+
+

‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १९:१४

२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण भएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पिप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम (एफएसएसपी) को वित्तीय सहयोगमा एसआईएस निर्माण भएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए । वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्यांक आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले उक्त आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढिकरणको निम्ति बेलायत सरकार सँधै प्रतिबद्ध रहेको बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एसआईएसको कार्यान्वयन नेपालको वित्तीय प्रणालीको लागि ‘कोसेढुङ्गा’ सावित भएको बताए । उनले यसको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

एसआईएस अनलाइन प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम हो । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने तथ्यांक र सूचना यसै प्रणालीमार्फत पेश गर्छन् । स्वाचालित प्रणालीबाटै ती तथ्यांकको प्रशोधन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?