+
+

ओइलाएकी प्रेमिकालाई अपांग प्रेमीको पत्र

इतिहासको गौरवलाई सम्झन पुग्छु तर हातविहीन अपांगता भएको शरीर ओछ्यानमा उत्तानो परेर लडिरहेको हुन्छ । तर प्रिय, म अझै हारेको छैन ।

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०७९ फागुन २७ गते ८:१६

मेरो जीवनबाट ओइलाएको सुन्दर फूल !

तिमीले भनेको सही हो प्रिय ! सशस्त्र द्वन्द्वको सुरुवात सभ्य समाज र कानुनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । त्यसैले म छोरालाई भन्छु- ‘आफ्नी आमाको त्यो प्रसव पीडालाई सम्झाउने तिम्रो जन्मदिनलाई उत्सवका रूपमा नमनाऊ है ! निष्ठुरी तिम्री आमाले भर्खरै जन्मिएको तिम्रो कारुणिक चीत्कार सुनेर आँखाभरि आँशु झार्दै हर्ष मनाएकी थिइन् । त्यसैले तिमी बत्ती नबाल, किनकि सूर्यको चमकलाई रातले निल्दै गर्दा कुन खुसीमा बत्ती बालेर उत्सव मनाउँछौ तिमी !’

देवीले महिषासुरलाई मारेको हर्षमा दशैं र होलिका आगोमा डढेर भष्म हुँदै गर्दा रंगको उल्लास मनाउने तिमीलाई नेपालमा वर्षौंदेखि अन्याय, अत्याचार, शोषण र उत्पीडनमा रहेका नेपालीको मुक्तिको लागि उठेका आवाज असभ्यताका प्रतीक बन्नु अस्वाभाविक हैन ! विभिन्न बहानामा सधैं लुटिरहने वर्गका मान्छेका विरुद्धमा बोलिएका धावाहरू तिम्रा कथित कानुनी राज्यलाई मुटु छेड्ने शूल हुनु त स्वाभाविकै थियो नि हैन !

शायदै तिमीले मेरा आँखामा कालोपट्टी लगाइदिएकी थियौ, त्यसैले मैले तिम्रो सुन्दर, स्वर्ग जस्तो कानुनी राज्यलाई कुरूप देख्न पुगेछु । मलाई माफ गर प्रिय, मलाई तिम्रो राज्य कानुनी जस्तो र सभ्य पनि लाग्दैन । तिमीसँग यति याचना गरेपछि त मलाई केही नबोली दिवस मनाउन देऊ ।

तिमीहरूसँग शब्द जञ्जाल छन्, हामीहरूसँग सफा मन र कर्मशील हातहरू । तिमीहरूको आफ्नै राज्य र कानुनहरू छन्, हामीसँग आफ्नै श्रमले निर्माण भएका कोदालो र खन्तीहरू भन्दा बाहेक केही छैनन् किनकि हामी तिमीहरूको राज्यका शरणार्थी हौं । तिमीहरूका शब्द जञ्जालले हामीलाई पहिले पनि यसैगरी रुवाएका थिए । आज पनि हाँस्न दिएका छैनन् ।

तिमीहरूको स्वर्गमा हामीले ग्रिनेड हानेकै हो ! कति नपड्किएका बन्दुकका खट्याक्क आज पनि सपनामा आउँछन् र फेरि अधुरै छोडेका आकांक्षाहरूले विलाप गरेर जान्छन् । ती अधुरा र अलपत्र परेका सपनाहरू हामीले बिर्सिदिंदा पक्कै पनि तिमीलाई आनन्द भएकै होला, तर के गर्नु चिहानबाट आफ्नै मान्छेहरूले एकोहोरो लागेर रोइरहेको सुन्छु हरेक मध्यरातमा ।

