+
+

स्ववियु चुनावमा पनि शान्त छ थापाथली क्याम्पस

लिलु डुम्रे लिलु डुम्रे
२०७९ चैत २ गते ९:१७

२ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आउन तीन दिन बाँकी छ । तर पनि, विगतको जस्तै रौनक क्याम्पस प्राङ्गणमा देखिँदैन ।

मूलधारका दलका संगठनलाई चुनाव लागेजस्तो देखिन्छ । बहुसंख्यक विद्यार्थीलाई भने स्ववियु निर्वाचनप्रति मोह छैन ।

सन्निकट स्ववियु निर्वाचनका लागि थापाथली क्याम्पसमा मूलधारका विद्यार्थी संगठनले तयारी गरे पनि चहलपहल भने ल्याउन सकेको छैन ।

थापाथलीमा चुनावी सरगर्मी नहुनुमा नजिकिएको परीक्षा प्रमुखकारण हो । चैत ५ मा निर्वाचनको मिति तोकिएको छ ।

चैत १५ देखि परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीहरुलाई स्ववियुको चुनावले छुन सकेको छैन । ‘विद्यार्थीहरुको ध्यान नजिक आएको परीक्षामा छ । जति यहाँ देखिएका छन् । चुनाव लागेर जम्मा हुनेहरु मात्रै हुन्,’ अखिल क्रान्तिकारी थापाथली क्याम्पसका अध्यक्ष सुशील क्षेत्री भन्छन् ।

क्षेत्रीले भनेअनुसार क्याम्पस परिसरमा सीमित विद्यार्थीहरु भेला भएका छन् । उपस्थितहरु स्ववियु निर्वाचनमा चासो हुनेहरु मात्रै छन् ।

सानो-सानो समूहमा छलफल गरिरहेका छन् । समूहमा छलफल गर्नेहरु पनि अधिकांश कुनै विद्यार्थी संगठनसँग आवद्ध छन् ।

विद्यार्थीहरुको उपस्थिति कम भएकाले क्याम्पस परिसर शान्त छ । नजिकिएको परीक्षाका कारण त्यसको तयारीमा विद्यार्थी जुटेका छन् । यस क्याम्पसको फरक विशेषता विरलै अध्ययन/अध्यापन रोकिनु हो ।

क्याम्पस प्राङ्गणमा विद्यार्थीहरु कम भेटिने भएपछि संगठनहरुले सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन् ।

फेसबुक र टिकटकलाई प्रचारको प्रमुख माध्यम बनाएको अनेरास्ववियुकी केन्द्रीय सदस्य प्रवेशिका खनालले बताइन् ।

 

नेरास्ववियुले खनाललाई आफ्नो संगठनलाई जिताउनका लागि प्रमुख भूमिका सुम्पेको छ । ‘बिहान सबेरैदेखि राति ८ बजेसम्म क्याम्पसमै हुन्छौं,’ खनाललले अनलाइनखबरसँग भनिन्, ‘प्रचार प्रभावकारी सामाजिक सञ्जालबाट हुने भएकाले पेज बनाएर प्रचार गरिरहेका छौं ।’

थापाथली कलेज परिसर । यहाँ खासै चहलपहल देखिएको छैन ।

१८५४ विद्यार्थीले अध्ययन गर्ने यस क्याम्पसमा स्ववियु चुनावका लागि मतदाता १७३८ छन् । प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको क्याम्पसमा सात फ्याकल्टीमा पढाइ हुन्छ ।

सिभिल, मेकानिकल, अटोमोबाइल, आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्प्युटर, इण्डस्टि्रयलका कक्षाहरु सञ्चालन हुन्छन् । सिभिलमा सबैभन्दा बढी १४४ जना र अन्य फ्याकल्टीमा प्रत्येकमा ४८ विद्यार्थीले अध्ययन गर्छन् ।

तालमेल नगर्नेमा अडिग

सत्ताघटक दलका संगठनले उपत्यकाका क्याम्पसमा तालमेल गर्ने निर्णय गरेपनि नेविसंघ र अखिल क्रान्तिकारीले यहाँ गठबन्धन नगर्ने भएका छन् ।

