+
+
विचार :

स्वास्थ्य नष्ट गर्ने मानसिक तनाव

डा. अरुणा उप्रेती डा. अरुणा उप्रेती
२०७९ चैत २ गते १६:१८

एकजना गृहिणी जो बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान समयमा दूध आएन, धारामा पानी आएन, स्कुल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्न मसला सिद्धिएछ, धोबीले समयमा लुगा ल्याएन, बच्चाको स्कुलको बस छुट्यो,भान्सामा चिया हाल्दा सिसाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने भन्ने चिन्ता, श्रीमान्‌को घडी हरायो जस्ता दैनिक समस्यादेखि लिएर घरपरिवारमा बिरामी, विवाह, मृत्यु जस्ता ठूला समस्या लिएर उनी मानसिक तनाव वा दबाव भोगिरहेकी हुन्छिन् ।

बेलुकीपख उनको टाउको र ढाड दुख्छ । बिस्तारै–बिस्तारै महिनावारी अनियमित हुन थाल्छ । खानामा रुचि घट्दै जान्छ । निद्रा राम्रोसित लाग्दैन । मुटु बेस्कन ढुकढुक गर्छ । ओछ्यानबाट उठ्दा जीउ कसैले थिलथिलो हुने गरी पिटेजस्तो लाग्छ ।

उनी कुनै गम्भीर रोग लाग्यो कि भनेर अनेक खाले चिकित्सकहरूलाई देखाउँछिन् । तर समस्या पत्ता लाग्दैन । एकजना डाक्टर उनको समस्या शारीरिक नभएर मानसिक भएको हुनाले मानसिक रोग विशेषज्ञकहाँ जाने सल्लाह दिन्छन् ।

मानसिक रोग विशेषज्ञले उनको रोगको सम्पूर्ण विवरण लिन्छन्, उनको दिनचर्या, भावना र पारिवारिक वातावरणको बारेमा सोध्छन् र अन्त्यमा निष्कर्ष निकाल्छन्— तपाईंलाई कुनै पनि शारीरिक रोग भएको छैन । तपाईंको समस्या लामो समयसम्मको मानसिक तनावले गर्दा पैदा भएको हो ।

यसका लागि खास कुनै दबाईको जरूरत छैन तर तपाईंले आफ्नो दिनचर्यामा केही परिवर्तन गर्नुका साथै आफ्ना दैनिक जीवनका समस्या, पीर आदिका बारेमा घरपरिवारका व्यक्ति र श्रीमान्सँग कुरा गर्नुका साथै केही समय केवल आफ्नो लागि पनि खर्च गर्ने गर्नुपर्छ ।

डा. अरुणा उप्रेती

मानसिक रोग विशेषज्ञको यस्ता निदान र उपचारले उनको समस्या शतप्रतिशत नभए पनि ८० प्रतिशत हराएर जान्छ । अझै उनलाई कहिलेकाहीं मुटु ढुकढुक हुने समस्याले सताउँछ । तर उनलाई थाहा छ, यो कुनै शारीरिक रोग होइन । त्यसैले उनी समस्यालाई समाधान गर्न अन्य उपाय गर्छिन् ।

माथिको विवरणले आम गृहिणीहरूलाई आइपर्न सक्ने एउटा समस्याको तस्बिर प्रस्तुत गर्छ । जति–जति समाजको शहरीकरण हुँदै जान्छ, मानिसहरूका इच्छा–आकांक्षा बढ्दै जान्छन्, काम बढी गर्नुपर्ने भएकोले मानिसहरूलाई समय कम हुँदै जान्छ, त्यति त्यति मानसिक तनाव पनि बढ्दै जान्छ ।

गाउँघरमा यहाँ जीवन सहज छ, मानिसहरूलाई कुनै काम कुनै निश्चित समयभित्र भ्याउनु छैन, त्यहाँ मानसिक दबावहरू केही हदसम्म कम हुन्छन् । किनभने ग्रामीण समाजमा एकले अर्कालाई राम्ररी चिन्छन् । कतै कुनै समस्या परेमा सबैजना जम्मा भएर छलफल गरी उपाय पत्ता लगाउन कोसिस गर्छन् । त्यसैले कतिपय घरेलु समस्या पनि सार्वजनिक बन्न जान्छन् र एउटै व्यक्तिले सम्पूर्ण दबाव झेल्नु पर्दैन ।

