+
+

कला र कार्टुनका समानान्तर वात्स्यायन

सुरेश रानाभाट सुरेश रानाभाट
२०७९ चैत ४ गते १३:१०

नेपाली व्यङ्ग्यचित्रका क्षेत्रमा दुर्गा बराल वात्स्यायनका नामले प्रख्यात छन् । कार्टुन कर्मले नै उनलाई व्यङ्ग्य चित्रको उचाइसम्म पुर्‍याएको छ । नेपाली समाजका विकृति, विसङ्गति र वेथितिलाई थोरै शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्नु उनको मौलिक विशेषता हो ।

उनका कार्टुनले खबरदारी मात्रै होइन समाजमा जनचेतना पनि फैलाएको छ । धेरै शब्द खर्चिएर पनि भन्न नसक्ने कुरा उनले कार्टुनका माध्ममबाट पस्कदा भ्रष्टहरूको सातो गएको छ । वात्स्यायनले श्याम व्यंग्य प्रहार गर्दा नागरिकलाई स्वाद पर्छ ।

वात्स्यानका कार्टुन समाजको ऐना हो । सशस्त्र युद्धकालमा विद्रोही पक्षले मान्छेलाई झुण्ड्याउने र सेनाले नागरिक अधिकार हनन गरेको यथार्थलाई ‘हुयमन राइटस’ कार्टुनले चोटिलो प्रहार गरेको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको काँधमा राजतन्त्री रूपी मरेको घोडा बोकाउँदा होस् वा भ्रष्टाचारीको दोहोलो काड्न उनका कार्टुनले समाजिक सचेतना फैलाउन सहयोग गरेको छ ।

पोखरा आफैंमा सुन्दर शहर हो । सबैले देख्ने पोखरालाई क्यानभासमा लेख्ने बराल पानी रङ चलाउँछन् । पानी रङ चलाउनु क्यानभासमा जोखिम हुन्छ । सानो मात्रै त्रुटि भयो भने सच्याउने ठाउँ नै हुँदैन । जोखिम मोलेरै उनले पोखरालाई पानी रङको पाठशाला बनाइदिए, कलाको राजधानी घोषित गरिदिए ।

पोखरालाई ‘स्कुल अफ वाटर कलर’ का नामले चिनाउन बरालको महत्वपूर्ण योगदान छ । सञ्चारमाध्यममा आउने कार्टुनले गर्दा उनको कला छायाँमा परेको जस्तो लागे पनि चित्रकारिता उनको मूल विधा हो । २०३० सालमा नाफामा एकल कला प्रदर्शनी गरेका बरालले कलालाई आजसम्म पनि माया गरिरहेका छन् । उमेरले ८१ लागेका वात्स्यायनले मोतिविन्दुका कारण गतवर्षदेखि कला र कार्टुन सिर्जना गरेका छैनन् । आँखाको उपचारपछि फेरि त्यही सिर्जनशील समय कुरिरहेका छन् ।

मुलक राणा शासनको अँध्यारो कम्बलमा उकुसमुकुस थियो । वि.सं. १९९९ चैत ५ गते साविक आर्बा हालको पोखरा महानगरपालिका-१३ मा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका हुन् दुर्गा बराल । हरिवंश र कलावतीका जेठा छोरा दुर्गाले तीन वर्षको उमेरमै आमा गुमाएपछि बुबा पनि भारत गए, उनी फुपुको रेखदेखमा हुर्किए । घरमै अङ्क, अक्षर चिनेका उनले ८ वर्ष भएपछि मावली घर नदिपुर आएर तत्कालिन नेसनल मल्टिप्रपोज हाइस्कुलमा पढ्न थाले ।

वि.सं. २०१८ सालमा एसएलसी पास गरे । ग्राफिक्स आर्टमा जापानको टोकियोमा २०२६ सालमा तालिम लिएका बरालले त्रिभुवन विश्वविद्यालयबाट २०३५ सालमा स्नातक उत्तीर्ण गरेका छन् । बराल कला र कार्टुन दुवै विधामा सिद्धहस्त मानिन्छन् ।

उनले काठमाडौंका सुरुवाती दिनमा घरेलु शील्प कलामा ३ महिना काम गरे । २०२२ सालमा जनक शिक्षा सामग्री केन्द्रमा काम सुरु गर्दा बरालले चर्को सङ्घर्ष गरे । कला जानेका तर कार्टुनको खासै ज्ञान नभए पनि नयाँ सन्देशका सम्पादक रमेशनाथ पाण्डेले उनलाई कार्टुनिस्टका रूपमा राखे तर कार्टुनको अवधारणा भने पाण्डे आफैंले दिने गर्थे ।

लेखक सुरेश रानाभाट ।

जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरमा २०२२ सालदेखि २०२६ सालसम्म इलस्ट्रेटरका रूपमा काम गरेका बरालले आफ्नै घरपायक पृथ्वीनारायण क्याम्पसमा पोखरामा २७ वर्षसम्म कला प्रशिक्षकको जागिरे जीवन बिताए । काठमाडौं बसाइको क्रममा व्यंग्य चित्रकारका रूपमा बरालले २०२२ सालदेखि २०२४ सालसम्म नयाँ सन्देश साप्ताहिकामा कार्टुनहरू बनाउन थाले ।

