+
+

जुम्लामा फाइबरनेट : अनलाइन सपिङदेखि स्मार्ट टिभीसम्म पहुँच

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १ गते २०:३४

१ चैत, जुम्ला । जुम्ला कार्कीबडाका पूर्णप्रसाद न्यौपाने खलङ्गा बजारमा फेन्सी पसल चलाउँछन् । १० वर्षदेखि कपडाको ब्यापार गरिरहेका उनले गत महिना आफ्नो व्यवसायमा नयाँ प्रयोग गरे ‘अनलाइन सपिङ ।’

हिमाली जिल्ला जुम्लामा उच्च गतिको इन्टरनेट पाएपछि न्यौपानेलाई अनलाइन ब्यापार गर्न सहज भएको हो । ‘काठमाडौका मानिसहरु अनलाइनबाट सामान अर्डर गर्छन् भने जुम्लामा किन गर्दैनन् ? इन्टरनेट भरपर्दो भइदिए गर्छन् भन्नेमा म ढुक्क थिएँ’ न्यौपानेले भने । हालै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले फाइबरनेट जोडेपछि जुम्लामा अनलाइन ब्यापार सम्भव भएको हो ।

जुम्लामा वर्ल्डलिंक र अन्य कम्पनीका वायरलेस इन्टरनेट सेवा थिए । तर, त्यसबाट सर्वसाधारणले उच्च गतिको इन्टरनेट पाएका थिएनन् । वर्ल्डलिंकले हालै फाइबरनेट सेवा सुरु गरेपछि भने उच्च गतिको इन्टरनेट उपलब्ध भएको हो ।

चन्दननाथ इलेक्ट्रोनिक सेन्टरका रणप्रताप सिंहका अनुसार फाइबरनेट इन्टरनेटका कारण उनको पनि व्यवसायको स्वरुपमा परिवर्तन आएको छ । ‘जुम्लामा स्मार्ट टिभी चलाउने कुरा कुनै समय सपनाको मानिन्थ्यो, तर अहिले फाइबर नेटका कारण मानिसहरु स्मार्ट टिभी चलाउँछन्’ सिंह भन्छन्, ‘मैले व्यवसायमा फरक अनुभव गर्न पाएँ, स्मार्ट टिभी थपियो मेरो पनि व्यापारको दायरा बदलियो ।’

उनले कुनै डकुमेन्ट र भिडियो आफू डिलर रहेको कम्पनीको मुख्य कार्यालयमा पठाउन पहिला २५ मिनेटसम्म लाग्नेमा अहिले एक मिनेटमै पठाउन सक्छन् ।

चन्दननाथ नगरपालिका–५ का सुरेन्द्र बुढा पनि जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सुविधाले मख्ख छन् । बुधबार बजारमा भेटिएका उनले आफ्ना परदेश र काठमाडौंमा रहेका मानिसहरुलाई सजिलै अनलाइन कल गर्न सकेको बताए । ‘पहिले पनि इन्टरनेट थियो, तर घुमेको घुम्यै गर्थ्यो’, बुढाले भने, ‘अहिले सजिलै फोन लाग्छ ।’

चन्दननाथ– ३ का रविन बुढथापाले उच्च गतिको इन्टरनेटका कारण जुम्लेलीको दिनचर्यामै परिवर्तन ल्याइदिएको बताए । ‘हामीलाई संसारसंग सजिलै जोडिन मद्दत गर्‍यो, जुम्लाका अझै धेरै स्थानमा यस्तो इन्टरनेट फैलिनेमा हामी आशावादी छौं ।’

वर्ल्ड लिंकले जुम्लामा गत असारमा परीक्षणको रुपमा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको थियो । करिब ५ सय ग्राहकमा इन्टरनेट सेवा विस्तारपछि वर्ल्डलिंकले बुधबार जुम्ला सदरमुकाम खलंगामामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु भएको औपचारिक घोषणा गरेको छ ।

जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । अब जुम्लामा काठमाडौंकै गतिको इन्टरनेट सुरुवात भएको र कर्णालीका अन्य क्षेत्रमा पनि विस्तार गर्ने अग्रवालको भनाइ छ । ‘जुम्लामा वायरलेस इन्टरनेट थियो, अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं । संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुर्‍याइनेछ’, उनले भने, ‘यसको लाभ कर्णालीबासीलाई हुनेछ ।’

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले झण्डै ५ वर्षको मिहिनेतपछि कर्णालीमा फाइबर नेट जोड्न सफल भएको बताए । जुम्ला सदरमुकाममा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गर्न १५ करोड रुपैयाँ भन्दा धेरै लगानी गरेको नेपालको भनाइ छ । ‘अहिले एउटा सञ्जालबाट जोडिएको फाइबरनेट छिट्टै दोहोरो सञ्जालबाट जोडेर सेवा गुणस्तर थप विश्वसनीय बनाउने छौं’, उनले भने ।

वर्ल्डलिंकको लगानी हिस्सेदार बेलायती कम्पनी सीडीसी ग्रुपका अध्यक्ष श्री नार्गाजुनाले नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा बिस्तार हुँदा खुशी लागेको बताए । ‘यस्तै कार्यका लागि हामी थप लगानी बिस्तारमा सदैव तल्लिन छौं । हाम्रो साथले वर्ल्डलिंकलाई थप बलियो बनाउन मद्दत गर्नेछ’ नागार्जुनाले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?