+
+

स्ववियु चुनावमा प्रत्यक्ष मात्र होइन, समानुपातिकमा पनि हाल्नु पर्छ भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १८:२६

२६ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयले मिश्रित निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष र समानुपातिक प्रणालीबाट स्ववियुको पूर्ण कार्यसमिति बन्नेछ ।

विद्यार्थी संख्याको आधारमा स्ववियु कार्यसमिति बन्ने व्यवस्था छ । दुई सय भन्दा कम विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति हुनेछ । एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ जना, तीन हजारसम्म विद्यार्थी संख्या भएको क्याम्पसमा १९ जना र त्यसभन्दा माथि विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ जनाको निर्वाचित कार्यसमिति हुनेछ ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष प्रत्यक्षबाट चुनिने छन् । उपाध्यक्ष र सहायक सचिवका लागि दोस्रो चरणको मतदान हुनेछ । पूर्ण कार्यसमिति बनेपछि कार्यसमिति बाटै उपाध्यक्ष र सहायक सचिवका लागि दोश्रो चरणको मतदान गरी छनोट गरिने छ । त्यसअनुसार पदाधिकारी पाँच जनाको पदाधिकारीमा ३ प्रत्यक्ष दुई समानुपातिक हुनेछन् । सदस्यमा प्रत्यक्ष र समानुपातिका गरी ५०/५० प्रतिशत आउने छन् ।

कुनै क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति हुँदा पदाधिकारीका तीन र सदस्य आठ गरी ११ जना प्रत्यक्षबाट चुनिने छन् । समानुपातिकबाट १० जना निर्वाचित हुनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार समानुपातिकतर्फका लागि एउटा संगठनले १६ जनाको नाम पेश गर्नुपर्ने हुन्छ ।

समानुपातिकबाट छनोट गर्दा पहिलो नम्बरमा पठाएको नामले नै पहिलो प्राथमिकतामा पर्छ भन्ने हुँदैन । मानौं, कुनै संगठनले १६ जना मध्येबाट तीन जना समानुपातिकबाट कार्यसमितिमा पठाउन पाउने भयो भने जुनसुकैलाई पनि पठाउन सक्छ । पहिलो नम्बरमा रहेकै आधारमा सबैभन्दा पहिलो प्राथमिकता भन्ने स्ववियुको निर्वाचनमा हुँदैन । संसदीय निर्वाचनमा समानुपातिक पद्धतिलाई ध्यान राख्दै पहिलो छानिए जस्तै स्ववियुमा नहुने निर्देशक अधिकारीले जानकारी दिए ।

प्रत्यक्षमा व्यक्तिलाई मत प्रदान गरिने छ । समानुपातिकतर्फ विद्यार्थी संगठनलाई मत दिने व्यवस्था छ । समानुपातिक पद्धतिमा जुन संगठनले बढी मत पाउँछ उसकै कार्यसमितिमा सदस्य बढी पर्दछन् ।
स्ववियु निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मतपत्र प्रयोग गरिने छ ।

स्ववियु कार्यसमितिको कार्यवधि २ वर्षको हुने व्यवस्था छ । नियमित समयमा स्ववियु निर्वाचन हुन नसके त्रिवि कार्यकारी परिषदले बढीमा ६ महिना थप्ने व्यवस्था रहेको अधिकारीले जानकारी दिए ।

त्रिविले चैत ५ गते स्ववियुले निर्वाचनको मिति तोकेको छ । ६२ वटा आंगिक सबै क्याम्पस निर्वाचन गर्छन् भने सम्बन्धन प्राप्त कतिपयले स्ववियुको निर्वाचन गर्दैनन् । त्रिविबाट सम्बन्धन लिने कलेजहरुको संख्या १ हजार ४० छ । सम्बन्धन प्राप्त कलेज मध्ये स्ववियु निर्वाचन नगर्नेहरुको यकिन तथ्यांक त्रिविसँग नभएको अधिकारीले बताए ।

समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय फागुन २७ (शनिबार) गते बिहान ११ बजेदेखि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ । चैत ५ गते स्ववियु निर्वाचनमा २०५१ चैत १८ गतेयता जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

शुक्रबार मनोनयनपत्र वितरण गरिएको छ । फागुन २८ गते उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको छ । विद्यार्थी संगठनले प्रचार–प्रसार गर्नको लागि ४ दिनको समय तोकिएको छ । फागुन २९ गतेदेखि चैत २ गते मध्यरातिसम्म प्रचार प्रसारको समय त्रिविले निर्धारण गरेको छ ।

२/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा भने हुन सकेको थिएन । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?