मलाई अपेक्षित रूपमा देश नबनेकोमा पीडा छ । मैले मृत्युपत्रमा सहीछाप गरेर त्यत्तिकै ग्रिनेड बोकेर हिंडेको थिइनँ । आजभोलि सपनामा गिद्धले सिनो लुछेजस्तै गरी देश लुछ्न प्रयत्न भइरहेको देख्छु । बिउँझिंदा मन बैचेनी र उदासीले भरिन्छ । इतिहासको गौरवलाई सम्झन पुग्छु तर हातविहीन अपांगता भएको शरीर ओछ्यानमा उत्तानो परेर लडिरहेको हुन्छ । तर प्रिय, म अझै हारेको छैन

तिमीहरू कहिल्यै पनि गल्ती गर्दैनौ प्रिय, किनकि तिमीहरू ठूला वर्गका मान्छेहरू हौ, पढेलेखेका छौ । गाउँमा नै बसेका भए पनि ठूलो घरमा आरामदायी जिन्दगी बिताएका थियौ, अझ शहर आएपछि त तिमी धेरै नै ठूली मान्छे भइसकेकी छ्यौ रे ! कसरी हामी भुइँमान्छेका आवाजलाई बोध गर्न सक्थ्यौ र ! किनकि म तिम्रो नजरमा मान्छे नै होइन, केवल एउटा कसाही हुँ, कि म मान्छे मार्नलाई मात्रै यस संसारमा जन्म लिएको हुँ ।

प्रिय, तिमीले भनेकै सही, मलाई पढ्न अल्छी लागेर ग्रिनेड बोकेको सत्य हो । त्यसैले त त्यही ग्रिनेडले मेरो दाहिने हात छिनालेर लग्यो, अनि तिमी स्कूलमा सधैं फस्ट हुन पायौ । तिमीले त एमए पास पनि गर्‍यौ रे ! तर म दश कक्षामा फेलको धब्बा लागेर जीवनभर अशक्त जिन्दगी बिताइरहेको छु ।

यस्तो क्षणको सुरुवात भएको दिनलाई सम्झेर दिवसका रूपमा खुसी हुँदै मनाउन मलाई पनि पक्कै मन छैन, तर मेरो गौरव गाथाप्रति आफैंले सम्मान गर्न पनि नपाउने भन्ने त हुन्न होला नि ! तिमीलाई त मेरो निरीहतामा हाँस्दै खिल्ली उडाएर एकदिन भए पनि मेरो हात छिनाइदिने ग्रिनेडलाई सलामी गर्न मन थियो होला ! पक्कै हुनुपर्ने हो । त्यसैले त छापातिर त विरोध गर्दै ठूला-ठूला अक्षरमा आगो ओकलिरहेकी थियौ ।

इतिहास विजेताले लेखेको कथा हो, जुन कथामा हारेकालाई नामेट बनाई उनीहरूको ओजस्वी त्याग र बलिदानलाई जित्नेहरूका कथामा विद्रुपीकरण गरिन्छ । त्यसैले आजसम्मका लिखित इतिहासहरू कागजका खोस्टाहरू हुन् । नायकलाई स्थापित गर्नका लागि बलिदान भएका धेरै भुइँमान्छेहरूलाई इतिहासले विलुप्त बनाएको छ । इतिहास त हामीले पनि लेख्न खोजेकै हो । विद्रोहको मशाल उठाएर पुरानो सामन्ती राज्यसत्ताका विरुद्धमा यमराज हुँकार मच्चाएकै हो । तिम्रो सत्ता हाम्रा अगाडि पुसको जाडोमा बाबुआमाबाट छुटेर मान्छेको भीडमा आत्तिएर, डराउँदै रत्नपार्कमा कामिरहेको एउटा गरिब बच्चा जस्तै कामिरहेको पनि हो । तर समय एकैनाश हुँदोरहेनछ ।

संसारमा निरपेक्ष कुरा केही छैन, त्यसैले सत्य पनि निरपेक्ष छैन । सत्यलाई शक्तिले निर्माण गर्छ । आजसम्म हामीले पढेको इतिहास पनि शक्तिशालीले निर्माण गरेको भाष्य हो । मानव सभ्यताको इतिहास हेर्ने हो भने शक्तिले नै राज्य प्रणालीको निर्माण गरेको हो, अनि राज्य प्रणालीले कानुनको निर्माण गर्छ । आधुनिक राज्य प्रणालीमा कानुनले सत्यको निर्माण गर्छ, बाँकी सबै कुराहरू मानिसपिच्छेका अनुभूति हुन् । तिम्रो व्यवस्थामा मानवजगत शक्तिको सामु निरीह बन्छ ।

