+
+

राष्ट्रपति बन्ने पो जोग रहेछ !

मदन भण्डारी पत्नी विद्या भण्डारीसँग कृष्णप्रसाद भट्टराई चुनाव लडिरहेका थिए । गुटबन्दी राजनीतिको शिकार भइरहेको कांग्रेसमा रामचन्द्र दाइले ‘जितेको कृष्णप्रसाद भट्टराई भन्दा हारेको कृष्णप्रसाद भट्टराई पार्टीका लागि खतरनाक हुन्छ’ भन्ने अभिव्यक्ति सार्वजनिक गर्नुभयो । त्यसले राजनीतिक वृत्तमा सरगर्मी ल्यायो । तर भट्टराईले भने चुनाव हारे ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०७९ फागुन २२ गते ७:२८

२०४२ सालको सत्याग्रहताका गिरिजाप्रसाद कोइराला चितवन भ्रमण आउने कुरा सुनेपछि बाले मलाई भन्नुभयो, ‘यसपटक त उहाँलाई एकछाक भात नखुवाई भएन, जसरी पनि ल्याएस् ।’

नेपाली कांग्रेस, चितवन जिल्लाका सभापति कृष्णलाल सापकोटा र नेपाल विद्यार्थी संघका अध्यक्षसँग मैले लविइङ गरें । गीतानगर आउने कार्यक्रम बन्यो र हाम्रो घरमा खाना खाने कार्यक्रम पनि सदर भयो ।

बा, गिरिजाप्रसाद त आउने हुनुभयो । उहाँको टिममा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र रामहरि जोशी पनि आउनुहुन्छ रे ! मैले बालाई सरसर्ती सुनाएँ ।

बा बेस्सरी फुर्किनुभयो र भन्नुभयो, ‘जा दुईवटा खसी खोज् अब ।’

हाम्रो घर अगाडि ठूलो आँगन थियो । हामीले रिङ बार्‍यौं र कुर्सी राख्यौं । खाना बनाउने खेतालाले खाना बनाए । घरमा बिहे, ब्रतबन्धको भन्दा कम चहलपहल थिएन ।

एक बजेतिर धुलो उडाउँदै गाडी र मोटरसाइकलका लस्कर आएर घर अगाडि रोकिए, जन्ती आए झैं । हामी हतारहतार स्वागतमा जुट्यौं ।

‘बा, खाना त पुग्दैन कि क्या हो ?’ मैले भनें ।

‘दुईवटा खसी चाहिए पनि ले जा’ बाको अनुहारमा खुसीको समुद्र बगेको थियो ।

चितवनका नेपाली कांग्रेसका सभापतिले बालाई गिरिजाप्रसाद कोइरालाको अगाडि चिनाउँदै भने, ‘उहाँ रुद्रनाथ कोइराला ।’ परर्र ताली बज्यो । बाका आँखा रसिला भए ।

कार्यक्रम सञ्चालन भयो । सुरजपुरा घटनाको बारेमा बोलेपछि गिरिजाप्रसादले आज रामचन्द्रजी आउन सक्नुभएन भन्नुभयो । ‘रामचन्द्रजी नेपाली कांग्रेसको एक इमानदार, लगनशील, हकी र सरल स्वभावको सिपाही हो ।’ गिरिजाप्रसादले त्यो दिन भन्नुभएको वाक्य मेरो सम्झनामा अझै ताजा छ ।

‘बा ! रामचन्द्रको बारेमा हजुरलाई थप केही थाहा छ ?’ मैले जिज्ञासा राखें ।

खै, गण्डकी छात्रसंघको अध्यक्ष हुनुहुन्थ्यो कि क्या हो, एकपटक । अरू त धेरै थाहा भएन ।

बाले दिनुभएको छोटो परिचय बोकेर म २०४४ सालमा जागिर खान काठमाडौं आएँ ।

‘सर, आज साँझ रामचन्द्र दाइलाई भेट्न जाने गणेशस्थाननिर’ भानुभक्त सरले भन्नुभयो ।

‘हुन्छ’ सल्लाह मिल्यो ।

तिनताका राजनीतिक दलहरू प्रतिबन्धित थिए । हामी खानासाना खाएर आठबजेतिर दाइको कोठामा सुटुक्क पुग्यौं । कोठामा पत्रिका र किताबहरू यत्रतत्र छरिएका थिए । दाइ स्टोभमा भात पकाउँदै दर्शनशास्त्रको किताब पढिरहनुभएको थियो ।

राजनीतिक फेरबदलको क्रममा रामचन्द्र दाइ अहिले नेपालको राष्ट्रपतिको प्रतिस्पर्धामा हुनुहुन्छ । गठबन्धनको गणित बलियो छ । राजयोग छैन भनेको त ‘राष्ट्रपति बन्ने पो जोग रहेछ’ क्यारे दाइको