शहरीकरणको प्रक्रियासँगै मानिसहरूको बानी–व्यवहार बदलिंदै जान्छ, परिवार र व्यक्ति एक्लिने प्रक्रिया बढ्दै जान्छ र समस्या पनि एक्लैले समाधान गर्नुपर्ने हुनजान्छ । त्यसपछि दैनिक जीवनका तनावलाई अलिअलि गर्दै झेल्दै जानुपर्छ र स–साना तनाव जम्मा हुँदै गएर यसले थाहा नै नपाइकन ठूलो रूप लिन पुग्छ ।

यसको परिणामस्वरुप अनेक किसिमका शारीरिक समस्या देखा पर्छन् । लामो समयसम्म तनाव भइरहेमा यही नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेसन (अवसाद) आदिमा परिणत पनि हुनसक्छ ।

त्यसैले उच्च रक्तचाप, मुटुको रोग कतिजनाले यिनलाई ‘आधुनिकताको रोग’ भनेर पनि संज्ञा दिएका छन् । पश्चिमी जगतमा भौतिक सुख–सुविधा सँगसँगै मुटुको रोग, उच्च रक्तचाप, मानसिक रोग जस्ता समस्या विशेषगरी शहरीकरण भएका ठाउँमा देखा पर्न थालिसकेका छन् । अचेल पत्रपत्रिकामा युवक वा युवतीद्वारा आत्महत्या गरेको समाचार दिनहुँजसो पढ्न पाइन्छ ।

अहिले आएर कतिसम्म भइसकेको छ भने बालबालिकामा पनि तनावले शारीरिक र मानसिक असर देखिन थाले भन्ने खबर पत्रपत्रिकामा पढ्न पाइन्छ, जुन आजभन्दा केही वर्ष अगाडि बिरामीमा कल्पना समेत गर्दैनथ्यौं ।

अब कल्पना गर्नुहोस्, कुनै कुरामा चित्त नबुझेर वा कसैसित वादविवाद भएर तपाईं घरबाट बाहिर निस्कनुभएको छ । बाटोमा हिंड्दा थाहा नपाइकनै तपाईंलाई साइकलले छुन्छ वा हतारमा कुनै मानिसको कुइनाले तपाईंलाई ठक्कर लाग्छ ।

अन्य अवस्थामा यस्ता कुरालाई तपाईंले वास्तै गर्नुहुन्नथ्यो होला, तर आज तपाईं आवेगमा हुनुहुन्छ । त्यसैले त्यस साइकलवालालाई समातेर गाली गर्नुहुन्छ वा ठक्कर दिने मान्छेलाई एकमुक्का हान्ने कोसिस नै गर्नुहुन्छ । एकैछिनमा त्यहाँ थुप्रै मानिस जम्मा हुन्छन् र तपाईंलाई अनेक प्रश्न सोध्न थाल्छन् ।

तपाईंको आवेग झन् बढ्दै जान्छ । दिनदिनै यस्ता स–साना काण्डले गर्दा तपाईंभित्र लगातार रिस, आवेग र चिड्चिडाहट पैदा भएपछि यसले तपाईंको सम्पूर्ण दिनलाई मात्र होइन बिस्तारै–बिस्तारै तपाईंका मुटु (मुटुका कोषहरू)लाई पनि नकारात्मक प्रभाव पार्छ ।

अमेरिकाको कोलम्बस शहरको ओहियो विश्वविद्यालयका मनोवैज्ञानिक टिलमर एन्गेब्रेस्टनले यस विषयमा अनुसन्धान गरेर के फेला पारे भने लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरूलाई बिगार्ने र शरीरमा नराम्रो खालको बोसो बढाउने काम गर्छन् । किन होला त लगातारको रिस, आवेग र आक्रोशले हाम्रो लागि यस्तो विष जस्तै काम गर्ने ? वैज्ञानिकहरूले अनुसन्धान गरेर यसको कारण पत्ता लगाएका छन् ।

तपाईंको आवेग झन् बढ्दै जान्छ । दिनदिनै यस्ता स–साना काण्डले गर्दा तपाईंभित्र लगातार रिस, आवेग र चिड्चिडाहट पैदा भएपछि यसले तपाईंको सम्पूर्ण दिनलाई मात्र होइन बिस्तारै–बिस्तारै तपाईंका मुटु (मुटुका कोषहरू)लाई पनि नकारात्मक प्रभाव पार्छ ।