इतिहासको यो निरन्तर गतिशीलताभित्र विद्रोह अन्तरनिहित हुन्छ । विद्रोह जहिले पनि तत्कालीन राज्य व्यवस्था र कानुनको विरुद्धमा हुन्छ । त्यसैले त्यो विद्रोह त्यस दिनसम्म गैरकानुनी हुन्छ, जुन दिनसम्म विद्रोहले नयाँ राज्य प्रणालीको निर्माण गर्न सक्दैन । नयाँ राज्य प्रणालीले नयाँ कानुनहरूको निर्माण गर्छन् र त्यस विद्रोहलाई इतिहासको गौरव गाथाका रूपमा अमर बनाइन्छ ।

म ग्रिनेड र बन्दुक बोकेर अब फेरि कसैको विरुद्धमा लड्ने त छैन, तर देश बनाउने अदम्य उत्साह, एउटा आदर्श सपना झनै प्रष्ट रूपमा देखिन थालेका छन् । सबै नेपालीलाई एकठाउँमा ल्याएर तिम्रो र मबीच भएको खाडललाई समेत पुर्ने मन छ

त्यो गौरव गाथाको गीत त्यसदिनसम्म गाइन्छ, जुन दिनसम्म विद्रोहको जगमा निर्माण भएको राज्य प्रणाली अस्तित्वमा रहन्छ । त्यसैले तिम्रो व्यवस्थाले हाम्रो विद्रोहलाई आपराधिक क्रियाकलाप र हामीहरूलाई आतंककारी बनाएको थियो । तर त्यस समय हामीबीचको गौरवमय एकता, नेपाली जनताको समाज रूपान्तरणको तीव्र आवेग र चाहनाका अगाडि साँच्चै नै तिम्रो राज्य व्यवस्था हेर्न लायक निरीह र हाम्रो विद्रोह गौरवमय इतिहासमा रूपान्तरित भएको थियो ।

प्रिय, तिमीलाई राम्रोसँग थाहा छ, नेपालको वर्तमान राज्य प्रणालीको आधार भनेको १० वर्षे ‘जनयुद्ध’ र १९ दिने जनआन्दोलन हो । यस ‘जनयुद्ध’ र जनआन्दोलनमा हजारौं नेपालीले शहादत प्राप्त गरी शहीद भए भने धेरै घाइते, अंगभंग हुन पुगे । नेपालको यस ऐतिहासिक परिघटना तिमी र तिमीहरू जस्ता थोरैका लागि काला चित्रहरू थिए भने हामी र हामीहरू जस्ता धेरैका लागि सुन्दर तस्वीरहरू । त्यस ऐतिहासिक क्षण र प्राप्त उपलब्धिले तिम्रो पुराना राज्य व्यवस्था र यसको नेतृत्वलाई खलनायक बनाएकै हो भनेे नयाँ राज्य व्यवस्थाको नेतृत्वलाई आदर्शीकरण गरेकै हो । किनकि इतिहासको निर्माण यसरी नै हुन्छ ।

सापेक्ष नै भए पनि एउटा सत्यलाई स्वीकार्नै पर्छ । राज्य प्रणाली स्थिर हुँदैन र हुन सक्दैन । समय परिवर्तन हुँदैगयो । त्यस बेलाको आँधीबेहरी सहितको विद्रोह र जनआन्दोलनले तत्कालीन राज्य व्यवस्थालाई जितेकै होे र तत्कालीन राज्य प्रणालीलाई नै उलटपुलट बनाउने ताकत राखेकै हो । हिजोको आतंककारी भनिएका हामीहरू ‘जनयुद्ध’का महान् योद्धाका रूपमा सम्मानित हुँदै थियौं । पुराना व्यवस्थाका कानुनहरू हाम्रा अगाडि नतमस्तक भएर निहुरिएका थिए । हाम्रो युद्ध नेपालको परम्परागत सामन्ती राज्य व्यवस्था भत्काउने महान् परिघटनाका रूपमा स्थापित बन्न पुगेको थियो ।

