+
+

कोशी प्रदेशको चतरामा केवलकार : परिकल्पना र सम्भावना

भीषण राई भीषण राई
२०७९ फागुन २१ गते १७:४२
भवानीथान मन्दिर क्षेत्रबाट दक्षिणको दृश्य

प्राकृतिक सौन्दर्यले भरिपूर्ण धार्मिक-संस्कृतिक स्थल हो-पूर्वी नेपालको चतरा-वराहक्षेत्र । अहिले सम्पन्न, निर्माणाधीन र प्रस्तावित जल तथा स्थलमार्ग लगायत पूर्वाधार परियोजनाहरूले यो ठाउँलाई पूर्वी नेपालको प्रमुख पर्यटनस्थल बनाउँदैछ ।

चतरा घाटमा पक्की पुलसँगै मदन भण्डारी लोकमार्ग बनेपछि हिजोआज काँकडभिट्टा, विराटनगर, इटहरी, झुम्का, धरान, राजविराज, फत्तेपुर, लहान, गाईघाटलगायत कोशी प्रदेशका मुख्य शहरबाट एकाध घण्टामै आइपुगिन्छ, चतरा–वराहक्षेत्र । खोटाङ, भोजपुर, धनकुटा, उदयपुर र सुनसरीको त पुरानै संगमस्थल हो, यो क्षेत्र ।

चतराबाट सप्तकोशी किनारैकिनार उत्तरतिर ८ किलोमिटर सडक छिचोलेर पुगिने वराहक्षेत्र धामको प्रसिद्धि सबैलाई थाहै छ, जहाँ वर्षैभरि विविध अनुष्ठान चलिरहेको हुन्छ । त्यहाँबाट थोरै उत्तर–पश्चिम अरुण–तमोर संगमस्थलमा किरात सांस्कृतिक धरोहर खुवालुङ छ । सुनसरीको विष्णुपादुकाबाट निःसृत हुने पुराणप्रसिद्ध कोकाहा नदी र सप्तकोशीको मिलनस्थल पनि हो, वराहक्षेत्र धाम ।

हरेक वर्ष साउन महिनाभर धरानको पिण्डेश्वरमा चढाउने सप्तकोशीको पवित्र जल लिन लाखौं बोलबम भक्तजन चतरा आउँछन् । चतरा–वराहक्षेत्रमा आदिवराह, कुम्भ स्तम्भ, हनुमान मन्दिर, छिन्नमस्ता मन्दिर, औलिया मठ, साकेला पार्क आदि धार्मिक–सांस्कृतिक स्थलहरू छन् । यो क्षेत्रमा वर्षैभरि देश–विदेशका धार्मिक पर्यटक आइरहेका हुन्छन् ।

भीषण राई

केही वर्षयता जेट बोट यात्राको लागि नामी बनिरहेको सप्तकोशी वारिपारि पछिल्ला वर्षहरूमा एकपछि अर्को होटल–रिसोर्ट खुलिरहेका छन् । फिसिङको याममा देश–विदेशका एङ्लरहरू आउने यो कोशी क्षेत्रको बाह्रमासे धार्मिक पर्यटनमा पिकनिक र चलचित्र सुटिङ थपिएको प्रष्टै देखिन्छ । कोशीको श्रीलंका टापुमा फिल्म सिटी नै बन्दैछ ।

पदयात्राका लागि चतरा–वराहक्षेत्रको रंगमहल–चम्पाकोट, मिलन चोक–चियाबारी र छिन्नमस्ता–अर्चले–वराहक्षेत्र मार्ग थपिएका छन् । ऋषि कुटी, औलिया मठ, अमाहा सिमसार, कोशी वन्यजन्तु आरक्ष, श्रीलंका टापु आदि धार्मिक–सांस्कृतिक–प्राकृतिक स्थलहरू रहेको चतरा–वराहक्षेत्रमा यातायात, विद्युत्, संचार जस्ता पूर्वाधारको राम्रो विकास भएको यो क्षेत्रमा निजी, सार्वजनिक र सरकारी जग्गा पनि प्रशस्तै छ । कोशी क्षेत्र भनेपछि पानीको अभाव हुने कुरै भएन ।

यही मेसोमा पछिल्लो समयमा चर्चामा आएको छ-चतराको वयरवन बजारदेखि भवानीथान डाँडासम्म केवलकार । चतराको वयरवन बजारबाट सीधा उत्तरमा छ, भवानीको मन्दिर लालकोट गढी रहेको भवानीडाँडा (उचाइ : समुद्री सतहबाट ९५० मिटर) ।

पहाड–मधेश मिश्रित जनजीवन रहेको वयरवन बजारबाट ८ किलोमिटर माथिको डाँडाबाट दक्षिणमा तराई–मधेशको प्रशान्त फाँटमा नागवेली खेल्दै कोशी फिंजिएको विहंगम दृश्य देखिन्छ भने उत्तरमा कुम्भकर्ण, मकालु र गौरीशंकर हिमशृंखला ।

डाँडाबाट उत्तरपूर्वमा धनकुटाको जाल्पादेवी रानीवन, पश्चिममा उदयपुरको मैनामैनी, चम्पाकोट, बोप्ताङलगायत ठाउँहरूको रमणीय दृश्य देखिन्छ । यहाँबाट देखिने सूर्यास्तको दृश्य विशेष रूपमा मोहक हुन्छ ।

कोशीको शीतल हावा बिर्सने हो भने चुरे फेदीको वयरवन–चतरा–वराहक्षेत्र निश्चय नै गरमठाउँ हो । वयरवनबाट एकाध घण्टा उकालो हिंडेर पुगिने भवानीथान डाँडामा भने उच्च पहाडको चिसोपन हुन्छ ।

डाँडाबाट वराहक्षेत्रमा कोकाहा–सप्तकोशी मिसिएको देखिन्छ । वराहक्षेत्र, चतरा हुँदै मधेश पसेको कोशीलाई आँखाले पछ्याउँदै जाँदा धेरै तल नेपाल-भारत सीमामा कोशी ब्यारेज र त्यसभन्दा अझ दक्षिणमा धमिलो बिहार देखिन्छ । सुनसरी र मोरङको उर्वर भूमि सिंचित गर्ने चतरा नहर त्यही तलबाट पूर्व सुल्किंदै गएको अजिंगर जस्तो देखिन्छ ।

विकासका एकपछि अर्को पूर्वाधार निर्माणसँगै शहरीकरण र आर्थिक गतिविधि पनि बढेको यो प्रसिद्ध पर्यटकीय स्थलमा अब पर्यटनको अर्को पूर्वाधार केवलकार चाहिएको चतरावासीको मत छ । र, यो हरेक हिसाबले सम्भव पनि छ। आवश्यकता केवल लगानीकर्ताको छ र होस्टेमा हैंसे गर्न चतरावासी तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?