रिस उठ्दा वा आवेगमा आउँदा हाम्रो मुटुको धड्कन र हाम्रो शरीरको एड्रेनालिन नामक तनावजन्य आन्तरिक रस (स्ट्रेस हर्मोन) बढ्न जान्छ । एड्रेनालिनले रक्तचापलाई बढाउँछ र यसले गर्दा शरीरका कोषिकामा भएको कोलेस्टेरोल रगतमा प्रभावित हुन्छ । ‘रिसाएको, तनाव वा दबावमा भएको र लगातार नकारात्मक सोचाइ राख्ने मानिसको रगतमा हामीले एड्रेनालिनको मात्रा बढी पाएका छौं’, डा. विलियम भन्छन् । जसले एङ्गर किल्स् (रिसले मार्छ) भन्ने किताबै लेखेका छन् ।

हामी कुनै मानिस धेरै रिसाउँछ भने ‘तिम्रो ब्लडप्रेसर बढेको छ कि क्या हो ? जँचाउन जाऊ’ भन्छौं । अर्थात्, सामान्यतया रिस, आवेग र उच्च रक्तचापको सम्बन्ध अब प्रायः सबैलाई थाहा भइसकेको छ । तर हामीमध्ये कसैलाई मात्र थाहा छ, हाम्रा अन्य विभिन्न शारीरिक रोग वा समस्या पनि मानसिक तनाव र चिन्तासँग नै सम्बन्धित हुनसक्छन् ।

ढाड दुख्ने रोग आजकाल हरेक तेस्रो व्यक्तिलाई छ । तिनीमध्ये कतिपयलाई ढाड वा हड्डीमा कुनै ठाउँमा खराबी पाइँदैन । तर त्यसको लागि अनेक थरीका औषधिको प्रयोग पनि गरिन्छ । दुखाइ कहिले कम हुन्छ, कहिले बढी हुन्छ, तर त्यसले छोड्नचाहिं कहिल्यै छोड्दैन ।

ढाड दुख्ने रोग जस्तै छालाका विभिन्न समस्या पनि मानसिक तनावसँग सम्बन्धित छन् । लगातार तनावमा भइरहने मानिसको अनुहार अँध्यारो र कालो हुन्छ । हामी कुनै मानिसलाई देखेर भन्ने पनि गर्छौं-‘कस्तो, जहिले पनि रिसाइरहने अनुहार !’ अथवा कुनै मानिसको उज्यालो अनुहार देखेर हामी भन्ने गर्छौं— ‘जहिले पनि हाँसेको हाँसेकै, केही चिन्ता पीर छैन कि क्या हो ?’

मानसिक तनावले शारीरिक व्यथालाई निम्त्याउँछ

जाँचको बेलामा विद्यार्थीलाई पखाला लाग्ने, वाकवाकी हुने, बिरामी हुने जस्ता समस्याले सताउँछन् । प्रायः यसको कारण बढी पढेकोले होला भनेर भनिन्छ । तर वास्तवमा त्यो बढी पढेर होइन, मानसिक चिन्ता र तनावले गर्दा हुनगएको हो । लगातार चिन्ता र तनावले गर्दा मुख सुक्खा हुने र पेटका विभिन्न रसहरूले राम्रोसँग काम नगर्ने हुनजान्छ । अनि खाएको राम्रोसँग नपच्ने, दिसा लागिरहने, पेट दुख्ने, पेटमा घाउ हुने आदि पनि देखा पर्छ ।

एकातिर चिन्ताले पेटमा घाउ पनि पार्छ भने अर्कोतिर हेर्दाखेरि मानिसले ठूल्ठूला दुःख र पीडालाई पनि बिर्सेर जीवन सुचारु रूपले चलाएको हुन्छ । जस्तै आफ्नो लोग्ने, स्वास्नी र छोराछोरीको मृत्यु, तथा ठूल्ठूला दुर्घटना, जस्तै; आगलागी, चोरी आदि समस्या हुँदा अब त जीवन अगाडि बढ्नै सक्दैन जस्तो लाग्छ । तर यी सबै समस्या समयसँगै कम हुँदै जान्छन् र मानिसको जीवन अगाडि बढिरहन्छ ।

तपाईं–हामीले कति परिवारमा देखेका छौं, कुनै महिलाले ठूलो दुर्घटना हवाई–जहाज वा बम विस्फोटमा परिवारका दुई–तीन जना सदस्य एकैचोटि गुमाउँछिन्, वा विवाह गरेको दुई–तीन वर्षमा नै श्रीमान्को मृत्यु हुन्छ, वा लामो समयको प्रतीक्षापछि गर्भवती भएर जन्मेको नाबालक शिशुको मृत्यु हुन्छ । यस्ता दुर्घटना पछि घरपरिवारका सदस्य र महिलाहरू रुने, दुखित हुने र ‘जीवन नै निरर्थक’ भन्ने आदि त हुन्छ । तर समय बित्दै गएपछि बिस्तारै यस्ता दुर्घटनाको बारेमा कुराकानी गर्दा मन केही दुःखी भएर आउने भए पनि जीवनचाहिं सामान्य अवस्थामा चलिरहन्छ ।