‘ल, बस यस्तै छ ।’ दाइले यसो ठाउँ सरे झैं गरेर हामीलाई बस्न भन्नुभयो । हामी तीन-चार जना खाटमा कोच्चिएर बस्यौं । मैले चारैतिर आँखा घुमाएँ । एउटै कोठामा किचन र सुत्ने खाट ।

रामचन्द्र दाइ सरल नै मान्छे हो । हाम्रोभन्दा सामान्य बसाइ । मैले निष्कर्ष निकालें ।

पञ्चायत व्यवस्था बदनाम भैसक्यो । यसको अब धेरै आयु छैन । धेरैबेरको छलफलपछि दाइले अन्तिममा भन्नुभयो । यसपछि दाइसँग आक्कलझुक्कल भेट हुनथाल्यो । नभन्दै पञ्चायत व्यवस्था ढल्यो । नेपाल अधिराज्यको संविधान, २०४७ बन्यो । पार्टीहरूले निर्वाचनमा प्रतिस्पर्धा गरे । नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो । गिरिजाप्रसाद प्रधानमन्त्री र रामचन्द्र दाइ मन्त्री बन्नुभयो ।

शनैशनैः नेपाली कांग्रेसभित्र गुटबन्दी राजनीति उग्र बन्दै गएको थियो । बेलाबखत, रामचन्द्र दाइका देश, जनता र पार्टीका सम्बन्धमा बौद्धिक तर्कहरू मिडियामा आउँथे । म चाख दिएर पढ्थें ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदन भण्डारीको असामयिक निधन भएपछि काठमाडौं क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र मदन भण्डारीकी पत्नी विद्या भण्डारीबीच प्रतिस्पर्धा थियो ।

गुटबन्दी राजनीतिको शिकार भइरहेको कांग्रेसमा रामचन्द्र दाइले ‘जितेको कृष्णप्रसाद भट्टराई भन्दा हारेको कृष्णप्रसाद भट्टराई पार्टीका लागि खतरनाक हुन्छ’ भन्ने अभिव्यक्ति सार्वजनिक गर्नुभयो । त्यसले राजनीतिक वृत्तमा सरगर्मी ल्यायो । तर भट्टराईले भने चुनाव हारे । नेपाली कांग्रेसभित्रको द्वन्द्व झन् झन् चुलिंदै गयो ।

एकदिन, हामी विश्वप्रकाश, भानुभक्त सर र मसहितको टोली रामचन्द्र दाइलाई भेट्न उहाँको घर गयौं । हामीमध्ये एकजना ज्योतिष विद्याका जानकार साथी पनि थिए । उनले दाइ यसपटक हजुरको राजयोग परेको छ । सभामुख होइन, संसदीय दलको नेता बन्न तारतम्य मिलाउनुपर्छ, भने । पार्टी जोगाउने दायित्व हाम्रो काँधमा आएको छ । म संसदीय दलमा प्रतिस्पर्धा गर्न खोज्दा झन् विग्रह बढ्न सक्छ । दाइले दूरगामी तर्क दिनुभयो ।

दाइको चिनाले त पछि राजयोग देखाउँदैन । साथीले संकोच मान्दै आफ्नो ज्ञान सुनाए ।

‘म पछि नै बनौंला नि ! अहिले शेरबहादुरजीलाई नै छोडनुपर्छ’ दाइले हाँस्दै भन्नुभयो ।

त्यसपछि रामचन्द्र दाइ सभामुख बन्नुभयो । शेरबहादुर दाइ प्रधानमन्त्री । दाइको त्यो भावनालाई मैले त्यागको रूपमा लिएको थिएँ ।

रामचन्द्र दाइ उपप्रधानमन्त्री बन्नुभयो । एकदिन, उहाँले मलाई अफिसमा भेट्न बोलाउनुभयो । म भेट्न गएँ ।

‘लक्ष्मी ! तिमीले मलाई सहयोग गर्नुपर्‍यो । तिम्रो मन्त्रालयका सचिव गोविन्ददेव भट्ट र प्रधानमन्त्री कार्यालयका सचिव रामेश्वर रायसँग पनि मेरो कुरा भइसकेको छ’ भन्दै मलाई सँगै काम गर्न आग्रह गर्नुभयो ।

‘हस्’ मैले सहजै स्वीकार गरें ।

तिमीलाई रामकृष्ण घिमिरे र शेषनाथ अधिकारीले पनि सिफारिस गरेका थिए । जति छिटो आऊ । उहाँलेे भन्न नभ्याउँदै मैले पुनः सहमतिको टाउको हल्लाएँ ।

मेरो लागि दाइसँगै काम गर्ने यो एउटा अवसर थियो । सँगै काम गर्दा झन् सरल पाएँ । जनता र कार्यकर्ताको लागि सरल पहुँच भएका नेता लाग्यो मलाई । विकास र जनताको समृद्धिको चिन्ता गर्ने बानी देखें ।

नैतिकवान् र सच्चरित्रको स्वभाव पाएँ । उहाँ देश विकासको लागि पार्टीका गुट-गुट मात्रै होइन, पार्टी-पार्टी पनि मिल्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । मध्यमार्गी मान्छे । म उहाँको मान्यताबाट प्रभावित थिएँ ।

