+
+

प्रहरी उच्च अधिकृतको जन्ममिति विवरण चुहाएको भन्दै हवल्दारको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १५:२२

१० फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतहरुको जन्ममिति सम्बन्धी विवरण चुहाएको भन्दै एक जना प्रहरी हवल्दार कारबाहीमा परेका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जन्ममिति विवाद सार्वजनिक भएका बेला प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित अरु अधिकृतहरुको पनि जन्ममिति सिट रोलको विवरण सार्वजनिक भएको थियो ।

गोप्य रहनुपर्ने सिट रोलको विवरण सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो । त्यसक्रममा भएको जाँचमा भाइबरमार्फत गोप्य विवरण पठाएको देखिएपछि कर्मचारी प्रशासन शाखाका हवल्दार दीपक विष्ट कारबाहीमा परेका हुन् ।

विष्टलाई कर्मचारी प्रशासन शाखाबाट हटाएर १ नम्बर प्रहरी गणमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बतायो । विष्ट २०६९ सालदेखि कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।

प्रहरी प्रवक्ता पोषराज पोखरेलले बाहिर आएको कागजात सही भए नभएको यकिन नभएको बताए । उनले भने, ‘छानबिनबारे चाहिँ मलाई थाहा छैन ।’

डीआईजी सिंहको जन्ममिति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ फागुनमा उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयको छानबिनबाट पनि नागरिकता र शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्ममितिमा १ वर्ष ६ महिना २४ दिनको फरक देखिएपछि सिंहले राजीनामा दिएका थिए । उनको राजीनामालाई स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले गृह मन्त्रालय पठाएको छ ।

उनको सिट रोलको विवरण सार्वजनिक हुँदा अन्य उच्च अधिकृतहरुको जन्ममितिको विवरण समेत बाहिर आएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।

यसरी सार्वजनिक विवरण अनुसार अशोक सिंहकै ब्याची डीआईजी भीमप्रसाद ढकालको जन्ममिति पनि शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक देखिएको छ । ढकालको नागरिकतामा जन्ममिति २८ मंसिर २०२४ उल्लेख छ । तर, शैक्षिक प्रमाण पत्रमा २८ मंसिर २०२५ उल्लेख छ । उनको उमेर एक वर्षले फरक देखिन्छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी दिवेश लोहनीको जन्ममिति ६ महिना २६ दिनले फरक देखिएको छ । नागरिकता अनुसार उनको जन्ममिति १५ वैशाख २०२५ छ भने शैक्षिक प्रमाण पत्रमा १९ असोज २०२४ छ ।

लोहनी हालका आईजीपी धिरजप्रताप सिंहका ब्याची हुन् । उनकै ब्याचका डीआईजी मसउद आलम खाँको नागरिकता र शैक्षिक प्रमाण पत्रबीच ५ महिना १ दिनले जन्ममिति फरक छ ।

डीआईजी श्यामलाल ज्ञवालीको ५ महिना ५ दिन र किरण बज्राचार्यको २९ दिनले जन्ममिति फरक देखिएको छ ।

तर प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्ष मात्र उल्लेख भएको भए अर्को प्रमाण पत्रमा पूरा जन्ममिति खुलेको रहेछ भने त्यस्तोमा एक वर्षसम्मको अन्तर देखिए पूरा खुलेको जन्ममितिका आधारमा कायम गर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?