+
+

निर्माण क्षेत्रको मन्दीले पहिलो त्रैमासमै आर्थिक वृद्धिदर प्रभावित

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन १४ गते १८:१०

१४ फागुन, काठमाडौं । निर्माण क्षेत्रमा आएको मन्दीले चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमास (साउन–असोज) मै आर्थिक वृद्धिदर नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको त्रैमासिक तथ्यांकअनुसार पहिलो त्रैमासमा नेपालले ०.८ प्रतिशतको मात्र आर्थिक वृद्धिदर प्राप्त गरेको छ । यसो हुनुमा अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषिदेखि निर्माण उत्पादन क्षेत्रसम्ममा आएको मन्दी मुख्य कारण देखिएको छ ।

तथ्यांक विभागका निर्देशक गणेशप्रसाद आचार्यका अनुसार पहिलो त्रैमास पूर्वतयारीकै काममा बढी खर्च हुन्छ । सोहीकारण अर्थतन्त्रका मुख्य अवयवहरुमा वृद्धिदर राम्रो देखिँदैन । तर, यस वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्रमा सबैभन्दा धेरै प्रभाव देखिएको उनले बताए ।

तथ्यांकअनुसार यस त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर २४ प्रतिशतले नकारात्मक देखिएको छ । यो क्षेत्र अघिल्लो आवको यसै त्रैमासमा १८ प्रतिशतले सकारात्मक थियो । खानीजन्य क्षेत्रमा समेत २९.२ प्रतिशतको गिरावट आएको छ । यसले समग्र अर्थतन्त्रको वृद्धिदर नै खुम्चिन पुगेको देखिएको छ ।

कार्यालयको तथ्यांकअनुसार यस आवको पहिलो त्रैमासमा ०.८ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त भएको छ । अघिल्लो आवको यही अवधिमा ३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । आव २०७७/७८ को पहिलो त्रैमासमा ०.९ प्रतिशतको वृद्धिदर प्राप्त भएको थियो । आव २०७६/७७ मा भने पहिलो त्रैमासमै २.७ प्रतिशतको वृद्धिदर प्राप्त भएको तथ्यांकले देखाएको छ । चालु आवमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ ।

मुख्य चाडपर्वमै व्यापार र यातायात क्षेत्र प्रभावित

नेपालमा आर्थिक वर्षको पहिलो त्रैमास होलसेल तथा रिटेल व्यापार हुने मौसम हो । किनकि यसबेला नेपालमा ठूला चाडपर्व पर्छन् र त्यसका लागि बढी किनमेल हुन्छ । यस वर्ष भने चाडपर्व मै व्यापार प्रभावित भएको देखिएको छ । कार्यालयका अनुसार यस आवको पहिलो त्रैमासमा व्यापारमा ३ प्रतिशतको नकारात्मक वृद्धि देखिएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा यो क्षेत्र १२.२ प्रतिशतले नेगेटिभ थियो ।

यस वर्ष यातायात क्षेत्रमा पहिलो त्रैमासमा ०.३ प्रतिशतको मात्र वृद्धि प्राप्त भएको छ । जहाँकि अघिल्लो आवको यस त्रैमासमा १६.१ प्रतिशतको वृद्धिदर रहेको थियो । कोरोना भाइरसको महामारीपछि यस वर्ष चाडपर्वको समयमा यातायात र बजार पूर्ण रुपमा सुचारु थियो । तर, मानिसहरुले किनमेलमा दिल खोलेर खर्च गर्न नसकेको तथ्यांकले संकेत गरेको छ ।

अन्तिम त्रैमासका गतिविधिमा निर्भर जीडीपी

आर्थिक वृद्धिदरको तथ्यांक केलाउँदा नेपालमा पहिलो त्रैमासमा सामान्यतया कम वृद्धिदर हुने गर्छ । यसो हुनुमा पूँजीगत बजेट खर्चले बढी भूमिका खेल्ने कार्यालयका निर्देशक आचार्य बताउँछन् । नेपालमा आर्थिक वर्षको अन्तिम त्रैमास र अन्तिम महिना (असार) मा बढी बजेट खर्च गर्ने प्रवृत्ति रहेको छ । आव २०७८/७९ को पहिलो त्रैमासमा ३, दोस्रोमा ६.९, तेस्रोमा २.९ र चौथो त्रैमासमा ९.८ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त भएको कार्यालयको तथ्यांक छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?