+

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मनोनयनमा फुटबल र क्रिकेट हावी

२०७९ फागुन  १६ गते १३:१५ २०७९ फागुन १६ गते १३:१५
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मनोनयनमा फुटबल र क्रिकेट हावी

१६ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करणको मनोनयनमा फुटबल र क्रिकेटका खेलाडी तथा प्रशिक्षक हावी भएका छन् ।

वर्ष २०७८ मा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा गरेको प्रदर्शनलाई आधारमा मानेर अवार्डका प्रमुख चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको हो । पल्सर स्पोर्टस अवार्ड २०७८ आगामी २३ फागुनमा आयोजना हुँदैछ ।

कोरोना महामारीले प्रभावित वर्ष २०७८ मा करिव ७ महिना घरेलु खेलकुद ठप्प रह्यो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको सहभागिता रहेन । यो वर्ष राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट, दुई देशीय तथा त्रिदेशीय शृंखला र आईसीसी क्रिकेट विश्वकप लिग टूको एक शृंखला खेलेको थियो ।

वर्ष २०७८ मै नेपाली फुटबल टिमले माल्दिभ्समा आयोजित साफ च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गर्दै फाइनलमा पुगेको थियो । सोही वर्ष नेपालको महिला भलिबल टिमले सेन्ट्रल एसियन सिनियर वुमेन्स भलिबलको उपाधि लगातार दोस्रोपल्ट जितेको थियो । एसियाली जुनियर बक्सिङ तथा ढाका म्याराथनसहित केहि केहि अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक अन्य सहभागिता रहेन ।

मंगलबार एनएसजेफले सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ट वर्ष खेलाडीका लागि फुटबलका अन्जन विष्ट र कप्तान किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा सो वर्ष ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्स दाहाल छन् । फुटबलका अन्जन पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा छन् ।

उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा क्रिकेटकी कप्तान रुविना क्षेत्री र सीता रानामगर, बक्सिङकी पसनम रावल, एथलेटिक्सकी पुष्पा भण्डारी र भलिबलकी कप्तान अरुणा शाही छन् ।

त्यस्तै युवा वर्ष खेलाडी अवार्डका लागि फुटबलका प्रिती राई र मनिष डाँगी, ब्याडमिन्टनकी रशिला महर्जन, बक्सिङका छिरिङ वाङदी शेर्पा र भलिबलकी उषा भण्डारी मनोनयनमा छन् । उषा पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा परेकी छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पनि फुटबल, क्रिकेट र भलिबलकै प्रशिक्षकहरु छन् । फुटबलका तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र क्रिकेटका तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर, महिला भलिबल प्रशिक्षक जगदीश भट्ट, बक्सिङ प्रशिक्षक दीपक महर्जन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको छनोट समितिले खेलाडी तथा प्रशिक्षकको मूल्यांकनका आधारमा मनोनयन सार्वजनिक गरिएको हो । २३ फागुनमा प्रज्ञा भवनमा हुने अवार्ड समारोहमा ९ विधामा अवार्ड दिइनेछ । वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

उत्कृष्ट पाराएथ्लिट सम्मान, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् । एसियन स्पोर्टस जर्नलिष्ट अवार्डका रुपमा एकजना पत्रकारलाई पनि सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष
अन्जन विष्ट फुटबल
किरण चेम्जोङ
कुशल भुर्तेल
दीपेन्द्रसिंह ऐरी
प्रिन्स दाहाल

वर्ष उत्कृष्ट खेलाडी महिला
सीता रानामगर
रुविना क्षेत्री
पुनम रावल
अरुणा शाही
पुष्पा भण्डारी

वर्ष उत्कृष्ट खेलाडी युवा
प्रिती राई
रशिला महर्जन
छिरिङ वाङ्दी शेर्पा
उषा भण्डारी
मनिष डाँगी

वर्ष उत्कृष्ट प्रशिक्षक
अब्दुल्लाह अल्मुताइरी
डेभ ह्वाटमोर
दीपक महर्जन
कविराज नेगी लामा
जगदीश भट्ट

पल्सर स्पोर्टस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय