+
+

तपाईं हाम्रा डेटाबाट ह्याकरले कसरी कमाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १०:२८

काठमाडौं । के अरु कसैका डिजिटल डेटाबाट अर्को व्यक्तिले पैसा कमाउन सक्दछ ? हो, सक्दछ । वास्तवमा ह्याकर्सले आखिर यही त गर्दछन् । तपाईंका डेटा चोरी गरेर अरु कसैलाई बेचिन्छ र त्यसबापत पैसा प्राप्त हुन्छ । जसरी केही विषयमा जानकारी पत्ता लगाउनका लागि सुराकी खटाइएको हुन्छ ह्याकरहरु पनि त्यसैगरी सुराकीको रुपमा रहन्छन् र अनलाइनमा ह्याक गरेर हात पारेका डेटाहरु अरुलाई बिक्री गरेर पैसा कमाउँछन् ।

वास्तवमा ह्याकर्स इन्टरनेट दुनियाँका डिजिटल सुराकी हुन्, जसले तपाईंको जानकारीहरु चोरी गर्दछन् र ती चोरी गरिएका डेटाहरु लिलाम गरेर आफ्नो गोजी भर्दछन् ।

विभिन्न साइटहरुमा डेटा लिक भएका समाचार त हामीले बेलाबखतमा सुन्दै आएका छौं । कहिले फेसबुक तथा कहिले अन्य प्लाटफर्महरुका प्रयोगकर्ताका डेटा लिक हुने गरेका छन् । त्यसरी लिक भएका डेटा कहाँ जान्छन्, ह्याकर्सले ती डेटा कहाँ बेच्दछन् र डेटाको मूल्य कसरी तय हुन्छ ? के तपाईंले यसबारेमा कहिल्यै विचार गर्नुभएको छ ?

ह्याकरहरुले इन्टरनेटमा रहेका करोडौँ प्रयोगकर्ताका डाटहरु निरन्तर खोजिरहेका हुन्छन् । डेटा चोरी गर्नका लागि उनीहरुले विभिन्न प्रकारका कमजोरीहरुको सहारा लिन्छन् । लूप होल अर्थात् यस्तो प्वाल वा कमजोरी जहाँबाट डेटा चोरी गर्न सकियोस् ।

डेटा चोरी कसरी हुन्छ ?

ह्याकर्स तथा स्क्यामर्सहरु इन्टरनेटमा रहेका मानिसहरुको डेटा चोरी गर्नका लागि धेरै प्रयोगकर्ता भएको कुनै वेबसाइटमा रहेको त्रुटी तथा कमजोरीको खोजी गर्दछन् । त्यसरी पत्ता लगाएको सुरक्षा त्रुटीको सहाराले नै ह्याकरहरुले वेबसाइट वा प्लाटफर्ममा रहेका डेटामा धावा बोल्दछन् र लाखौँ प्रयोगकर्ताको डेटा चोर्दछन् । चोरी गरिएका ती डेटा डार्क वेबमा पुग्दछन् र त्यहाँ नै डेटाको लिलामी हुन्छ ।

के हो डार्क वेब ?

वास्तवमा इन्टरनेटको दुनियाँ ३ भागमा विभाजित हुन्छ । पहिलो हिस्सा सर्फेस वेब हो, जसको प्रयोग करीब सबैले गर्दछन् । अर्थात् तपाईंले इन्टरनेटमा जुन कुरा खोज्नुहुन्छ त्यो नै सर्फेस वेबको हिस्सा हो । तर यो इन्टरनेट दुनियाँको सबैभन्दा सामान्य हिस्सा हो ।

त्यसपछि आउँछ डीप वेब । जहाँ यस्ता वेबपेज हुन्छन् जो सामान्य सर्च इन्जिनमा देखिँदैनन् । तपाईं कुनैपनि विषयमा धेरै जानकारीका लागि इन्टरनेटमा पेज भित्र डेटा खोतल्नुहुन्छ, त्यो नै डीप सर्चको हिस्सा बन्दछ । अनि तेस्रो पत्रको रुपमा पालो आउँछ डार्क वेबको ।

यसको नामजस्तै यसको संसार पनि अन्धकार छ । त्यहाँसम्म पुग्नु सबैको बसको कुरा हुँदैन । यद्यपि पछिल्ला केही वर्षदेखि डार्क वेबमा प्रवेश सहज भएको छ । तथापि त्यहाँ अन्डरवर्ल्डको जस्तै हरेक कदममा खतरा रहन्छ । त्यस्तो खतरा ह्याकर्स, स्क्यामर्स तथा आफूमाथि डिजिटल ठगीको रहन्छ । डार्क वेबमा विशेष ब्राउजरबाट मात्रै पहुँच हुन्छ । त्यहाँ नै तपाईंका डेटा खरीद बिक्री हुन्छन् ।

कतिमा बिक्री हुन्छन् डेटा ?

डार्क वेबमा फरक–फरक डेटाको मूल्य पनि फरक–फरक हुन्छ । कुनै प्रयोगकर्ताको डेटाको मूल्य १०१० डलरसम्म हुन्छ । यदि कसैले अनलाइन लगइन डिटेल्स चोरी गरेको छ भने त्यसको मूल्य ५० डलर हुन्छ । क्रेडिट कार्ड तथा त्यससँग सम्बन्धित जानकारीहरुको मूल्य १७ देखि १२० डलरसम्म हुनसक्छ ।

त्यस्तै अनलाइन बैंकिङ लगइनको विवरणको मूल्य ६५ डलरसम्म तथा फेसबुक अकाउन्टको मूल्य ४५ डलरसम्म रहन्छ । क्लोन्ड भिसा कार्ड तथा पिनको विवरणको मूल्य २० डलर, पेपल अकाउन्टको विवरणको मूल्य २० डलरसम्म हुन्छ । त्यस्तै ह्याक गरिएको वेब तथा उबर वा नेटफ्लिक्स जस्ता मनोरञ्जन सेवाका प्रयोगकर्ताका डेटा ४० डलरसम्ममा बिक्री हुने गरेका छन् ।

कसरी बिक्दछन् डेटाहरु ?

ह्याकर्सले ती डेटालाई डार्क वेबमा सूचिकृत गर्दछन् । ती डेटासँगै एउटा सानो नमूना पनि सूचिकृत गरिएको हुन्छ जसलाई निःशुल्क रुपमा उपलब्ध गराइएको हुन्छ । खरीदकर्ताले त्यो नमूना डेटा क्रसचेक गर्दछ र सबै कुरा ठीक लागेमा खरीदको बार्गेनिङ सुरु हुन्छ ।

स्क्यामर्सले धेरैजसो डेटाको बिक्री गर्दा क्रिप्टोकरेन्सीमा भुक्तानी लिन्छन् । जसका कारण स्क्यामर्सको बारेमा अरु कसैले जानकारी हासिल गर्न सक्दैन ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?