तर दुर्भाग्य उहाँले भने झैं मिलाप भएन । नेपाली कांग्रेसका लागि हारेका कृष्णप्रसाद भट्टराई दाइको भनाइ सत्य सावित गर्दै खतरनाक बने । नेपाली कांग्रेस पार्टी फुट्यो । प्रजातान्त्रिक नेपाली कांग्रेस जन्मिंदा म दाइसँगै थिएँ । उहाँले संस्थापन पक्षलाई नछोडेको इतिहास साक्षी छ ।

समयको गतिसँगै नेपालको राजनीतिमा धेरै उठापटक भए । नेपाली कांग्रेस जुट्यो । एमाले पनि फुटेर जोडियो । माओवादी आन्दोलन भयो । मधेश आन्दोलन भयो । जातीय चेतना आयो । संविधानसभाले नेपालको सातौं संविधान बनायो । राजतन्त्र गयो । गणतन्त्र आयो ।

एकात्मक शासन प्रणालीको ठाउँ संघीय शासन प्रणालीले लियो । रामचन्द्र दाइले सदनमा सत्र-सत्र पटक प्रधानमन्त्री बन्ने निर्वाचन स्पर्धा गर्नुभयो । तर विजयी हुनुभएन । मलाई मेरा साथीले वर्षौं पहिले ‘दाइको राजयोग छैन’ भनेको भविष्यवाणी सत्य भए झैं लाग्यो ।

नेपालको राजनीति धेरै मोड भएको राजनीति हो । हरेक मोडमा नयाँ नयाँ दृश्यहरू देखिन्छन् । नयाँ-नयाँ कर्ता सक्रिय हुन्छन् । विलाउँछन् । अस्थिर राजनीतिक चरित्र देशको विशेषता बन्न पुगेको छ, दिक्क लाग्ने गरी ।

राजनीति जति बिग्रे पनि रामचन्द्र दाइमा भविष्यप्रतिको आशा देखिन्थ्यो । उहाँ सँगसँगै काम गर्दा मैले दाइ रिसाएको कहिल्यै देखिनँ । उहाँको निर्देशनमा पनि गूढ रहस्य लुकेको हुन्थ्यो, धेरै कुरा सिक्न पाइने गरी ।

एकदिन दाइलाई भेट्न म बोहोराटार गएको थिएँ । भेट्ने कोठामा पर्खालुहरू सुस्तरी बात मार्दै थिए । दाइले संगठनमा पकड बनाउने हो भने कहिल्यै हार्नु हुन्थेन । उहाँ गुटमा विश्वास गर्नुहुँदैन । राजनीतिक दलमा गुट नै सत्य छ । जो गुट बनाउँदैन, ऊ सिद्धिन्छ ।

भाउजू आफैंले चिया लिएर आउनुभयो । सबैजना चुप लागे । हामी चिया पिउँदै थियौं ।

केहीबेरपछि दाइ पनि चियाको कप लिएर आइपुग्नुभयो ।

हामी सबैले उठेर नमस्कार गर्‍यौं । मेरो केही काम थिएन, दाइलाई भन्नुपर्ने । सबैले आफ्नो आफ्नो काम बताउँथे । दाइका सहयोगी चिरञ्जीवीले फोन लगाउँदै दाइलाई दिन्थे । दाइ मान्छेलाई सोध्दै कामको कुरा गर्नुहुन्थ्यो ।

केहीबेर, हामी सबै चुप थियौं ।

‘प्रधानमन्त्री बन्न मित्र राष्ट्रहरूको सहयोग चाहिन्छ रे नि दाइ’ भेट्न पुगेका एकजनाले दाइलाई परोक्ष रूपमा सुनाए ।

इमान, धर्म, स्वाभिमान बन्धक राखेर म प्रधानमन्त्री बन्दिनँ । त्यो त राष्ट्रद्रोही काम हुन्छ । त्यति धेरै लालची पनि म छैन । दाइ रिसले पड्किनुभयो । ती व्यक्ति लुसुक्क उठेर बाहिर निस्के ।

भेट्न आएकाहरू सबै एकएक गर्दै निस्किए । लक्ष्मी तिम्रो के काम थियो ? दाइले सोध्नुभयो । म त भेट्न मात्रै आएको दाइ । दाइ मुस्कुराउनुभयो । एकछिनपछि म पनि बिदा भएर निस्किएँ ।

राजनीतिक फेरबदलको क्रममा रामचन्द्र दाइ अहिले नेपालको राष्ट्रपतिको प्रतिस्पर्धामा हुनुहुन्छ । गठबन्धनको गणित बलियो छ । राजयोग छैन भनेको त ‘राष्ट्रपति बन्ने पो जोग रहेछ’ क्यारे दाइको । मलाई खुसी लाग्यो । रामचन्द्र दाइलाई विजयको असीम शुभकामना !

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?