+
+

विमल सुवेदी निर्देशित नाटक ‘द कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:५१
नाटकमा अभिनय गर्दै अनुराधा मजुमदार

काठमाडौं । जगदीश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित भई तयार भएको नाटक ‘दी कन्फेसन’ साविती भारतको राजधानी नयाँ दिल्लीमा मञ्चन भएको छ । नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा आइतबार नाटक मञ्चन भएको हो ।

नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । गरिबलाई केन्द्रमा राखेर शासकमाथि तेस्र्र्याइएका अनेक प्रश्नहरुको संगालोको रुपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा विमल सुवेदीले ‘साविती’नाटक तयार गरेका थिए ।

जगदीश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेको हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो । त्यतिबेला एक शो भएर बन्द भएको नाटकलाई निर्देशक सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन् । भारतमा मात्र यो नाटकले चार पटक स्टेज टेकिसकेको छ ।

यो नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । यसको एक वर्षपछि यो नाटक भारतको जम्मुकश्मीरमा मञ्चन भएको थियो । यही साल मात्र दुई पटक मञ्चन भएको नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो भने आइतबार भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुल अफ ड्रामाको मञ्चमा ।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । सँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ । तर कथा वाचनका लागि निर्देशक विमल सुवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगतसहितको सेट बनाएका छन् । जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तरक्रिया गर्छन् ।

नाटक हेर्न आएका दर्शक कलाकारको अभिनयसँगै सेटको मिहिनताको प्रशंसा गर्दै निस्किएका थिए । धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिएका थिए ।

‘धेरै वर्ष पहिले मैले सर्वनाममा नाटक हेरेको थिएँ । धेरै वर्षपछि फेरि आज यो दी कन्फेसन हेरें । यसको प्रस्तुति र सन्देश दुवै उत्कृष्ट लाग्यो,’ उनले भने, ‘नाटकसँगै महत्वपूर्ण कुरा नेपाल भारत सहकार्य पनि हो जुन यो नाटकको मार्फत पनि भएको छ । हरेक कोणबाट यो नाटक सार्थक लागेको छ मलाई ।’

नेसनल स्कुल अफ ड्रामाका पूर्वनिर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्मश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरुलाई चुनौती दिएको प्रतिक्रिया दिएका थिए । कुनै समय नाटककी मुख्य कलाकार मजुमदारलाई यही विद्यालयमा पढाएका उनले सदा कक्षामा प्रश्न गर्ने अनुराधाले नाटकमार्फत थप सशक्त तरिकाले प्रश्न गरेको मन परेको बताएका थिए ।

‘अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन् । तर आज नाटकमार्फत हामीलाई प्रश्नसँगै चुनौती दिएर गएकी छिन् । नाटकको विषय एकदमै राम्रो थियो र प्रस्तुति झनै सुन्दर,’ उनको भनाइ थियो । उनले लेखक निर्देशक विमल सुवेदीलाई पनि अत्यन्त राम्रो नाटक देखाएकोमा धन्यवाद दिएका थिए ।

यसैगरी नाट्यकर्मी तथा पद्मश्री विजेता रीता गांगुलीले पनि नाटकको तारिफ गर्दै दुई शब्द बोल्छु भन्दै वाह ! वाह ! गरेकी थिइन् । निर्देशक विमल सुवेदीले प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताएका छन् । नेसनल स्कुल अफ ड्रामाबाटै १० वर्षअघि ग्रयाजुएट भएका उनले आफू अन्तिम पटक कलाकारको रुपमा चढेको स्टेजमा निर्देशक भएर आउँदा नोस्टाल्जिक भएको बताए ।

‘म जुन स्टेजमा कलाकारको रुपमा यो ठाउँबाट बिदा भएको थिएँ आज त्यही ठाउँमा निर्देशकको रुपमा नाटक लिएर आउन पाउँदा अरुभन्दा पनि नोस्टालजिक बढी भएको छु । तर योसँगै नाटकमार्फत नेपाल–भारत सहकार्यको जुन संगम भयो, यसले आगामी दिन सांस्कृतिक रुपमा यो सम्बन्ध दिगो बनाउन थप काम गर्ने बोटो खोल्ने कुरामा विश्वस्त छु,’ उनले भने । उनले दिल्लीमा नेपाली नाटकको मञ्चनलाई सम्भव तुल्याउनमा नेपाली राजदूतावास दिल्लीका डीसीएम रामप्रसाद सुवेदी, फस्ट सेक्रेटरी विजय कुमार राउत र डा. सुरेन्द्र थापाको ठूलो लगन रहेको जनाएका थिए ।

नाटकभित्र अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन् । चक्र पुलामीले प्राविधिक रुपमा साथ दिएका थिए । नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?