त्यसबेलाका नाम चलेका पत्रपत्रिका राष्ट्रपुकार, मातृभूमि, प्राङ्गण, देशान्तर, सुरुचि, गोरखापत्र र कान्तिपुर दैनिकमा उनका कार्टुन प्रकाशन भएका छन् ।

आफूलाई कलाकारका रूपमा हेर्दा वात्स्यायनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आइएस्सी पढ्दा वायोलोजी पढाउने डा.एलियामा जोनले आर्टिस्ट बन्ने प्रेरणा दिएको सम्झिए ।

बरालका कलाकृतिहरू पोखरा र नेपालमा मात्रै नभई विभिन्न देशहरूमा प्रदर्शन मात्रै भएनन् विदेशीले समेत उनको कला रुचाए । रुसको म्युजियम अफ ओरियन्टल आर्टमा नेपाली कला प्रर्दशनी गरेका उनले जापानको फुकुओकामा २०३७ सालमै कन्टेम्प्रोररी आर्ट सो गरे ।

इटली, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, तिब्बत, ,भारत, बङ्गलादेशमा उनले समूहगत कला प्रदर्शनी गरेका छन् । उनले ६ पटक एकल प्रदर्शनी र सामूहिक रूपमा १ सय ५० वटा जति प्रदर्शनी गरेका छन् । २०४० सालमा उनले ‘चोक र तमसुक’ शृङ्खलाका कला प्रदर्शनी गरे र जसले नेपाली समाजको यर्थाथलाई झल्काएको छ ।

नाट्य सम्राट बालकृष्ण सम जो कला पारखी थिए, काठमाडौंमा भएको पहिलो एकल चित्रकला प्रर्दशनीमा बराललाई ‘साल्भा डोर डाली’ को उपमा दिएका थिए । २०२६ सालमा पोखरा आएर उनले मोहोरियाटोलमा इगल आर्ट स्टुडियो खोले । पोखरा आउने विदेशी पर्यटकले उनका कला किनेर लान थाले । ७५ रूपैयाँमा उनका कला हानथाप गर्दै बिक्री भए । पछि सय हुँदै हजार र लाखसम्म उनको कलाले मूल्य पायो ।

पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष, सम्मानित आजीवन सदस्य एवं सल्लाहकारका रूपमा हरेक बैठक र कार्यक्रममा उनको उपस्थितिले विशिष्टता थपेको हुन्छ । पोखराको कलाकारितालाई क्रियात्मक अभियानमा अगाडि बढाउन उनको योगदान छ ।

सिर्जनशील कलाकार समूहका संस्थापक सचिव र अध्यक्ष भएर कलाकारलाई सङ्गठित बनाइ सामूहिक कला गतिविधि र तत्स्थानीय चित्राङ्कनमा गाउँघर जाने परम्पराको थालनी ३० को दशकबाटै गरेका हुन् ।

नेपाली कला र कार्टुनमा विशिष्ट योगदान दिएका बराल विभिन्न मानसम्मान र पुरस्कारबाट विभूषित छन् । सर्वोत्तम कला पुरस्कार २०३८, शिरोमणि पुरस्कार २०४९, नवरत्न सम्मा २०५९, विपी कोइराला पत्रकारिता पुरस्कार २०६९, गोपालदास पत्रकारिता पुरस्कार २०६३, प्रेस स्वतन्त्रता सेनानी २०६४, राष्ट्रिय प्रतिभा पुरस्कार २०६४, जगदम्बाश्री पुरस्कार २०७३ बाट बराल सम्मानित छन् ।

आफूले पाएको पुरस्कार राशीमा थप गरेर बरालले ललितकला पुरस्कार स्थापना गरे जसको सञ्चालनको जिम्म पोखेरली युवा साँस्कृतिक परिवारलाई दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य बराल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कूलपति हुन अस्वीकार गरिदिए ।

बरालले सानै उमेरदेखि धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई नेपाली चित्रकारितालाई यथार्थवादी धारमा डोर्‍याउन उल्लेखनीय योगदान दिएका छन् । उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेका छैन, थुप्रै अनुजहरूलाई दीक्षित पनि गरेका छन् ।

पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने जस उनलाई जान्छ । फोटोग्राफी कलालाई व्यवसायिक बनाउन पनि उनको योगदान रहेको छ । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देश विदेशसम्मै चम्किएका कलाकार बराल पोखरा र देशकै अमूल्य रत्न हुन् ।

साधारण जीवन शैली अपनाउने बराल आफूलाई आम मानिस ठान्छन् । जीवनमा धेरै नै मानसम्मान र अभिनन्दन पाएका उनले भव्य समारोह आफूलाई असहज लाग्ने बताउँछन् । पोखरेली युवा साँस्कृतिक परिवारले आफ्ना सम्मानित आजीवन सदस्य एवं सल्लाहकार दुर्गा बराल वात्स्यानलाई रथारोहण गराएको छ ।

चैत ४ गते शनिबार बराल ८० पूरा गरी ८१ वर्ष प्रवेशको छेको पारेर पोखराका अन्य ३१ ओटा वाङ्मयिक संस्थाले पनि नेपाली चित्रकलाका शिखर व्यक्तित्व साथै व्यङ्ग्यचित्रका वादशाह वात्स्यायनलाई अभिनन्दन गरेका छन् । उनको निवास नदिपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?