+
+

महोत्तरीमा फागुनमै सुक्न लागे खानेपानीका मुहान

रासस रासस
२०७९ फागुन २८ गते १७:२९
फाइल तस्वीर

२८ फागुन, महोत्तरी। यसवर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् ।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका छन् । ‘धाराबाट पानी झर्नै छाड्यो’, बर्दिबास–२ की गायत्री उपाध्यायले भनिन्, ‘गत वर्ष यो बेला यस्तो भोग्नु परेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ।’

बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी सङ्कलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन्।

‘पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो’, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने । संस्थाले बर्दिबास–१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ ।

बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन् । इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए ।

भङ्गाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ । पानीका स्रोत सुक्दै गएका भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए । ‘अब वर्षा भएमात्र पानी पर्याप्त हुन्छ’, उनले भने । वडा नं ४ र ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको सङ्कट हुँदै आएको छ। ‘पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो’, स्थानीय ६० वर्षीय हरिदेव साहले भने ।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो । बर्दिवास–३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन् ।

‘एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुङ्गा झिक्न ठूलाठूला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्’, बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भने । पानीका मुहान सुक्दै जानुका कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनले बताए ।

खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास–८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ । गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भङ्गाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको सङ्कट भएको छ ।

बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा पाँच वर्षयता इनार सुक्नेक्रम बढ्दै गएको छ। यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए । गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ । पानी अभावले बालीनालीसमेत सुक्न थालेको भङ्गाहा-४ रामनगरका नारायण दाहालले बताए ।

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको सङ्कट नटुङ्गिने भङ्गाहा–७ का वन, वातावरण र चुरे विज्ञ डा विजयकुमार सिंहले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?