+
+

नेपालको लोभलाग्दो लय

२०७६ माघयता लिग टू अन्तर्गत ६ वटा शृंखलाको २४ खेलमा ८ खेलमात्र जितेको नेपालले सातौं शृंखलामा चारमध्ये चार जितको बेजोड लय देखाएको छ ।

कुशल तिमल्सिना नमिता दाहाल कुशल तिमल्सिना, नमिता दाहाल
२०७९ फागुन ९ गते २२:०४

९ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा मंगलबार स्कटल्याण्डविरुद्ध २१३ रनको लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा मैदान छिरेका कप्तान रोहितकुमार पौडेल दबावमा थिए । यो अवस्था उनले २७० माथिको लक्ष्य पूरा गरेको अघिल्ला तीन खेलमा महशुस गरेका थिएनन् ।

सातौं ओभरमा दुई ओपनर (कुशल भुर्तेल–१ र आशिफ शेख–१२) आउट भइसकेपछि रोहित क्रिजमा पुग्दा नेपालको इनिङ्स स्कटिस बलरहरुको नियन्त्रणमा थियो । नेपाली ब्याटरहरुलाई रन बनाउन सकस भइरहेको थियो । रोहित आफैं पनि विकेटको परिस्थितिसँग अनुकुल हुन संघर्षरत थिए । उनले १० बल खेपेपछि मात्र रनको खाता खोलेका थिए ।

एउटा एण्डबाट रोहितले इनिङ्स बचाउन प्रयास गरिरहे । अर्को एण्डबाट लगातार विकेट झरिरह्यो । ज्ञानेन्द्र मल्ल (२१), कुशल मल्ल (१७), सन्दीप जोरा (१), दीपेन्द्र सिंह ऐरी (७), सोमपाल कामी (२) र सन्दीप लामिछाने (९) रनमा पेविलियन फर्किँदा नेपालले ३१.५ ओभरमा १३८ रन बनाएर ८ विकेट गुमाइसकेको थियो ।

नेपाललाई जितका लागि अझै ७५ रन आवश्यक थियो । दशौं नम्बरमा आए करण केसी । मंगलबार त्रिवि मैदानमा पुगेका १० हजार बढी समर्थकले जितको आशा मारिसकेका थिए । उनीहरु चार वर्षअघि आईसीसी क्रिकेट लिग डिभिजन टूमा क्यानडासँगको खेललाई सम्झँदै रोहित र करणबाट त्यही अपेक्षामा थिए ।

क्यानडाविरुद्धको खेलमा १९४ लक्ष्य पछ्याएको नेपाललाई जिताउन करण केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । यही जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको यात्रामा निर्णायक बनेको थियो ।

मंगलबार रोहित र करणलाई विकेट बचाएर खेल्नुमात्र होइन जित्नुपर्ने दबाव थियो । उनै रोहितको जिम्मेवार ब्याटिङले स्कटल्याण्डलाई दुई विकेटले हराएर आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिबियासमेत सहभागी त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गर्‍यो । रोहितले कप्तानी पारी खेले । १०१ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करणले ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाएर साथ दिए । यो जोडीले नवौं विकेटमा नेपालका लागि सर्वाधिक अविजित ७५ रनको साझेदारी गरे ।

‘पाँचौं विकेट जाँदासम्म मैले दबाव लिएको थिइनँ । त्यसपछि पनि लगातार विकेट झर्ने क्रम नरोकिँदा डर लागेको थियो,’ नायकी प्रदर्शनपछि रोहितले भने, ‘करण दाई (केसी) सँग केही समय साझेदारी भएपछि हामी जित्न सक्छौं भन्ने आत्मविश्वास आयो ।’

२०७६ माघयता लिग टू अन्तर्गत ६ वटा शृंखलाको २४ खेलमा ८ खेलमात्र जितेको नेपालले सातौं शृंखलामा चारमध्ये चार जितको बेजोड लय देखाएको छ ।

बारम्बार प्रशिक्षक परिवर्तन, टिमभित्रैको खटपट र प्रमुख खेलाडी सन्दीप लामिछानेमाथिको नाबालिग बलात्कार आरोपबाट नेपाल क्रिकेटको प्रदर्शन ओरालो यात्रामा थियो । साउनमा स्कटल्याण्ड र मंसिरमा नामिबिया भ्रमणका क्रममा नेपालले जित्न बिर्सेको भान हुन थालेको थियो ।

