+
+
गफ स्टेसनमा शंकर अधिकारी ‘घायल’ र बाबुल गिरी :

लय बनाउँदै, शब्द कोर्दै तयार पारिएको ‘सिरुपाते जुँगामा’

‘मलाई प्रत्यक्ष गाउन सक्दैन, ट्युनरले मिलाएको होला भनेर धेरैले टिकटकतिर कमेन्ट गरेका हुन्छन् । आज म अनलाइनखबरको गफस्टेसनमा गाएरै सुनाइदिन्छु,’ यसो भन्दै बाबुल गिरीले सुरिलो भाका हाले ।

खेम रिसाल खेम रिसाल
२०७९ चैत ५ गते १४:५७

काठमाडौं । ‘मलाई प्रत्यक्ष गाउन सक्दैन, ट्युनरले मिलाएको होला भनेर धेरैले टिकटकतिर कमेन्ट गरेका हुन्छन् । आज म अनलाइनखबरको गफ स्टेसनमा गाएरै सुनाइदिन्छु,’ यसो भन्दै बाबुल गिरीले सुरिलो भाका हाले ।

सिरुपाते जुँगामा दाहिने हातको ताउ

माया आउन वर आउन अनि च्याप्प हात समाऊ

तैं मोरीको शिरैमा फुर्के रिबन

ढलक ढल्क्यो जीवन अब लाउँन माया लाउँ

अकबरी सुनलाई कसी लगाउन पर्दैन भने झैं उनको स्वरमा थप लिपपोत गर्न जरुरी थिएन । स्वर माझिएको थियो र मिठासपूर्ण पनि । चिनाइरहनु परेन, उनी अहिलेको चर्चित गीत ‘सिरुपाते’का गायक तथा संगीतकार हुन् । बाबुलसँगै यसपालि गीतकार शंकर अधिकारी ‘घायल’ पनि थिए ।

गफ स्टेसनमा गफिन आएका बाबुलले यसो भन्नुको पछाडि एउटा खास पृष्ठभूमि रहेछ । यसका लागि करिब एक दशक अगाडि फर्कनुपर्ने हुन्छ ।

गायन रियालिटी शो नेपाली तारा सिजन-३ मा बाबुल प्रतिस्पर्धीको रुपमा भाग लिन पुगेका थिए । तर त्यो कार्यक्रममा उनकै शब्दमा भन्नुपर्दा बाबुलको ‘बेइज्जत’ भयो । केटाको जस्तो स्वर नभएकोदेखि सुर नलागेको र एक जजले माइक नै खोसेर बाहिर पठाएको घटना उनका लागि बिर्सनै नसक्ने तीतो घटना हो ।

‘ममा कमी कमजोरी थियो होला । उहाँहरुले सोचेजस्तो गाइनँ होला, सुर पनि लागेन होला । तर यसरी लगाउने सुर भनेर गाएर सुनाइदिनुभएको भए म सेलेक्ट नभएपनि खुसी भएर फर्किन्थें,’ बाबुल भन्छन्, ‘तर पटकपटक मेरै प्रोमो बजाएर कार्यक्रम निर्माताले समेत बेइज्जत गरे । उस्तै कमजोर मुटुको भए त मैले आत्महत्या नै गर्थें होला ।’

उक्त घटनाले सिन्धुपाल्चोकबाट गायक बन्नकै लागि काठमाडौं आएका बाबुललाई कमजोर होइन थप ऊर्जा दियो सांगीतिक क्षेत्रमा केही गरेरै छाड्नका लागि । पछि उनले सोही शोका जजलाई आफ्नै संगीतमा गीत गाउन समेत लगाए । ‘पछि उहाँलाई नै गीत गाउन लगाएँ, एउटा गीत हजुरकै लागि बनाएको छु गुरु भनेर फोन गरेको थिएँ । डमी पठाउनु भन्नुभयो, पछि सहजै गाइदिनुभयो । यो मेरो लागि ठूलो कुरा थियो,’ बाबुल सुनाउँछन् ।

हारले निखार ल्याउँछ, यो हो नि तरिका, तिम्रै माया लगायत गीत सार्वजनिक गरिसकेका बाबुलले पाँच वर्षको सांगीतिक करिअरमा झण्डै एक हजार गीतमा संगीत भरिसकेका छन् । उनको पछिल्लो गीत ‘सिरुपाते जुँगा’ अहिले सर्वाधिक रुचाइएको छ । युट्युबको नेपाल ट्रेन्डिङमा फिल्म ‘छक्कापञ्जा ४’मा समावेश यो गीत एक साताभन्दा बढी समयदेखि एक नम्बरमा छ ।

