
३ चैत, काठमाडौं । नेपालका तीन खेलाडीले वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् ।
मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने छन् । प्रशिक्षकमा कान्छा खड्गे छन् । टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।
टोलीलाई नेपाल टेनिस संघकी सचिव मालिका राणा र सदस्य अजय विष्टले शुक्रबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाली ब्राण्ड केटीएम सिटीको सहयोग रहेको नेपाली टिमले मलेसियामा उत्कृष्ट प्रर्दशन गर्ने प्रशिक्षक कान्छा खड्गेले बताए । उनले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागिता जनाउन पाउने उल्लेख गरे ।
प्रशिक्षक खड्गेले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास ब्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाक सुट, जुत्तालगायतको सामाग्री प्रायोजनको रुपमा सहयोग गरेको छ ।
यू–१४ गर्ल्स विधाको यस प्रतियोगितामा नेपाल सहित १६ देशका खेलाडीले सहभागिता जनाउनेछन् । नेपालीको जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो ।
प्रतियोगितालाई अन्तराष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ । नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ र केटीएम सिटीकी एचआर हेड नेहा चित्रकारले सहभागी खेलाडीलाई शुक्रबारै एक छुट्टै कार्यक्रममा बिदाइ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4