+
+

घर-कोठा बनाउन वाल प्यानल : कति टिकाउ, कति पर्छ मूल्य ?

कृष्णभक्त दुवाल, इन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर
२०७९ फागुन २६ गते १७:३७

घर बनाउनुअघि निर्माण सामग्री कस्तो रोज्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । यसमा लागत र सुरक्षा दुवै कुराले अर्थ राख्छ । घर निर्माणमा ढुंगा-माटो, ईंटा, काठ, सिमेन्टको प्रयोग धेरै हुन्छ ।

तर पछिल्लो समय ईंटाको भित्ताको सट्टा वाल प्यानल लगाउने प्रचलन निकै बढेको छ । वाल प्यानल परम्परागत निर्माण सामग्रीको विकल्प हो । यो कुनै पनि स्थायी वा अस्थायी संरचना बनाउँदा भित्ता (वाल)को रुपमा प्रयोग गर्न सकिन्छ ।

कारखानामा पहिल्यै निर्माण गरेर पछि ल्याएर जोड्ने मात्र भएकाले यसलाई प्रिफ्याब प्यानल पनि भनिन्छ । यसको उत्पादनमा क्लिन इनर्जीको मात्रै प्रयोग हुने भएकाले यसलाई वातावरणमैत्री पनि मानिन्छ ।

इको फ्रेन्डली वाल प्यानल बनाउँदा दुईतिर चारदेखि पाँच मिलिमिटर बाक्लो सिमेन्ट राखेको हुन्छ भने भित्र बालुवा, सिमेन्ट, इपीसी (चलनचल्तीको भाषामा थर्मोकोल) र एउटा विशेष प्रकारको सिन्थेटिक पोलिमरको प्रयोग भएको हुन्छ ।

वाल प्यानलको घर, कोठा बनाउँदा कति उपयोगी ?

इको प्यानल नेपाल प्रालिद्वारा उत्पादित इको फ्रेन्डली वाल प्यानल आधुनिक संरचना बनाउन निकै उपयुक्त हुन्छ । यो हलुका तथा टिकाउ पनि हुन्छ.। यसको वजन परम्परागत  निर्माण सामग्रीको तुलनामा एकतिहाई कम हुन्छ ।

वाल प्यानबाट संरचना बनाउँदा ढुंगा, ईंटा, बालुवा, सिमेन्ट थुपारेर राख्नुपर्ने झन्झट रहँदैन । यस्तै क्युरिङ (गारो लगाइसकेपछि पानी लगाउने काम) गरिराख्नु पनि पर्दैन । प्लास्टर नगरी सिधै वालपट्टी लगाएर रंग लगाउन सकिने भएकाले छिटो छरितो पनि हुन्छ ।

कति सुरक्षित ?

प्यानलको घनत्व ६५० किलो प्रतिवर्गमिटर मात्र हुने भएकाले यसको वजन परम्परागत निर्माण सामग्रीको एक तिहाइ मात्र हुन्छ । हलुका हुने भएकाले भूकम्पको दृष्टिकोणले पनि यो सुरक्षित हुन्छ ।

यसमा प्रयोग हुने इपीएस पानी प्रतिरोधी हुने कारणले गर्दा यो टिकाउ पनि हुन्छ । त्यसैले वाल प्यानलको ग्यारेन्टी ७० वर्ष छ । यो अग्नि प्रतिरोधी पनि हुन्छ ।

यसले एक हजार डिग्रीको तापक्रमलाई चार घण्टासम्म थेग्न सक्छ । यसको थर्मल इन्सुलेसन पनि राम्रै हुन्छ । चिसो ठाउँमा बाहिरको चिसोपन भित्र आउन दिंदैन भने तातो ठाउँमा बाहिरको तातोपन भित्र आउन दिंदैन । त्यसैले घरलाई चिसो तथा तातो बनाउन लाग्ने ऊर्जा पनि यसले बचाउँछ । प्यानल बनाउँदा थर्मोकोलको प्रयोग हुने हुँदा यसको साउन्ड इन्सुलेसन पनि राम्रो हुन्छ ।

कति-कति साइजमा ?

वाल प्यानलको लम्बाइ सामान्यतया ८ फिट र चौडाइ २ फिट हुन्छ । यस्तै २ इन्चदेखि ६ इन्चसम्म मोटाइ हुन्छ । जुनसुकै हाइटको संरचनामा पनि यो आवश्यकता अनुसार सजिलै जडान गर्न सकिन्छ ।

यसको मूल्य कति पर्छ ?

प्यानलको मूल्य यसको मोटाइ तथा साइजअनुसार फरक हुन्छ । दुई इन्च मोटाइको मूल्य दुई सय रुपैयाँ (भ्याट बाहेक) प्रतिवर्ग फिट पर्छ भने अरु मोटाइ अनुसार मूल्य वृद्धि हुँदै जान्छ ।

यो हलुका हुने कारणले गर्दा यसको ढुवानी पनि सस्तो हुने गर्छ । यो सवारीसाधन पुगेको नेपालको जुनसुकै ठाउँमा पुर्‍याउन सकिन्छ । यसको मूल्यमा ५ देखि १५ प्रतिशत मात्र महंगो हुन्छ ।

कसरी राखिन्छ ?

वाल प्यानलको प्रयोग गर्न पनि सजिलो छ । प्यानलको जडान गर्दा यसमा भएको टंग एण्ड ग्रूभ (भालेपोथी) जोडाइमा विशेष प्रकारको एडेसिभ सिमेन्ट प्रयोग गरिन्छ । दुईवटा प्यानलको बीचमा आठ एमएमको  फलामको यू आकारको रडले कसेको हुन्छ । पिलर र बिममा एक ढिक्का गरी जडान गर्न आठ एमएमको रडलाई ड्रिल गरी घुसाइन्छ ।

यो प्यानल जडानको क्रममा कुनै च्यानलको प्रयोग हुँदैन । च्यानलको प्रयोग नहुने हुँदा यो प्यानलमा रंग लगाइसकेपछि आकर्षक देखिन्छ । यसमा बाथरूम तथा किचेनको टायल सजिलै राख्न सकिन्छ । बिजुलीको तार पनि सजिलै वायरिङ गर्न सकिन्छ । यसमा किला ठोक्न मिल्ने भएकाले एसी जडान गर्न पनि सजिलो हुन्छ ।

वाल प्यानललाई भत्काएर पुनः प्रयोग गर्न पनि सकिन्छ । घर, कोठा भत्काउँदा केही क्षति भएपनि ९० प्रतिशतभन्दा बढी भने काम लाग्छ ।

(दुवाल भक्तपुर चाँगुनारायणस्थित इको प्यानल नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?