+
+

सीटीईभीटी र कलेजको लापरवाही : परीक्षा दिएपछि थाहा भयो, दिनै नपाइने रहेछ

नुनुता राई नुनुता राई
२०७९ फागुन ९ गते १७:२५

९ फागुन, काठमाडौं। सीटीईभीटी र बुद्धनगरको हिमालयन आयुर्वेद साइन्स कलेजको लापरवाहीले २०७१ सालमा भर्ना भएका ६ जना विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ ।

सीटीईभीटी सम्बन्धन प्राप्त हिमालयन आयुर्वेद साइन्स कलेजमा २०७१ सालमा भर्ना भई तीन वर्षे जेनरल आयुर्वेद मेडिकल कार्यक्रम अध्ययन गरेका विद्यार्थीले २०७८ सालमा दिएको मौका परीक्षाको सीटीईभीटीले नतिजा नै दिएको छैन ।

सीटीईभीटीले आफ्नो परीक्षा विनियम अनुसार उनीहरुले परीक्षा दिन नै नपाउने भन्दै कलेजले फारम भराएर गल्ती गरेको बताउँदै गरेको छ ।

कलेजले भने सीटीईभीटीले नै परीक्षा फारम भराउन भनेकाले भराएको बताएको छ । विद्यार्थीहरुले भने आफूहरुसँग शुल्क लिएर परीक्षा फारम भराई परीक्षासमेत लिइसकेको अवस्थामा नतिजा प्रकाशन गरिदिए अर्को तहको अध्ययन गर्न सजिलो हुने बताएका छन् ।

तीनवर्षे कार्यक्रममा २०७१ सालमा भर्ना भएका विद्यार्थीले २०७२ मा पहिलो वर्षको, २०७३ सालमा दोस्रो वर्षको र २०७४ सालमा तेस्रो वर्षको परीक्षा दिएका थिए । त्यतिबेला सबै वर्षको परीक्षा पास नभएकाहरुले सीटीईभीटीको परीक्षा विनियम अनुसार ३ वर्षसम्म मौका परीक्षा दिन पाउँछन् । त्यस अनुसार २०७७ सालसम्म मौका परीक्षा दिन पाउने विद्यार्थीलाई कलेज र सीटीईभीटीले २०७८ को परीक्षामा पनि सहभागी गराएको हो ।

सीटीईभीटीले २०७८ सालमा उनीहरुको परीक्षा लियो, तर नतिजा सार्वजनिक गरेन । परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त उनीहरु परीक्षामा सहभागी हुन नै नपाउने थाहा पाए ।

कलेजले फोन गरेर परीक्षा फारम भर्न बोलाएको, परीक्षा दिएपछि परीक्षण पनि गरेको तर नतिजा दिने बेला तिमीहरुको परीक्षा नै थिएन भनेर मानसिक तनाव दिएको विद्यार्थीहरु बताउँछन् ।

पहिलो वर्षको फिजिक्स विषयको परीक्षा दिएकी विद्यार्थी स्वस्तिका भट्टराई कलेजको छल र सीटीइभीटीको गैरजिम्मेवारीपन र लापरवाहीका कारण आफूहरुको भविष्य अन्योलमा परेको बताइन् ।

‘कलेजले फारम भर्न भनेपछि हामीले भरेका हौं । हाम्रो लागि थिएन भने कसरी हाम्रो प्रवेश पत्र आयो त ? प्रवेश पत्र नै नआउनुपर्ने, परीक्षाको रजिष्टरमा नाम नै नहुनपर्ने होइन र ?’ उनको प्रश्न छ ।

तेस्रो वर्षको परीक्षा दिएकी हसिना महर्जन कलेजको लापरबाहीले २०७७ सालमै पनि परीक्षा दिन नपाएको गुनासो गरिन् । २०७७ मा भएको परीक्षामा कलेजले गरेको सिट प्लानमा आफ्नो सिम्बोल नम्बर नै नराखेको र छुट्टै बसेर परीक्षा दिँदा नतिजा नआएको हसिनाले बताइन् ।

त्यसपछि २०७८ मा पनि कलेजले फारम भर्न लगाएको तर परीक्षा दिँदा नतिजा नआएको बताउँछिन् । ‘कलेजमा कुरा गर्दा हाम्रो गल्ती होइन सीटीईभीटीको हो भनेर थर्काउन खोज्छ । सीटीइभीटीले कलेजको लापरवाही भन्छ, हामी कहाँ जाने ?’ उनले भनिन् ।