माथिल्लो तहबाट तालमेलका लागि दबाब दिए पनि क्याम्पस कमिटी तालमेल गर्ने पक्षमा देखिंदैनन् । नेविसंघको केन्द्रले तालमेल गर्न दबाब दिए पनि त्यसलाई अस्वीकार गरेको क्याम्पस इकाइका अध्यक्ष पुष्करविक्रम शाही बताउँछन् ।

सत्ताघटकमा तालमेल नहुनुको भित्री अन्तर्य अखिल क्रान्तिकारी तयार नहुनु पनि कारण रहेको छ ।

२०६५ र २०७३ मा प्यानल सहित निर्वाचित भएको अखिल क्रान्तिकारी तालमेल गर्ने पक्षमा देखिँदैन ।

अखिल क्रान्तिक्रारीका थापाथली क्याम्पस अध्यक्ष क्षेत्रीले तालमेलको औचित्य नरहेको बताए । नेविसंघ र अखिल क्रान्तिकारीलाई गठबन्धन बनाउन उपल्लो तहबाट दबाब भने आइरहेको ती संगठनका विद्यार्थी नेताहरु बताउँछन् ।

अनेरास्ववियु पनि कसैसँग तालमेल गर्ने पक्षमा छैन । अनेरास्ववियुले कुनै पनि संगठनसँग तालमेल गर्ने अवस्था नरहेको संगठनकी केन्द्रीय सदस्य खनाल बताउँछिन् ।

स्ववियु निर्वाचनका लागि पाँच विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिक्रारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र जनमत विद्यार्थी संघ स्ववियु चुनावका लागि दर्ता भएका छन् । स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ । आभा थापाले सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

जित्ने सबैको दाबी

थापाथली क्याम्पसमा नेविसंघको विरासतलाई २०६५ पछि अखिल क्रान्तिकारीले भत्काएको थियो । उक्तक्रम २०७३ मा पनि कायम राख्यो । थापाथलीमा इतिहासमै एकपटक जितेको बाहेक अनेरास्ववियुसँग सुखद इतिहास छैन ।

२०६५ अघिको विरासत पुनः स्थापना गर्ने तयारीमा नेविसंघ छ । नेविसंघ र अखिल क्रान्तिकारीलाई रोक्न अनेरास्ववियुले आफ्नो तागत भरपुर लगाइरहेको छ ।

निकट विगतको विरासत जोगाउने पक्षमा अखिल क्रान्तिकारी छ । मूलधारका विद्यार्थी संगठनबाट असन्तुष्ट रहेकाहरुको मत तान्न स्वतन्त्र उम्मेदवार लागेका छन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी सहित स्वतन्त्र उम्मेदवारले नतिजा आफ्नै पक्षमा आउने दाबी गरे । नेविसंघका थापाथली क्याम्पसका अध्यक्ष पुष्करविक्रम शाहीको नेतृत्वमा संघ चुनावी मैदानमा छ । संघबाट सचिवमा अविनाश झा, कोषाध्यक्षमा महेश बन्जाडे उम्मेदवार बनेका छन् ।

संघ भित्रको विवादले बागी उम्मेदवारी पनि परेको छ । संस्थापनइतरले सचिव र कोषाध्यक्षमा छुट्टै उम्मेदवार खडा गरेको छ । ठूलो संगठन भएकाले विवाद स्वाभाविक भएको सभापतिका उम्मेदवार शाही बताउँछन् ।

आन्तरिक विवादलाई साम्य गरेर नेविसंघले जित्ने उनले दाबी गरे । ‘हामीले उठाएका पपुलर फेस छन् । अरु संगठन भन्दा क्याम्पसमा हामी नै बलियो हौं,’ शाहीले भने । आफू भित्र नै एकढिक्का हुन नसकेको नेविसंघबाट लाभ लिने प्रयत्न अन्य संगठनको छ ।

