+
+

गठबन्धन महिलाविरोधी छ, उपराष्ट्रपतिमा जालझेल गर्न खोज्दैछ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १९:०३

२७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा पार्टीको महिला संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको टिप्पणी गरेका हुन् ।

‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख/उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ’ उनले भने ।

संविधानले नै राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंग भनेको भन्दै उनले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने बताए । ‘संविधानले एउटा, एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ ? गर्नैपर्छ नि । अब आजसम्म पनि दश दलीय गठबन्धन जालझेल गर्न खोजिराखेको छ । अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा । पुरुष हुन्छ भने महिला’ ओलीले भने ।

उनले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएको टिप्पणी गरे । ‘एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीकोले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो, मार्‍यो । गाह्रो छ । आउ भाइ हो सबै मिलेर लडौँ भनेर । त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?