+
+

‘फूलबारी’ बक्स अफिसको शीर्षस्थानमै, ‘सेल्फी’ र ‘सोर्ड आर्ट’को अकुपेन्सी कमजोर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:३२

काठमाडौं । नेपाली फिल्म ‘फूलबारी’ दोस्रो शुक्रबार पनि घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो ।

शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहँदा ‘सेल्फी’को अकुपेन्सी २० प्रतिशत पनि छैन । ‘सोर्ड आर्ट’ क्यूएफएक्ससहितका सीमित मल्टिप्लेक्समा रिलिज भएपनि यसको अकुपेन्सी दुई अंक पनि छैन । पहिलो साता उत्कृष्ट कमाइ गरेको फूलबारीले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो शुक्रबार पनि बक्स अफिसमा शीर्ष स्थान बनाएको हो ।

पहिलो साता रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले देशव्यापी तीन करोड हाराहारीमा ग्रस कलेक्सन गरेको विवरण वितरक गोविन्द शाहीले उपलब्ध गराएपनि निर्माताले औपचारिक रुपमा कमाइबारे सार्वजनिक गरेका छैनन् । पहिलो साता लगातार तीनवटा सार्वजनिक बिदा भएकाले पनि पनि फिल्मले उत्कृष्ट कमाइ गरेकोमा दुईमत छैन ।

अक्षय कुमार र इमरान हासमीजस्ता स्टारहरु फिल्ममा हुँदाहुँदै पनि सेल्फीको ओपनिङ नेपाली बक्स अफिसमा निराशाजनक देखियो । आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले नयाँ रिलिजभन्दा फूलबारीको अकुपेन्सी माथि रहेको बताए । वान सिनेमाजका प्रमुख प्रज्ज्वल राणाले पनि फूलबारीको अकुपेन्सी सेल्फी र सोर्ड आर्टभन्दा माथि देखिएको बताए ।

पारिवारिक फिल्म भएकाले पनि फूलबारीलाई सबै उमेर समूह र वर्गका दर्शकले रुचाइरहेका छन् । फिल्ममा विपिन कार्कीले अवकाशप्राप्त सरकारी शिक्षकको भूमिका निर्वाह गरेका छन् भने अरुणा कार्कीले उनकी धर्मपत्नीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा प्रियंका कार्की र दयाहाङ राईको पनि मुख्य भूमिका छ ।

फिल्मले पहिलो साता आकर्षक कमाइ गरेपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताए । ‘सबै जनाले प्रशंसा गरिरहनुभएको छ । मलाई पनि मन परेको फिल्म हो,’ उनले भने । फिल्ममा विपिन ६० वर्षीय पुरुषको भूमिकामा प्रस्तुत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?