+
+
पुल्चोक–गोन्द्राङ्ग सडक विस्तार :

झण्डै ४० वर्षपछि भत्काइयो नारायणगढको पिच, भरतपुरको उकालो घटाइने

सुवास पण्डित सुवास पण्डित
२०७९ फागुन २१ गते २१:५२

२१ फागुन, चितवन । चितवन पुगेकाहरुमध्ये भरतपुर उकालोबारे थाहा नपाएकाहरु सायदै होलान् । यही उकालोबाट भरतपुर र नारायणगढ बजार क्षेत्र छुट्टिन्छ । रिक्सा र साइकल चालकहरुलाई पाइडलमार्दै उकालो चढ्न मुस्किल हुन्छ । बढी दुर्घटना हुने क्षेत्रको रुपमा पनि लिइने यो उकालोको उचाइ अब भने घटाइने भएको छ ।

नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्म ६ लेन सडक विस्तारको क्रममा यो उकालोमा ग्रेडिङ्ग मिलाउने काम जारी छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले भरतपुर उकालोको उचाइ अहिलेको भन्दा १ मिटर २० सेन्टिमिटर घटाइने बताए । यसो हुँदा सवारी साधनलाई आउ–जाउ गर्न सहज हुने र सडक पनि बिग्रन कम हुने विश्वास छ ।

चितवनको मुख्य बजार क्षेत्र नारायणगढमा यतिबेला सडक विस्तारको काम धमाधम भैरहेको छ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको ६ किलोमिटर सडक विस्तारको काम अन्तर्गत बजारक्षेत्रमा अहिले काम केन्द्रित छ । उकालोको हाइट कम गर्न चौविसकोठीदेखि नै सडकलाई डाउन गर्न थालिएको छ । भरतपुरको क्याम्पस गेट नजिकै सबैभन्दा बढी हाइट भएकाले त्यहाँ बढी कटिङ्ग हुनेछ । उकालो कम भएसँगै दुर्घटना कम हुने, सवारी साधन चलाउन सहज हुने, ठूला खाडलहरू नपर्ने र पिच पनि एक ठाउँमा नथुप्रिने विश्वास सडक डिभिजन कार्यालयले लिएको छ ।

सडक विस्तारको जिम्मा पाएको कम्पनी सगुन कन्स्ट्रक्सनले सडक विस्तारको काम गरिरहेको छ । झण्डै ४० वर्ष अगाडि नारायणगढमा गरिएको पिच अहिले भत्काइएको छ । ‘बेला–बेला पिच माथि पिच थपेर ओभरले गरियो होला, तर नारायणगढ बजारको राजमार्ग क्षेत्रमा माटो देखिने गरी सडक भत्काएको ४० वर्षपछि पहिलोपटक हो,’ सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले भने, ‘धेरैजसो मानिसहरुले पहिलोपटक नारायणगढ बजारमा यसरी सडक भत्काएको पहिलोपटक देख्नुभएको होला ।’ नारायणगढ बजारमा पहिलोपटक २०३५ सालतिर सडक कालोपत्रे गरिएको डिभिजन प्रमुख पौडेल बताउँछन् ।

सडक विस्तारको क्रममा गत पुस ८, ९ र १० गते सडक डिभिजन कार्यालय भरतपुरले बजार क्षेत्रमा सडक सीमा अतिक्रमण गरेर बनाइएका घर टहराका अगाडिको भाग भत्काइदिएपछि घर धनीहरु घर मर्मतमा लागिरहेका छन् । सडक सीमा मिचेर बनाइएका घर टहरा भत्काएपछि बजार क्षेत्रमा सडक विस्तारको कामले गति लिएको छ ।

लायन्सचोकदेखि पुल्चोकसम्म बजार क्षेत्र पर्छ । सो क्षेत्रमा अहिले पैदल हिँड्न र पसल थाप्नसमेत सहज छैन । सडकभन्दा तल्लो भागबाट बजार प्रवेश गर्ने ठाउँहरू शहीदचोक र पुल्चोकबाट बजार आउन सक्ने अवस्था छैन । लायन्सचोक र नारायणी किनार छेउबाट मूल सडकमा निस्कने ठाउँ छाडिएका छन् । माथिल्लो लेनबाट नै सवारी साधनलाई हिँड्न दिइएको छ ।

निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका इन्जिनियर सुनिल ढुंगानाका अनुसार बजार क्षेत्रमा बेस, सबबेस र सबग्रेडका कामहरू भैरहेका छन् । बजारमा खानेपानीका पाइप र टेलिकमका तारहरूले समस्या पारे पनि कामले गति लिएको उनले बताए । लायन्सचोक र भाटभटेनी नजिकै कल्भर्ट बनाउने काम सुरू भएको छ ।

भरतपुरको चौविसकोठीदेखि बजार क्षेत्रको तल्लो लेनको काम द्रुत गतिमा अगाडि बढेको उनले बताए । आगामी असारसम्म ६ किलोमिटर लामो सडक विस्तारको काम अधिकांश ठाउँमा पिच गरेर सक्ने लक्ष्यसहित अगाडि बढेको इन्जिनियर ढुंगानाले बताए । लान्यसचोकदेखि पुल्चोकसम्म अहिले भैरहेको नालीलाई यथावत राखेर हाइवेको दायाँ–वायाँ सर्भिस लेन थपिने उनले बताए । अन्यत्र भने नयाँ नाली बनाउने काम सकिएको छ ।

बजार क्षेत्रका नालीमाथिका स्ल्याब कमजोर भएकाले त्यसलाई थप्ने वा के गर्ने भन्नेबारे निचोडमा पुग्न बाँकी छ । बजार क्षेत्रका सर्भिस लेनमा काम गर्न समय लाग्ने देखिएको इन्जिनियर ढुंगानाले बताए । ‘कतिपय घरधनीले सेफ्टी ट्यांकी नै सडकपेटीमा बनाएको भन्ने आएको छ, ढलदेखि केबलका तारहरुसमेत त्यहीँ बढी छन्,’ इन्जिनियर ढुंगानाले भने, ‘दुवै सर्भिस लेनमा यो समस्या रहेकाले काम गर्न सहज छैन ।’

भरतपुरको चौविसकोठीमा जम्ने पानीलाई लान्यसचोकको पुंगी खोलामा ल्याएर झार्ने गरी नाली तयार गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ्गदेखि रिजालचोकसम्म सडक विस्तारको काम लगभग सकिएको छ । अब माथिल्लो भागमा एक लेयर अस्फाल्ट हाल्न बाँकी छ । बीचको मेडियनमा केही काम बाँकी छ । रिजालचोकदेखि चौविसकोठीसम्मको सर्भिल लेनको पिच सकिएको छ भने बीचको मुख्य लेनको काम सुरु गरिएको इन्जिनियर ढुंगानाले बताए ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले समग्र सडक विस्तारको ६५ प्रतिशत काम सकिएको बताए । यही फागुनमा ठेक्का सम्झौता अवधि सकिएपछि १० महिना म्याद थप गरिएको छ । थपिएको म्यादभन्दा अगाडि नै सडक विस्तारको काम सकेर हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले बताए । एक अर्ब बाह्र करोडको लागतमा विस्तार थालिएको सडकको २०७७ माघ २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

आयोजनाले विद्युत पोल सार्न, रूख कटान तथा खानेपानीको पाइप व्यवस्थित गर्नका लागि भन्दै ५ करोड रकम छुट्टाएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ । तर, अण्डरग्राउण्ड विद्युतीकरणको कामले गति लिएको छैन ।

सडकको दायाँ–वायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर ३ देखि ४ मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?