश जाने छात्रछात्राले सुरुमा विदेश जाने बेला १० देखि १५ लाख औसतमा खर्च गरे पनि उनीहरूले विदेशबाट नेपाल पठाएको धनराशि त्यसको तुलनामा कैयौं गुणा धेरै छ। उनीहरूकै आम्दानीबाट काठमाडौं लगायत ठूला शहरमा घर जग्गा खरिद गर्ने अनि परिवारको आर्थिक हैसियत सुधार गर्ने नेपाली परिवारको संख्या मनग्य छ।

रेमिट्यान्सकै कुरा गर्ने हो भने खाडी मुलुक गएका पाँच जना नेपाली बराबर अमेरिका, अष्ट्रेलिया युरोप लगायत विकसित देश गएको एक नेपालीले रकम पठाउने गरेको अनुमान गरिन्छ। उनीहरूले त्यहाँ सिक्ने सीप र ब्रेन गेनको त जति चर्चा गरे पनि कम नै हुन्छ।

विदेश जाने विद्यार्थीबाट धेरै पैसा बाहिर गयो भनिएको छ, तर विदेश गएका विद्यार्थीबाट देशभित्र आएको धनराशि, ज्ञान र अनुभवको कसैले लेखाजोखा गरेको छैन। निश्चित रूपमा विदेश गएको पैसाभन्दा यता आएको ज्ञान र धन धेरै गुणा बढी छ।

त्यसैले उच्च शिक्षा हासिल गर्न विदेश जानु देशका लागि ब्रेन ड्रेन होइन, बरु ब्रेन गेन हो। सूचनाप्रविधिको विकासका कारण आजको विश्व एउटा सानो गाउँ जस्तो भएको छ। त्यसैले एउटा योग्य नेपालीले संसारको जुनसुकै कुनाबाट पनि देशका लागि योगदान गर्न सक्छ।

त्यसो त शैक्षिक परामर्श व्यवसायीहरूले भूकम्प, कोरोना महामारी लगायत देशलाई संकट पर्दा उल्लेख्य सहयोग गर्ने गरेका छन्। सामाजिक उत्तरदायित्व अनुसार संकटका बेला सहयोग गर्नु नेपालीको धर्म नै हो। नेपाल र नेपाली समाजमा योगदान गरे पनि यस क्षेत्रलाई राज्यले बेवास्ता र कतिपय अवस्थामा उपेक्षा नै गरेको छ।

नेपालबाट दुईथरी युवाहरू विदेश जाने गरेका छन्। एकथरी सार्वजनिक र सरकारी विद्यालयका कमजोर शैक्षिक तथा आर्थिक पृष्ठभूमि भएका विद्यार्थी रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन्। देशमा रोजगारी र आर्थिक उपार्जनको सीमितताका कारण रहर भन्दा बढी बाध्यताले उनीहरू खाडी जानु परेको छ।

अर्कोथरी तुलनात्मक रूपमा राम्रो शैक्षिक तथा आर्थिक परिवेश भएका विद्यार्थी तथा युवाहरू उच्च शिक्षा हासिल गर्नका लागि युरोप, युके, क्यानडा, अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, चीन तथा भारतका शिक्षालयमा जाने गरेका छन्। यिनीहरूका माध्यमबाट विदेशको पैसा नेपाल आएको छ, अर्थतन्त्रमा टेवा पुगेको छ। तर, यिनको हितका लागि राज्यको तर्फबाट ध्यान दिइएको पाइँदैन।

नेपालमा उच्च शिक्षा हासिल गरेर पनि अवसर पाउन नसक्नु नै विद्यार्थी विदेशिनुको मुख्य कारण हो। विदेश जाने विद्यार्थीबाट धेरै पैसा बाहिर गयो भनिएको छ, तर विदेश गएका विद्यार्थीबाट देशभित्र आएको धनराशि, ज्ञान र अनुभवको कसैले लेखाजोखा गरेको छैन।

