+
+

देउवा–नेपाल वार्तामा छिरेको ‘संविधान र लोकतन्त्र जोगाउने’ एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १९:३१

१० फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री छँदा संसद विघटन गरेको प्रसंग उप्काउँदै कांग्रेस र एकीकृत समाजवादीका नेताहरु फेरि त्यस्तो हुन नदिन सतर्क हुनुपर्ने निष्कर्षमा पुगेका छन् । यसको अन्तर्यमा भने एमालेलाई जारी सत्ता–भागबन्डाभन्दा बाहिर राखेर अघि बढ्ने सम्भावना उनीहरुले देखेका छन् ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराही निवासमा पुगेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल लगायत नेताहरुसँग यसै वरिपरि छलफल भयो ।
कांग्रेस र एकीकृत समाजवादीबीच भोलि बिहीबार दोस्रो बैठक गर्ने निर्णय भएको छ ।

एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भूसालले राष्ट्रपति चुनावबारे कांग्रेससँग भएको छलफल सकारात्मक भएको बताए । धुम्बाराहीस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आफ्ना अध्यक्ष माधव नेपालसँगै पुगेका भूसालले बैठकपछि लोकतन्त्र र संविधानको रक्षालाई केन्द्रमा राखेर छलफल भएको सुनाए ।

‘संविधान र लोकतन्त्रको रक्षा तथा विकास नै हाम्रो छलफलको केन्द्रमा रह्यो । राष्ट्रपति चुनावमा उठ्ने उम्मेदवारले त्यो भावना बोक्न सक्नुपर्छ भन्ने हाम्रो पार्टी बैठक निर्णयलाई केन्द्रमा राखेर कांग्रेसका नेताहरुसँग छलफल ग¥यौं,’ भूसालले भने, ‘हामीले यसबारे सबैसँग छलफल गर्ने भनेका छौं । त्यसैले कांग्रेसलाई पनि भेटेका हौं ।’

एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति प्रस्ताव गरेको सूचनाबीच यो दल भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस सभापति देउवाकै प्रस्तावमा राष्ट्रपति बनाउनुपर्ने पक्षमा रहेको चर्चाबीच बुधबारको बैठक भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओलीले नेपालको नाम गम्भीरतापूर्वक प्रस्ताव नगरेको बैठकमा चर्चा समेत भएको थियो ।

यो बैठकमा अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल, नेताहरु घनश्याम भूसाल, प्रमेश हमाललगायत सहभागी थिए । कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला सहभागी थिए ।

कांग्रेस नेता पौडेल पनि राष्ट्रपति उम्मेदवार बन्ने चर्चाबीच नेपाल र पौडेलको समेत कुराकानी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?