अनेरास्ववियुले प्रविन थापाको नेतृत्वमा प्यानल खडा गरेको छ । प्रत्यक्षमा १० जना र समानुपातिकमा अनेरास्ववियुले ९ जनालाई उम्मेदवार बनाएको छ । ‘यसपटक १०० प्रतिशत जित्छौं । स्ववियु निर्वाचन राष्ट्रिय रुपमा नै अहिले अनरास्ववियुमय छ,’ अनेरास्ववियुको केन्द्रीय सदस्य खनाल दाबी गर्छिन् ।

विरासत जोगाएर जित्ने दाबी अखिल क्रान्तिकारीले गरेको छ । अखिल क्रान्तिकारी स्पन्दन थापाको नेतृत्वमा स्ववियु चुनावमा होमिएको छ । क्रान्तिकारीबाट सचिवमा मौसमदेव सुनार, कोषाध्यक्षमा सजना चौधरी र सदस्यहरूमा प्रेरणा भण्डारी, हरिविशाल कोइराला, राजीव अधिकारी, कृपेश यादव, समिर श्रेष्ठ, अस्लिम तामाङ, सुशान्त अधिकारी, आयुष पाठक उम्मेदवार छन् । उप सभापति (समानुपातिक)का लागि वीरबहादुर तामाङलाई क्रान्तिकारीले उम्मेदवार बनाएको छ ।

यसअघि दुईपटक जितेको इतिहासलाई कायमै राख्ने उक्त संगठनका क्याम्पस अध्यक्ष क्षेत्री दाबी गर्छन् ।

मूलधारका विद्यार्थी राजनीतिप्रति देखिएको वितृष्णाको लाभ उठाउने पक्षमा स्वतन्त्र उम्मेदवार छन् । विद्यार्थीका हक हितका पक्षमा सधैं अग्रसर रहेकाले आफूले जित्ने सभापतिको स्वतन्त्र उम्मेदवार आभा थापाले दाबी गरिन् ।

सबै विद्यार्थीको पक्षमा र मूलतः छात्राहरुको हकका लागि निरन्तर कार्य गर्दै आएको थापाले बताइन् ।

थापाले धृती नामक संस्था सुरु गरेर महिला र समलैंगिकको मुद्दा उठाउँदै आएकी छन् । ‘मैले उम्मेदवारी दिएपछि धेरै साथीहरु खुसी हुनुहुन्छ । राजनीतिक दलका संगठनमा साथीहरुको रुचि देखिन्न,’ थापाले अनलाइनखबरसँग भनिन् ।

दल निकटका असन्तुष्ट मत आफूतिर खस्ने उनको विश्वास छ । थापाको पक्षका केही पूर्व सभापतिहरुले समेत सहयोग गरेको परिसरमा भेटिएका एक विद्यार्थीले दाबी गरे ।

आरोप-प्रत्यारोप

क्याम्पस प्रमुख खेम ज्ञवाली र निर्वाचन समिति संयोजक राजकुमार चौलागाईं माओवादी निकट रहेकाले प्रशासनको दुरुपयोग हुने चिन्ता अन्य विद्यार्थी संगठनलाई छ ।

चुनावमा प्रतिस्पर्धामा उत्रेसँगै एक संगठनले अर्कोलाई आरोप लगाउन सुरु गरेका छन् । अघिल्लो दुई निर्वाचन जिते पनि अखिल क्रान्तिकारीले क्याम्पसमा विद्यार्थी हकका पक्षमा जिम्मेवारी निर्वाह गर्न नसकेको अनेरास्ववियु र नेविसंघको आरोप छ ।

अखिल क्रान्तिकारीले स्ववियु कार्यकाल रहँदा अनियमितता बढेको उनीहरुको दाबी छ ।

क्याम्पसलाई माओवादीकरण गरेको ती दुई संगठन विद्यार्थी नेताहरुले आरोप लगाए ।

अखिल क्रान्तिकारी अन्य संगठनले लगाएको आरोपको प्रतिवाद गर्छ । अनियमितताको आरोप लाग्नु अन्य संगठनले हारेपछि गरेको तर्क अखिल क्रान्तिकारीका नेता क्षेत्री बताउँछन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?