+
+

ताप्लेजुङमा सुक्न थाले अलैँचीका बोट 

रासस रासस
२०७९ फागुन २८ गते १२:४०

२८ फागुन, फुङ्लिङ । ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो ।

खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको लिम्बूले बताउनुभयो ।

विगतका वर्षमा पुसको तोस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यस वर्ष भने खासै हिमपात भएको छैन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोत पनि कमी हुँदै गएको फक्ताङलुङ-५ का पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजु हेल्लोकले बताए । उनले भने, ‘खासै हिमालमा हिउँ परेको छैन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।’

सिरिजङ्घा गाउँपालिका–६ मामाखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष अनुकल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउनसक्नेमा माबोको चिन्ता छ । ‘यतिबेला पालो गरीगरी बोट भिजाउनुपर्ने हो’, उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ।’

साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ ।

‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्’, मेरिङ्देन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने । ‘केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मिसिन)बाट सिँचाइ गरिरहेका छन्।’

गत वर्ष माघभरीमा चार पटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसान बताउँछन् । न त हिमपात नै भएको छ । यतिबेला जिल्लाका बेंसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुखेसो छ ।

कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ ।

वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा भर्ने जोखिम अति हुन्छ । जमिन तातेका बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहात हुने किसानको भनाइ छ ।

हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन् । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । विगतमा एक मन (४० किलो) को रु एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो ।

अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची रु ३५ हजारमा खरिद बिक्री भइरेको फुङ्लिङ नगरपालिका–५ का व्यापारी दिनेश अधिकारीले बताए । गत साता रु ३२ हजारमा कारोबार भएको अलैँची बुधबार रु. ३५ हजारमा कारोबार भएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?