चार वर्षअघिसम्म नेपालले एशोसिएट राष्ट्रमा एक सानदार अण्डरडगको उपमा पाउने गरेको थियो । नेपाल क्रिकेटमा ‘पारस खड्का युग’ समाप्तीपछिको संक्रमणकालीन समय यो शृंखलाबाट अन्त्य भएको आभास मिलेको छ । अग्रभागबाट नेपाल टिमको नेतृत्व लिएको तीन महिनामा रोहितकुमार पौडेलले पारसलाई ‘बिर्साउने’ इनिङ्स खेलेका छन् । पूर्वकप्तान पारस खड्काले युएईविरुद्ध पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय जितमा शतकीय प्रदर्शनदेखि नेपालका लागि धेरै जितहरुमा यस्तै निर्णायक प्रदर्शन गरेका थिए ।

यो शृंखला प्रमुख प्रशिक्षक मोन्टी देशाईका लागि पहिलो थियो । २०७६ माघमा लिग टूको पहिलो शृंखला खेलेयता नेपाल टिमको प्रशिक्षक हुने मोन्टी पाँचौं व्यक्ति हुन् । औपचारिक नियुक्ति पाउनु १० दिनअघि माघ १४ गतेदेखि नेपाल टिमको प्रशिक्षण थालेका मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’ अभियानले पहिलो दिनदेखि नै सकारात्मक नतिजा दिन थालेको थियो । जब नेपालले नामिबियाविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सर्वाधिक २८६ रनको लक्ष्य पूरा गरी सानदार जित निकालेको थियो ।

यो शृंखलाको चार खेलमा चार जितमा नेपालको ब्याटिङमा उल्लेख्य सुधार देखियो । बलिङतर्फ चारै खेलमा सन्दीप लामिछानेले एकरुपको प्रदर्शन दिए । फौजदारी अभियोगपछि तीन महिना पुर्पक्षका क्रममा जेल बसेर रिहा भएलगत्तै राष्ट्रिय टिममा अवसर पाएका सन्दीपले चार खेलमा कुल १३ विकेट लिए । नामिवियाविरुद्ध पहिलो खेलमै ५ विकेट लिएका करण केसीले मंगलबार स्कटल्याण्डलाई हराउन ३ विकेट लिए ।

परम्परागत समस्याका रुपमा रहेको ब्याटिङमा यसपल्ट नेपालले उल्लेख्य सुधार गरेको संकेत दिएको छ । घरेलु माहोल र विकेट परिस्थितिमा देखिएको सहज प्रदर्शनलाई विदेशी भूमिमा पनि कायम राख्नु आफ्नो प्राथमिकता रहने प्रशिक्षक मोन्टीले बताइसकेका छन् ।

यसपल्ट चार खेलमा फरक फरक खेलाडीको ब्याटिङ प्रदर्शन निर्णायक बन्यो । नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक (११५ रन) र रोहितकुमार पौडेलको अर्धशतक (७२ रन) जितको प्रमुख आधार थियो । दोस्रो खेलमा स्कटल्याण्डलाई हराउन कुशल मल्ल (८१ रन) र दीपेन्द्रसिंह ऐरी (८५ रन) को अर्धशतकीय योगदान रह्यो ।

तेस्रो खेलमा नामिबियालाई हराउन आशिफ शेख (८१ रन) र ज्ञानेन्द्र मल्ल (६५ रन) र कुशल मल्ल (६२) रनको अर्धशतकीय योगदान निर्णायक थियो । अन्तिम खेलमा मंगलबार स्कटल्याण्डविरुद्ध रोहितले जिम्मेवारी लिए । रोहित र कुशल मल्ल चार खेलमा दुई दुई अर्धशतकीय योगदान गरे ।

लिग टूका सुरुवाती २४ खेलमा नेपालले निकै कम खेलमा मात्र २ सयभन्दा माथिको लक्ष्य पूरा गरेको छ । बलिङमा नियमित प्रदर्शन रहे पनि ब्याटिङतर्फ नेपालले अहिलेसम्म एकरुपको प्रदर्शन गर्न सकेको थिएन ।

प्रशिक्षक देशाईले आफ्नो प्रशिक्षण करिअरकै खास जितमध्येको एकका रुपमा यो शृंखलालाई अथ्र्याए । ‘प्रशिक्षणको छोटो समयमा एकदमै खास उपलब्धी भन्नु उचित नहोला । तर, मैले जुन किसिमको भूमिका टिममा खेलिरहेको छु । खेलाडीले जसरी सिकिरहेका छन् र त्यसलाई प्रयोग गरिरहेका छन् त्यसका आधारमा मेरा लागि यो खास अनुभव हो,’ भारतीय नागरिक देशाईले भने ।

मोन्टीले लगातारको खराब प्रदर्शनबाट खलबलिएको नेपाल टिममा एउटा बेजोड आत्मविश्वास भरेका छन् । त्यसबाहेक घरेलु माहोलले पनि नेपालको लय पुनरागमनका सहज भएको हो । यसअघि नेपालले लिग टूको पहिलो शृंखलामात्र घरेलु भूमिमा खेलेको थियो । स्कटल्याण्डका प्रशिक्षक शेर बर्गरले पनि नेपाली खेलाडीमा सानदार आत्मविश्वास देखिएको बताए । उनले मोन्टीको पनि तारिफ गरे ।


