+
+
निफ फिल्म फेस्टिभल :

हाम्रो फिल्मलाई विश्वमाझ लैजान लोकल कथा टिप्नुपर्छ : स्वस्तिमा खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ७:५३

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) क्यूएफएक्स र पर्यटन बोर्डमा चलिरहेको छ । शनिबार नेपाली फिल्मका दर्शकमा आएको विकास र कास्टिङ अभ्यासलाई लिएर केही महत्वपूर्ण विमर्श भए ।

तेस्रो दिनमा ‘हेर्दाहेर्दै कहाँ पुगियो’ विषयमा फिल्मकर्मीबीच अन्तरसंवाद भयो । पर्यटन बोर्डमा चलेको प्यानल छलफलमा निर्माता अशोक शर्मा, निर्देशक सुजित बिडारी र अभिनेत्री स्वस्तिमा खड्का वक्ता थिए । फिल्ममा पहिले र अहिलेका दर्शकको सोचलाई लिएर छलफल चलेको थियो ।

निर्माता शर्माले दर्शकले स्टारबाट अपेक्षा गर्ने बताए । ‘पहिला थोरै फिल्म बन्थे । त्यसबेला कोही स्टार पनि थिएन । अहिले धेरै फिल्म बन्छन् र स्टार पनि धेरै छन् । त्यसकारण सायद दर्शकले पनि स्टारबाट अपेक्षा गर्छन्’ उनले भने ।

पहिला प्रतिभा देखाउन फिल्म नै खेल्नुपर्ने तर अहिले चाहिँ टिकटक लगायतका प्लेटफर्म उपयोग गर्न सकिने धारणा उनको थियो । पहिले दर्शक र स्टारको भेट फिल्म चलेको ५१ दिने कार्यक्रममा मात्र हुने बताउँदै शर्माले अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्ने धारणा राख्ने बताए ।

शर्मालाई लाग्छ स्टार धेरै हलुका हुनुहुँदैन र दर्शकको प्रत्यक्ष सम्पर्कमा रहनुहुँदैन । ‘हिजो जे जस्ता फिल्म बनेपनि अब भने हामीले हाम्रा लोकल स्टोरीलाई नै ग्लोबलमा लैजाने उद्देश्य राख्नुपर्छ’ उनले भने ।  अभिनेत्री खड्काको पनि ठम्याइ यस्तै छ । पहिले मनोरञ्जनको विकल्प कम हुने तर अहिले विकल्प धेरै हुँदा आफ्नो कुरा भन्न फिल्म नै खेल्नुपर्छ भन्ने जरुरी नभएको बताइन् ।

पछिल्लो समय एकै किसिमका फिल्म रिलिज भैरहेको बताउँदै उनले भनिन्, ‘अहिले ३ सय मुभी एउटै खाले बन्छन् र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ । त्यसकारण दर्शकलाई बानी बनाउन अप्ठ्यारो परेको हो । तर, क्रिएटिभ फिल्मलाई दर्शकले माया गर्छन् नै’ उनले भनिन् ।

उच्च संख्यामा नेपाली फिल्मका दर्शक रहेको बताउँदै उनले हलमा तान्न प्रयत्न गर्नुपर्ने बताइन् । ‘नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिन । हलमा कम भएपनि युट्युवमा प्रशस्तै दर्शक छन् । हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ । दर्शक थिएनन् भने यस्तो हुन्न थियो’ उनले भनिन् ।

पहिला फिल्म हल किफायती भएपनि अहिले महंगो भएकाले दर्शकले युट्युव रिलिज पर्खनुपर्ने बाध्यता रहेको स्वस्तिमाको ठम्याइ छ । ‘हाम्रा फिल्मलाई विश्वमाझ लैजाने हो भने लोकल कथालाई टिप्नुपर्छ’ उनी भन्छिन् ।

वक्ताको रुपमा यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारी पनि थिए । मोबाइल, ल्यापटप र फोनले हलको मजा दिन नसक्ने बताउँदै फिल्मको क्रेज कहिल्यै नघट्ने तर्क गर्छन् ।

भन्छन्, ‘फिल्मको क्रेज कहिल्यै घट्दैन जस्तो लाग्छ मलाई । आफ्नै आँखा अगाडि फरक पात्र, जीवन र समाज देख्न पाइने हुनाले मान्छेमा क्रेज रहेको हो । रहिरहन्छ पनि । अनि सिनेमा हलको पनि क्रेज सकिदैन । किनभने मोबाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन् ।’

प्रशस्तै संख्यामा फेन्टासी हेर्ने नेपाली दर्शक रहेको बताउँछन् । ‘फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला । तर उनीहरु दीपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन् तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन्’ उनी भन्छन् ।

फिल्म निर्माताले आफ्नो बाटो तय गर्नुपर्ने उनको सुझाव छ । भन्छन्, ‘मेकरले आफ्नो रुट बनाउनु पर्छ । रुट बनाउन सकिएन भने कहिँ पुग्न सकिदैन ।’

निफ सोमबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?