निश्चित रूपमा विदेश गएको पैसा भन्दा यता आएको ज्ञान र धन धेरै गुणा बढी छ। शैक्षिक परामर्श व्यवसायीलाई कतिपयले नकारात्मक आरोप पनि लगाउने गरेको सुनिन्छ। तर, सत्य फरक छ। भाषा कक्षाबापत प्रति विद्यार्थी न्यूनतम ५ देखि १५ हजार शुल्क लिने गरिएको छ भने सेवा शुल्क बापत न्यूनतम १० देखि ३५ हजारसम्म लिने गरिएको छ।

जापान लगायत केही देश जाँदा केही बढी शुल्क लाग्छ। एक जना विद्यार्थीलाई यसरी सम्पूर्ण तयारी गराउन परामर्श व्यवसायीहरूको ठूलो समय, मिहिनेत र प्राविधिक सीप अनि आर्थिक लगानी पनि भएको हुन्छ। त्यसको तुलनामा छात्रछात्राबाट लिने गरिएको न्यून शुल्क सामान्य हो।

देशमा उच्च शिक्षाका लागि गुणस्तरीय तथा प्रतिस्पर्धी शिक्षालय पर्याप्त नभएकै कारण विश्वस्तरको शिक्षा हासिल गरी योग्य बन्ने रहरले नेपाली छात्रछात्रा विदेश जाने हुन्। यसरी विदेश जानुअघि उनीहरूले अनेक झमेला झेल्नु परिरहेको छ। पासपोर्ट बनाउनेदेखि नो अब्जेक्सन लेटर पाउन पनि झमेला भोग्नु परेको छ। प्रक्रियागत झमेला राज्यको स्थायी चरित्र जस्तो भएकोले त्यसमा समयानुकूल सुधारको खाँचो छ।

शैक्षिक कर्जा खोजेर विदेशका कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँग राज्यले शिक्षा सेवा करका नाममा दुई प्रतिशत शुल्क लिने गरेको छ। यसले नेपाली अभिभावक र छात्रछात्रालाई अतिरिक्त आर्थिक बोझ थपेको छ।

शैक्षिक कर्जाको ब्याज र राज्यलाई बुझाउनुपर्ने करले अभिभावकलाई बोझ थपिएको छ। भिसा नभएका विद्यार्थीको शिक्षा सेवा कर दुई प्रतिशत कर फिर्ता गर्ने भनिए पनि त्यो पाउन अनेक झमेला झेल्नु परेको छ।

नितान्त प्राविधिक काम गरेर देश र समाजका लागि ज्यादै महत्वपूर्ण योगदान गरिरहेका शैक्षिक परामर्श व्यवसायीहरूलाई बेलाबेला धरौटी राख्नुपर्ने धम्की दिएर आतंकित पनि पारिएको छ, त्यो रोकिनुपर्छ। सेवामूलक व्यवसाय गरेर देशको लागि योगदान गरिरहेका जुनसुकै सेवामूलक व्यवसायीसँग धरौटी लिन खोज्नु न्यायोचित हुन सक्दैन।

शैक्षिक परामर्श संस्था सञ्चालन र व्यवस्थापनबारे राज्यले स्पष्ट नीति बनाउनुपर्छ। विदेशमा ज्ञान र सीप हासिल गरेका विद्यार्थीलाई नेपाल फर्काउन नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो। अध्ययनका लागि विदेश गएका विद्यार्थी कति फर्किन्छन् भन्ने तथ्यांक समेत सरकारसँग छैन।

नेपाली विदेशबाट ज्ञान, सीप तथा प्रविधि लिएर फर्केको खण्डमा यसलाई ‘ब्रेन गेन’ भन्न सकिन्छ। ज्ञान आर्जन गर्न गएका विद्यार्थीलाई फिर्ता ल्याउन ब्रेन ड्रेनलाई निरुत्साहित गर्नुका साथै ब्रेन गेन गर्न उनीहरूलाई प्रोत्साहित गर्ने नीति बनाउन ढिलाइ गर्नुहुँदैन।

त्यसैले राज्य र अरु सरोकारवालाहरूले शैक्षिक परामर्श व्यवसायीलाई नकारात्मक आपेक्ष लगाउनु भन्दा यस क्षेत्रले गरेको योगदानलाई कदर गर्दै यस क्षेत्रलाई थप भरपर्दो एवं विश्वसनीय बनाउनतिर ध्यान दिन जरुरी छ।

(पौडेल शैक्षिक परामर्श व्यवसायी हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?