+
+

चुनावी बाचाविपरीत ढुंगागिट्टी उत्खननको ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ८:५५

१७ फागुन, जनकपुरधाम । चुनावमा आफू जिते नदी दोहन बन्द गराउने प्रतिवद्धता गर्दै मत मागेका थिए बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले । ३० वैशाखमा महतो नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित पनि भए ।

तर एक वर्ष नबित्दै उनले जनतासँग गरेका प्रतिबद्धता विपरीत पालिका भित्रका नदी तथा खोला उत्खननका लागि ठेक्का लगाउने निर्णय गरेका छन् । कार्यपालिकाको बैठकबाटै उनले नदीजन्य पदार्थको बिक्रीवितरण गर्न ठेक्का लगाउने निर्णय गराएका हुन् ।

गाउँपालिका कार्यालयले बडहडी, सुकजोर र औरही खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी बिक्री वितरण गर्नका लागि फागुन १५ गते एक पत्रिकामा टेन्डरको सूचना प्रकाशित गरिएको छ ।

यसअघि डम्बरबहादुर राउत क्षेत्री पालिका अध्यक्ष हुँदा नदीजन्य पदार्थको चरम उत्खनन भएको थियो । ठेक्का सम्झौता विपरीत ठेकेदारले जनप्रतिनिधिसँग मिलेमतो गरी मापदण्ड विपरीत १५/२० फिट गहिरो खाडल खनेर गिट्टी बालुवा निकाल्दा स्थानीयले चर्को विरोध गरेका थिए । त्यसबेला एक युवकमाथि खोला दोहन गर्ने समूहले ज्यानै लिने गरी आक्रमण गरेको थियो ।

स्थानीय चुनावमा महतोले त्यसैलाई चुनावी मुद्दा बनाए । आफू निर्वाचित भए खोला तथा नदीको दोहन बन्द गराउने प्रतिवद्धता जनाउँदै निर्वाचित भएका अध्यक्ष महतोले पनि विगत दोहोर्‍याउन खोजेका छन् ।

उनले जनताका घर बनाउन गिट्टी बालुवा ल्याउन समस्या भएकाले बाध्य भएर टेन्डर गरिएको तर्क गरे । ‘खोला ठेक्का लगाउने हाम्रो बाध्यता हो । जनताले एक ट्याक्टर गिट्टी बालुवा ल्याउँदा प्रहरी प्रशासनले समात्छ । जिल्ला समन्वय समितिले १० हजार जरिवाना गर्छ,’ पालिका प्रमुख महतोले भने, ‘विकल्प केही नदेखेपछि ठेक्का लगाउने निर्णय गर्यौं ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ठेक्का नलगाए पनि पालिकाले कानुन बनाएर सार्वजनिक काम वा व्यक्तिको उपभोगको लगि गिट्टी बालुवा झिक्न पाउने बताउँछन् । तर परिमाण अनुसारको राजश्व लिने गरी कानुन बनाउनु पर्ने उनको भनाइ छ ।

स्थानीयले भने खोला उत्खननमा राम्रो कमाइ हुने भएकाले पालिका प्रमुखसहितका जनप्रतिनिधि त्यसतर्फ अग्रसर देखिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?