‘नेपाली टिम सुरुदेखि नै आत्मविश्वासी देखिन्थ्यो । आत्मविश्वास नै जितको सूत्र हो । उनीहरुसँग विश्वको उत्कृष्ट बलर सन्दीप छ । उसलाई कहाँनेर कसरी विकेट लिने राम्रोसँग थाहा छ । ब्याटिङमा पनि फरक खेलाडी र फरक साझेदारीले खेल जिताइरहेका छन्,’ प्रशिक्षक बर्गरले भने, ‘उनीहरुसँग अहिले मोन्टी आएका छन् । उनले टिममा निकै सकारात्मकता ल्याएका छन् । यो नेपालका लागि राम्रो पक्ष हो ।’

बर्गरले यही शृंखलाबाट स्कटल्याण्ड टिमको जिम्मवारी छाडेका छन् । तर, चार वर्ष लामो लिग टू शृंखलामा टिमलाई उपाधि दिलाउन बर्गरको रणनीतिको भूमिका ठूलो छ । उनले युवा खेलाडीहरुको राम्रो प्रदर्शन एसोसिएट देशहरुका लागि राम्रो पक्ष भएको बताए । स्कटल्याण्ड टिमलाई मंगलबार नै विजेता ट्रफी प्रदान गरिएको थियो ।

‘स्कटल्यान्ड लिग टु को विजेता बन्न एकदमै योग्य टिम थियो । यो २०१९ देखि २०२३ सम्म मेरो टिमले गरेको मेहनतको फल हो । हामीले जुन लक्ष्य बनाएको थियौं त्ये पार गर्दै सफलता पाउनु उत्कृष्ट अनुभव हो,’ उनले थपे, ‘युवा खेलाडी आएका छन् टिममा यो पूरै एसोसिएसनकै लागि राम्रो पक्ष हो । स्कटल्याण्डको प्रशिक्षक जिम्मेवारीबाट बाहिरिँदै गर्दा म खुसी छु ।’

क्रिकेटमा एउटा प्रचलित भनाइ छ– कुन खेलाडीले कति स्कोर गर्‍यो भन्दा पनि कुन खेलाडीले कस्तो परिस्थितिमा कसरी खेल्यो भन्ने महत्वपूर्ण हुन्छ । नेपालका लागि फरक खेलमा फरक फरक खेलाडीले जिम्मेवारी लिएर खेले । आआफ्नो परिस्थितिमा ती सबैका योगदानको मूल्यांकन हुनुपर्छ ।

नेपालले आउने २० दिनमा लिग टू अन्तर्गत बाँकी ८ खेल खेल्नेछ । पहिलो शृंखलाको चार खेल १५–२२ फागुन युएईमा हुनेछ । जहाँ नेपालले घरेलु टोली यूएई र पपुवा न्युगिनीको सामना गर्नेछ । २७ फागुन–२ चैतसम्म यी टोलीहरुले त्रिवि मैदान कीर्तिपुरमा लिग टू कै अन्तिम शृंखला खेल्नेछ ।

२८ खेलबाट २६ अंकसहित नेपाल सात टोली सम्मिलित लिग टूमा छैटौं स्थानमै छ । तर, शीर्ष पाँचभित्र रहेर एकदिवशीय मान्यता जोगाउने नेपालको लक्ष्यमा भने पछिल्लो चार जितले धेरै सहज अवस्था बनाइदिएको छ । शृंखलामा बाँकी आठवटै खेल जिते नेपाल शीर्ष तीनभित्र रहेर सिधै एकदिवशीय विश्वकप छनोटमा पनि पुग्न सक्छ । त्यसो नभए आठमध्ये कम्तीमा पाँच खेल जितेमा नेपाल शीर्ष पाँचभित्र रहँदै एकदिवशीय मान्यता अर्को चार वर्षका लागि सुरक्षित गर्नेछ ।

घरेलु भूमिमा देखाएको आत्मविश्वासी र साहसिक प्रदर्शनलाई विदेशी परिवेशमा पनि कायम राख्नु नेपाली टिमको अहिलेको चुनौती हो । तर, मोन्टीलाई चिन्ता छैन । भन्छन्, ‘हामी एकदमै उत्साहित भएर काम गरिरहेका छौं । आउँदो शृंखलाका लागि पनि हामीले काम गरिरहेका छौं । हाम्रो ‘ब्लू प्रिन्ट’ भनेकै योजना र तयारी हो । अगाडि के हुँदैछ भनेर चिन्ता लिनु आवश्यक छैन । वातावरण र नतिजालाई वास्ता नगरी योजना र तयारी गर्नेछौं ।’

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?