+
+

सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने ? सर्वोच्चमा आज हुँदैछ सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ७:५७

१४ फागुन, काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

‘क्रिकेट खेल्नका लागि विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।

शुक्रबार नै लामिछाने विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदन सहित विदेश जान अनुमती मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो ।

आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?