
२७ फागुन, काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत बर्नमाउथले प्रिमियर लिगमा लिभरपुललाई हराएको छ । शनिबार भएको खेलमा बर्नमाउथले लिभरपुलमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको हो ।
अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडलाई ७–० ले हराएपछि लिभरपुल पुरानो लयमा फर्किएको अनुमान गरिएको थियो । तर बर्नमाउथले त्यसलाई गलत साबित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले २८औं मिनेटमा फिलिप बिलिङको गोलबाट अग्रता लिएको थियो । लिभरपुलको कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले करिव ६ यार्ड टाढाबाट गोल गरेका हुन् ।
खेलको ६९औं मिनेटमा लिभरपुलले पेनाल्टी पनि पाएको थियो । तर मोहम्मद सलाहको प्रहार फ्रेममा पर्न सकेन र, लिभरपुलले बराबरी गर्ने मौका गुमायो ।
यो हारसँगै लिभरपुलले सिजनमै पहिलो पटक लिगको चौथो स्थानमा उक्लिने मौका गुमाएको छ । लिभरपुल २६ खेलबाट ४२ अंकका साथ पाँचौं स्थानमा छ ।
बर्नमाउथ भने २४ अंकका साथ सोह्रौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4