त्यस्तो बेलामा हामीलाई ओहो यस्तो दुःख पनि त्यस व्यक्तिले कसरी सह्यो होला वा बिस्र्यो होला जस्तो लाग्छ । तर वास्तवमा प्रकृतिले मानव शरीरलाई अनेक दुःखपूर्ण अवस्थाबाट पार भएर मानिस स्वस्थ जीवन जिउन सुरु गर्छ । तर अर्कोतिर दैनिक जीवनका स–साना घटना, तनाव, चिन्ता र घरपरिवारका समस्याले चाहिं मानिसहरूलाई दीर्घरोगी बनाउन सक्छ ।

वास्तवमा पश्चिमी जगतका विभिन्न वैज्ञानिकले के सिद्ध गरिसकेका छन् भने मानिसको शरीरमा चिन्ता, पीर, खुसी, सकारात्मक र नकारात्मक भावना सबैले शरीरका कोषिकामा असर पार्छन् । त्यही कारणले गर्दा मानवीय भावनासँग शरीरभित्रको हर्मोन (आन्तरिक रस) पनि बढ्ने वा घट्ने प्रक्रिया हुन्छ ।

‘मानसिक चिन्ताले ग्रस्त भएका व्यक्तिहरूमा रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ’ चिकित्सा विज्ञानमा नोबेल पुरस्कार प्राप्त गर्ने न्यूरोबायोलजिस्ट रिता भी मान्टालसिनी बताउँछिन्, ‘यसका बारेमा हामीलाई पहिलादेखि नै थाहा भए तापनि कोषिकाहरूको अनुसन्धान गर्न सकेका थिएनौं । तर हाल आएर मेरा विभिन्न अनुसन्धानबाट के देखिएको छ भने मानसिक तनावले विभिन्न कोषिका, ग्रन्थी र अङ्गहरूमा ठूलो प्रभाव पार्दछन् ।’

भावनात्मक असर प्रत्येक मानिसको जीवनमा परिरहेकै हुन्छ । तर कुनै मानिस तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने हाम्रो दृष्टिकोण कस्तो छ त्यसले हाम्रो शरीरमा असर पारिरहेको हुन्छ । मानसिक तनाव भन्ने बित्तिकै केवल नकारात्मक मात्र हुँदैन, सकारात्मक पनि हुन्छ ।

यसैले चिन्ता र पीरले ग्रस्त भएको मानिसलाई घरी–घरी रुघाखोकी लाग्ने भइरहन्छ । हाल आएर विभिन्न अनुसन्धानले मानव शरीरमा क्यान्सर रोगको पनि मानवीय संवेदना, आवेग र विशेषगरी नकारात्मक भावनासँग ठूलो सम्बन्ध रहेको कुरा स्पष्ट हुँदै आएको देखाएका छन् ।

भावनात्मक असर प्रत्येक मानिसको जीवनमा परिरहेकै हुन्छ । तर कुनै मानिस तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने हाम्रो दृष्टिकोण कस्तो छ त्यसले हाम्रो शरीरमा असर पारिरहेको हुन्छ । मानसिक तनाव भन्ने बित्तिकै केवल नकारात्मक मात्र हुँदैन, सकारात्मक पनि हुन्छ ।

जस्तै, सुत्केरी पत्नी भएर बच्चा हुने बेलामा अस्पतालको ढोकाबाहिर आफ्नो हुनेवाला बच्चाको बारेमा जान्न पर्खिरहेको पिताको व्यग्रता, स्कुल छुट्टी भएपछि अनेक किसिमको रमाइलो कार्यक्रम बनाउनमा सरिक स्कुलको विद्यार्थीको छटपटी, लामो रमाइलो चाडमा जानुभन्दा अगाडि घरमा गर्नुपर्ने कामको बारेमा विचार गर्दै रहेकी गृहिणीको बेचैनी, कहिल्यै प्लेन नचढेको व्यक्तिले पहिलोचोटि प्लेन चढ्दा मनमा कस्तो–कस्तो लागेको अनुभव आदि केही सकारात्मक तनाव हुन् । सकारात्मक मानसिक तनावले पनि शरीरभित्र पर्याप्त मात्रामा सकारात्मक प्रभाव पैदा पारिरहेका हुन्छन् ।

