+
+

लिग टु : यस्तो छ यूएई र पीएनजीसँग नेपालको विगत, नामिबिया र अमेरिकाको पनि नजर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ फागुन १५ गते ७:४७

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित शृंखला आजदेखि यूएईमा सुरु हुँदैछ ।

यी तीन देश सम्मिलित शृखंला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृंखला भएको थियो । यो खेल पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो । लिग टुमा तीनवटै टिम आफ्नो आठौं शृखंला खेल्दैछन् । यसपछि नवौं तथा अन्तिम शृखंला नेपालमा हुनेछ ।

लिग टुमा शीर्ष तीनमा रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नका लागि नेपाल र यूएई होडमा छन् । त्यसैले घरेलु टोली यूएई र नेपाललाई यो शृखंला महत्वपूर्ण छ ।

लिग टुको पुछारमा रहेको पीएनजीले सात टिममध्ये अन्तिममै रहने निश्चित छ र ओडीआई मान्यता गुमाउने पनि पक्का छ ।

नेपालको लक्ष्य सकेसम्म शीर्ष तीनमा रहेर ओडिआई मान्यता कायम राख्दै जिम्बावेमा विश्वकप छनोट खेल्नेछ । त्यहाँसम्म पुग्न नसके पनि कम्तीमा लिग टुको शीर्ष पाँचमा रहेर ओडीआई मान्यता कायम राख्ने अभियानमा छ ।

त्यसैले यूएईमा घरेलु टोली र पीएनजी विरुद्ध हुने दुवै खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपालले शीर्ष तीनको सम्भावना कायम राख्न कम्तीमा पनि यूएईमा तीन खेल जित्नैपर्नेछ ।

लिग टुमा नामिबिया र अमेरिकाको नजर

हाल यूएई २८ खेलबाट २९ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट नेपाल २६ अंकसहित छैटौं स्थानमा छ ।

स्कटल्याण्ड सबै ३६ खेल खेल्दै ५० अंक जोडेर लिगको च्याम्पियन बनिसकेको छ । ३६ खेल खेलिसकेका ओमान पनि ४४ अंक जोडेर स्कटल्याण्डसँगै विश्वकप छनोटमा पुगिसकेको छ ।

३६ खेलबाट ३९ अंक जोडेको नामिबिया तेस्रो र ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छन् ।

अमेरिका शीर्ष तीनको होडबाट बाहिरिसकेको छ र पीएनजीसँगै आगामी मार्चमा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्ने पक्का छ ।

सबै खेल खेलिसकेपनि नामिबिया र अमेरिकाको नजर अब हुने दुई शृखंलामा हुनेछ । तेस्रो स्थानमै रहेर विश्वकप छनोट खेल नामिबियालाई बाँकी १२ खेलमा आफू अनुकूल नतिजा आउनुपर्नेछ । यस्तै अमेरिकालाई ओडिआई मान्यता जोगाउन पाँचौ स्थानमै रहनुपर्नेछ ।

तर नेपालले बाँकी ८ मध्ये ५ खेल मात्रै जिते पनि अमेरिकालाई पछि पार्दै पाँचौ स्थानमा पुग्नेछ । लिग टुको शीर्ष पाँचमा रहनेले मात्र ओडिआई मान्यता जोगाउनेछन् ।

यूएई र पीएनजीसँग नेपालको इतिहास

नेपालले अब खेल्न लागेको यूएई र पीएनजी परिचित टिम हुन् । नेपालले दुवै टिमसँग लिग टु र दुई पक्षीय ओडीआई शृंखला समेत खेलिसकेको छ ।

नेपालले यूएई र पीएनजी दुवैसँग २-२ पटक ओडीआई शृंखला खेल्दा मिश्रति नतिजा निकालेको छ । दुवै टिमविरुद्ध नेपालले एक पटक शृखंला जित्दा एक पटक पराजित भएको छ ।

यस्तै लिग टुमा भने नेपालले यूएईलाई हराउन सकेको छैन भने पीएनजीसँग लिग टुमा नेपाल अपराजित छ ।

समग्रमा नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ ।

पीएनजीसँग ६ खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । पीएनजी विरुद्धको दुवै खेल नेपालले घरेलु मैदानमै गुमाएको थियो ।

नेपालले दुवै टिमसँग पछिल्लो खेल घरेलु मैदानमा खेलेको थियो । गत मार्चमा पीएनजी विरुद्ध घरेलु मैदानमा दुई खेलमा पराजित भएको नेपालले यूएईविरुद्ध नोभेम्बरमा भएको पछिल्ला दुई खेल भने जितेको थियो ।

गत नोभेम्बरमा घरेलु मैदानमा नेपाल र यूएईबीच तीन खेलको ओडिआई शृखंला भएको थियो । जसमा पहिलो खेलमा पराजित भए पनि नेपालले पुनरागमन गर्दै त्यसपछिका दुई खेल लगातार जितेर शृखंला कब्जा गरेको थियो ।

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले दोस्रो खेल ३ विकेट र तेस्रो खेल ६ विकेटले जितेको थियो ।

गत वर्ष मार्चमा यूएईमा भएको लिग टु शृखंलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लिग टुमा नेपाल यूएईसँग दुवै खेलमा पराजित भएको थियो । यूएईविरुद्ध नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।

लिग टु पछि मार्चमै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृखंला भने पीएनजीले जितेको थियो । घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।

पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा रोहित पौडेलले १२६ रन बनाए पनि नेपालले लक्ष्य भेट्टाउन सकेन । यस्तै दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरीले १०५ रन बनाएका थिए ।

नेपाल र पीएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृंखला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो ।

नेपाल भर्सेस पीएनजी हेड टु हेड

खेल : ६
नेपाल विजयी : ४
पीएनजी विजयी : २

नेपाल पीएनजी खेलको नतिजा

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल २ विकेटले विजयी
नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल १५१ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल २ विकेटल विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल ७ विकेटले विजयी
पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ६ रनले विजयी
पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ३ विकेटले विजयी

नेपाल-यूएईको हेड टु हेड

खेल : ९
नेपाल विजयी : ४
यूएई विजयी : ५

नेपाल यूएई खेलको नतिजा

एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूएई ८४ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ३ विकेटले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ६ विकेटले विजयी

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?