अर्का विद्यार्थी विजय राई पनि २०७७ सालमा कलेजले तयार गरेको सिट प्लान र हाजिरी रजिष्टरमा सिम्बोल नम्बर नसमेटेको बताउँछन् । उनलाई पनि कलेजले छुट्टै राखेर परीक्षा लिएको थियो तर नतिजा आएन ।

उनी भन्छन् ‘कलेज र सीटीइभीटीले त हैरान नै बनाइसक्यो । कहिले सिट प्लान नगरी परीक्षा दिन लगाएर नतिजा दिँदैन कहिले परीक्षा लिएर तिमीहरुको होइन भन्छ । कलेजमा जाँदा हाम्रो गल्ती होइन भनेर पठाउँछ ।’

यी दुबै संस्थाले विद्यार्थीको समस्याको हल निकाल्न भन्दा पनि एकले अर्कालाई दोषी देखाउँदै तर्किइरहेको बिजय बताउँछन् । यो विषयमा कहाँ जानुपर्ने सुझाइदिनु भन्दा कलेजकी कार्यकारी निर्देशक अर्चना श्रीवास्तवले अर्को वर्ष ससमस्या समाधान हुने आश्वासन दिएको विद्यार्थीहरु बताउँछन् ।

कलेजकी कर्मचारी मनिषा बुढाथोेकी सीटीईभीटीको लापरबाहीले समस्या भएको बताउँछिन् । यसमा कलेजको कुनै पनि दोष नभएको र जवाफदेही सीटीईभीटी हुनुपर्ने जिकिर गर्छिन् ।

उनी भन्छिन्, ‘सीटीईभीटीले परीक्षा फारम खुलाएकोले कलेजले विद्यार्थीलाई बोलाएर फारम भराएको हो । तर, यदि ती विद्यार्थीहरुको ब्याचको लागि होइन रहेछ भने किन प्रवेश कार्ड पठायो र परीक्षामा सामेल गरायो त ? जवाफदेही सीटीईभीटी हुनुपर्ने होइन र ?’

अघिल्लो वर्ष कुनै पनि विद्यार्थीको सिट प्लान गर्न नछुटाएको उनको जिकिर छ । उनी भन्छिन् ‘हरेक दिन सीटीईभीटी निरीक्षणमा आउँछ । सिट प्लान नगरी परीक्षा दिन लगाउँदा त कलेज नै कारबाहीमा पर्ने हुन्छ । त्यसैले त्यस्तो हुँदैन र भएको पनि छैन ।’

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालय परीक्षा सह–नियन्त्रक पुष्प पौडेल भने परीक्षा सम्बन्धी विनियम भन्दा बाहिर गएर नतिजा निकाल्न नमिल्ने बताउँछन् ।

उनी भन्छन् ‘हाम्रो परीक्षा सम्बन्धी विनियमले नियमित तर्फको अन्तिम परीक्षा दिएपछि तीन वर्ष मात्रै दिन पाउने व्यवस्था गरेको छ । नियमभन्दा बाहिर गएर त कसरी नतिजा निकाल्न मिल्छ र ? मिल्दैन ।’

सीटीईभीटीले सन् २०१५ मा भर्ना भएका विद्यार्थीको मौका परीक्षाको लागि आवेदन खुलाएको तर कलेजले सन् २०१४ मै भर्ना भएका विद्यार्थीलाई फारम भराएको पौडेलले बताए । कलेजलाई स्पष्टीकरण सोध्दा नयाँ कर्मचारीले फारम भराएको र उनलाई जागिरबाट निष्कासन गरेको जवाफ दिएको सहनियन्त्रक पौडेलले बताए ।

फारम भर्नै नपाउने विद्यार्थीको सिम्बोल नम्बर कसरी आयो त भन्ने प्रश्नमा सहनियन्त्रक पौडेल सीटीइभीटीको बागमती प्रदेश कार्यालय, हेटौंडाका कर्मचारीको लापरवाही भएको जवाफ दिन्छन् । ‘यहाँनिर हाम्रो प्रदेश कार्यालयको पनि लापरवाही देखिन्छ । सिम्बोल नम्बर कायम गरेर प्रवेश पत्र पठाउने कर्मचारीको लापरवाही हो’ उनले भने ।

पौडेलका अनुसार सीटीईभीटीले नियमिततर्फ केही विषय उतीर्ण हुन बाँकी रहेका विद्यार्थीलाई आगामी शैक्षिक सत्र २०८० को अन्त्य अथवा २०८१ को सुरुतिर ‘विशेष मौका परीक्षा’ सञ्चालन गर्नेछ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?