त्यस्तै प्रकारले घरमा बिरामी मान्छेको हेरचाह गर्ने गृहिणी, सामान्य ठाकठुक परेर बोलचाल बन्द गरेका श्रीमान्–श्रीमती, स्कुलमा बच्चाले जाँचमा कम नम्बर ल्याउँदा बच्चालाई पिट्ने, झपार्ने, कराउने मातापिता आदिमा चाहिं नकारात्मक मानसिक तनाव परिरहन्छ । वास्तवमा मानिसको मनमा भएका सकारात्मक र नकारात्मक दुईवटै कुराहरू उसको अनुहारमा स्पष्ट देख्न सकिन्छ । यसको मुख्य कारण शरीरभित्र हुने आन्तरिक प्रक्रिया नै हो ।

मानसिक तनावलाई हटाउने केही उपाय

त्यसो त आधुनिक मानसिक तनावलाई हटाउन सकिंदैन । तर कुनै समस्यालाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सक्नुहुन्छ । जस्तै, कुनै दिन घर फोहोर भएको बेलामा पाहुना आए भने तपाईं भित्रभित्रै मुर्मुरिनुहुन्छ । यसलाई तपाईंले कुचो लगाउन पाउनुभएन भन्ने सोचेर श्रीमान्सँग रिसाउँदै बच्चालाई झापड हिर्काउनुभन्दा अर्कै दृष्टिकोणले हेर्न सकिन्छ ।

‘पाहुनाहरू आउँदा घर केही फोहोर त भयो । तर आफ्नै घर हो सफा भइहाल्छ । पाहुनाहरू कुनै अर्कै लोकका मानिसहरू होइनन् । चिनेजानेका मान्छे त हुन् नि !’ सोचाइमा यसरी साधारण परिवर्तन हुने बित्तिकै तपाईंको मनमा विषालु तत्व पस्न पाउँदैन ।

आजको समाजमा हामी सबैलाई आर्थिक समस्या थोरबहुत मात्रामा अवश्य पर्छ । यस्तो बेलामा श्रीमान् र श्रीमतीको बीचमा हुने ठाकठुकले उनीहरूमा मात्र तनाव बढ्ने होइन कि यसको असर बच्चाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत पर्न जान्छ । आर्थिक समस्यालाई आजको भोलि नै सुल्झाउन सकिन्न ।

मानसिक तनाव कम गर्ने अर्को उपाय हो– शारीरिक व्यायाम । तपाईं भन्ठान्नुहोला, दिनभरि शारीरिक काम गरिन्छ, फेरि किन चाहियो र शारीरिक व्यायाम ? लगातार गरिरहने कामले गर्दा वाक्कलगाइ नै तनावको कारण बन्न जान्छ । अनि त्यही तनावले फेरि स्वास्थ्यमा नराम्ररी प्रभाव पार्न सक्छ । त्यसैले बिहान–बेलुका हिंड्ने, कसरत गर्ने र केही नभए साथीहरूकहाँ गएर गफ गर्ने गरेर तनाव घटाउन सकिन्छ ।

धार्मिक आस्था छ भने मन्दिरमा गएर भजन सुन्ने, आफैं भजन गर्ने आदिले पनि तनाव घटाउने काममा सहायता दिन सक्छन् । त्यस्तै योगसाधना पनि सहायक हुनसक्छ ।
हिंडाइले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने विभिन्न अनुसन्धानले बताएका छन् । हिंड्दा, दौड्दा, खेल्दा, हाँस्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन् । तिनले शारीरिक तनावबाट पैदा हुने विषालु तत्वका असर हटाउनमा मद्दत गर्छन् ।

आजको समाजमा हामी सबैलाई आर्थिक समस्या थोरबहुत मात्रामा अवश्य पर्छ । यस्तो बेलामा श्रीमान् र श्रीमतीको बीचमा हुने ठाकठुकले उनीहरूमा मात्र तनाव बढ्ने होइन कि यसको असर बच्चाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत पर्न जान्छ । आर्थिक समस्यालाई आजको भोलि नै सुल्झाउन सकिन्न ।

तर आफ्ना जरूरतहरू कम गरेर चाहिं केही हदसम्म बच्न सकिन्छ । कसैले विवाह भोजमा बोलाउँदा हरेकचोटि नयाँ लुगा र नयाँ गहना किन्नैपर्ने बाध्यताबाट आफूलाई मुक्त गर्न सक्नुभएमा पनि आर्थिक समस्या र मानसिक तनावबाट बच्न सकिन्छ ।

लेखकको बारेमा
डा. अरुणा उप्रेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?