तर यस नवीन व्यवस्था सञ्चालकका रूपमा रहेका पात्रहरूमा देखिएको अकर्मण्यता, स्वार्थ र शक्ति प्राप्तिको चरम लालसाले प्रतिक्रियावादीहरू देखिन थाले । त्यसैले जुन अपेक्षा अनुरूपको जनताको पक्षमा राज्य प्रणाली र उत्पादन प्रणाली नै उलटपुलट गराउने प्रकृतिको संविधान बन्नुपर्ने थियो, त्यो बन्न सकेन । शायद तिमी यस कुरालाई मान्न तयार छैनौ होला, तर यो संविधान आजसम्म निर्माण भएको संविधानमध्ये सबैभन्दा बढी नेपाली जनताको पक्षमा रहेको संविधान हो ।

आज समय अझ परिवर्तन हुँदै गयो । समाजको प्रगति नचाहने शक्तिहरू सल्बलाउन थाले । यस व्यवस्थाको निर्माण गर्ने नेतृत्वले जनताको पक्षमा रही यस व्यवस्थालाई दरिलो बनाउँदै जानुपर्नेमा जनअपेक्षित कार्य गर्न नसक्दा विश्वास गुमाउँदै गइरहेको भनेर साथीहरू गुनासो गर्छन् ।

अवस्था यहाँसम्म आइपुग्यो कि हिजोका क्रान्ति नायकलाई आज खलनायक बनाउन प्रयास भइरहेको छ । सुन्दर सपनाका निर्माताहरूलाई ऐंठन गराउने पात्र बनाउन खोजिएको छ । हुँदाहुँदा यहाँसम्म पनि भन्न थालिएको छ कि, हामीहरू फेरि हिजोकै दिनका आतंककारी हौं र हामीलाई तिमीहरूका कानुनले हत्यारा बनाउने रे !

यो घटनालाई आजको व्यवस्था माथिको प्रहार हो भन्ने कुरालाई नबुझ्ने र विविध आत्मरतिमा रमाउने हो भने सबै रूपान्तरणकारी पात्रहरू यस व्यवस्थाको अन्त्यसँगै रद्दीको टोकरीमा फालिने छन् । यो क्रान्ति र प्रतिक्रान्तिको लडाइँ हो भन्ने कुरालाई सहज रूपमा बोध गर्न सकिएन भने आउँदा दिनहरू सहज छैनन् । इतिहास निर्मम हुन्छ, त्यसैले हामी कसैले पनि इतिहाससँग मजाक गर्नुहुन्न ।

मलाई अपेक्षित रूपमा देश नबनेकोमा पीडा छ । मैले मृत्युपत्रमा सहीछाप गरेर त्यत्तिकै ग्रिनेड बोकेर हिंडेको थिइनँ । आजभोलि सपनामा गिद्धले सिनो लुछेजस्तै गरी देश लुछ्न प्रयत्न भइरहेको देख्छु । बिउँझिंदा मन बैचेनी र उदासीले भरिन्छ । इतिहासको गौरवलाई सम्झन पुग्छु तर हातविहीन अपांगता भएको शरीर ओछ्यानमा उत्तानो परेर लडिरहेको हुन्छ । तर प्रिय, म अझै हारेको छैन ।

म ग्रिनेड र बन्दुक बोकेर अब फेरि कसैको विरुद्धमा लड्ने त छैन, तर देश बनाउने अदम्य उत्साह, एउटा आदर्श सपना झनै प्रष्ट रूपमा देखिन थालेका छन् । सबै नेपालीलाई एकठाउँमा ल्याएर तिम्रो र मबीच भएको खाडललाई समेत पुर्ने मन छ । फेरि एकपटक उत्साही भएर मुलुकलाई हँसाउने रहर छ ।

उही तिमीलाई सधैं सम्झिरहने
क्रान्तिको अपांग योद्धा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?