काठमाडौं । चितवनको नारायणगढमा ‘चितौन कचेहेरी : विचारहरुको उत्सव’को दोस्रो संस्करण हुने भएको छ । यही मंसिर २८ र २९ गते नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उत्सवमा नेपाल, भारत र पाकिस्तानका गरी ५० जना वक्ता रहनेछन् ।
उत्सवमा पाकिस्तानी लेखक, वैज्ञानिक, अभियन्ता तथा बौद्धिक अगुवा डा. परवेज हुडबोयले विद्वत प्रवचन दिने आयोजकले जनाएको छ ।
गत वर्ष भएको उत्सवको पहिलो संस्करणमा चितवनको बस्ती विकास तथा देशैभरको विकासमा किनारा लगाइएका आदिवासीहरुका मुद्दा प्रमुख रुपमा उठाइएको थियो । यसपटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसामाथि मूल रुपमा चर्चा हुनेछ ।
यसैगरी पाकिस्तानलाई पाँच दशकदेखि नियालिरहेका डा. हुडबोय तथा भारतमा दशकौंदेखि निरन्तर घृणाको राजनीतिविरुद्ध कलम र अभियान चलाउँदै आइरहेका लेखक हर्ष मन्दरसहितको प्यानलमा यसै विषयकेन्द्रित छलफल हुनेछ ।
विज्ञान शिक्षाले कसरी विद्यार्थीलाई असल नागरिक बनाउन सक्छ र बनाउनुपर्छ भन्नेबारे डा. हुडबोयका लेक्चरहरु पनि काठमाडौं र चितवनका आधा दर्जन स्कुल र कलेजमा आयोजना हुँदैछन् । यसअघि भरतपुरको सप्तगण्डकी क्याम्पसमा जलवायु र पर्यावरणका मुद्दा समेटेर कचेहेरीको तयारीस्वरुप एउटा कार्यक्रम भइसकेको छ ।
प्राध्यापक चैतन्य मिश्रको नेपालको उच्च शिक्षालाई थला पारिरहेका तत्व र तिनबाट बाहिर आउने उपायबारेको सोध पनि यस संस्करणको मुख्य हिस्सा हुनेछ । यसबाहेक आजको नेपाली युवापुस्ताले वर्तमानलाई कसरी हेर्दैछ र भविष्यबारे के योजना बनाउँदैछ भन्ने समेटेको युवाहरुको सत्र पनि हुनेछ ।
बालबालिकाहरुका मुद्दा उठाउन बालबालिकाहरु नै सहभागी रहने एउटा सत्र रहनेछ । पहिलो संस्करणदेखि नै यो उत्सवले प्राथमिकता दिने गरेको पर्यावरण र जलवायु मुद्दामा यसपटक दुई सत्र रहने जनाइएको छ । वातावरण पत्रकारहरु कुन्द दीक्षित र रमेश भुसालको एउटा सत्र छ भने फोहर व्यवस्थापनको निरन्तर ओझेलमा रहेको विषय उठाउन जनप्रतिनिधिदेखि धेरै खाले सरोकारवालाहरु समेटिएको अर्को सत्र छ ।
उत्सवमा सातै प्रदेशका विभिन्न क्षेत्रका अनुभव ग्रहण गरेका,अनुसन्धानकर्मी,राजनीतिज्ञ, लेखक, कविहरू सहभागी हुनेछन् ।
प्रतिक्रिया 4