दर्शक-श्रोताको यत्तिका मन जितेको यो गीतको सिर्जना चाहिं कसरी भयो त ? गीतकार अधिकारी भन्छन्, ‘बाबुलजी स्टुडियोमा बसेर काम गरिरहनुभएको बेला एउटा गीत लेख्नुपर्‍यो गुरु भनेर मलाई बोलाउनुभयो । म पुगें अनि केहीबेरमा शौचालय गएर आएपछि सिरुपाते जुँगमा दाहिने हातको ताउ भन्ने शब्द फुर्‍यो । हामी दुवैलाई यो शब्द मन पर्‍यो । त्यसको पाँच-सात मिनेटमा बाबुलजीले कम्पोज गरिहाल्नुभयो अनि त्यही ट्युनमा गीत लेखेर पूरा गरें । १५-२० मिनेटमा त गीत नै सकियो ।’

खासमा यो गीत उनीहरुले फुटकर रुपमा ल्याउने सोचले गरिराखुँ न भनेर सिर्जना गरेका रहेछन् । पछि बाबुलले गीत बनेपछि अभिनेता दीपकराज गिरीलाई पठाएछन् । दीपकले ‘गीत राम्रो छ’ भने तर अरु कुरा केही अघि बढेन । पछि दीपकले बाबुललाई फोन गरेर ‘हाम्रो टिमले गीत मन परायो, काम अघि बढाउँदै गर्नु’ भनेछन् । त्यसपछि बाबुले गीतलाई एरेन्ज गरेर आफ्नै डमी आवाज भरेर पठाएछन् ।

‘केही समय प्रतिक्रिया आएन । हामी पनि अरु काममा लाग्यौं । अलि पछि फेरि दीपक दाइको फोन आयो- गीत हामी सुटिङ गर्दैछौं भाइ, भन्नुभयो,’ बाबुल सम्झिन्छन्, ‘तर हामीले युगल बनाएको गीत डमीमा सिंगल भोकल मात्रै थियो । पछि दीपक दाइको आग्रहमा केही शब्द मिलाएर मेल भोकलमा मात्रै राख्ने निर्णय भयो ।’

सिम्पल सिम्पल कान्छीको, घरी मुसुमुसु, तिम्रो आँखामा लगायत थुप्रै हिट गीतका रचनाकार शंकरको सांगीतिक जीवनमा ‘सिरुपाते जुँगा’ले के अर्थ राख्छ त ? गफ स्टेसनमा उनी गफिए, ‘एउटा ईंटा थप्यो । एक दशकपछि मलाई फेरि चर्चामा ल्याइदियो ।’ उनले गीतकार र संगीतकार सधैं ओझेलमा परेकोप्रति भने गहिरो चिन्ता व्यक्त गरे । ‘गीतका जन्मदाता हामी हौं । तर धेरै ठाउँमा नाम समेत लिएको पाइँदैन । यो परिपाटीको अन्त्य गर्न सबै लाग्नुपर्‍यो ।’

बाबुललाई चाहिं गायकको रुपमा पनि स्थापित गराउँदैछ यो गीतले भन्ने मान्न सकिएला त ? ‘पहिले गायक बन्नै भनेर आएपनि मलाई अहिले यसप्रति कम रुचि छ । संगीत गर्न, एरेन्ज गर्न र मिक्सिङतिर बढी रुचि लाग्छ हिजोआज । महिनामा करिब १० गीत कम्पोज गर्छु, १० जना गायक-गायिकाले त गाउन पाउँछन् नि,’ बाबुल भन्छन्, ‘सिरुपातेले गीत पनि राम्रो गाउने रहेछ भन्ने चाहिं बनायो होला ।’

संगीत कम्पोजको आफ्नै शैली छ बाबुलको । औसत १० मिनेटमा एउटा गीतको कम्पोज गरिसक्छन् । अनि उनको अर्को विशेष कुनै पनि गीतलाई दोहोर्‍याएर कम्पोज नै गर्दैनन् रे । ‘दोहोर्‍याएर अर्को शैलीमा कम्पोज त म कहिले गर्दिनँ । एक टेकमा भयो भने भयो,’ बाबुल संगीत सिर्जनाबारे भन्छन्, ‘त्यही लयलाई सिंगार्नु अर्कै कुरा हो ।’

शंकरको परिचय गीतकार मात्रै होइन, उनले केही फिल्म र म्युजिक भिडियो समेत निर्देशन गरेका छन्, फिल्मको स्क्रिप्ट पनि लेखेका छन् । ‘तर मेरो परिचय गीतकार नै हो । गीत लेख्दा लेख्दै मर्न पाऊँ भनेर धेरै ठाउँमा भनेको छु । बाँच्नका लागि कदम मोडेको हो, पेसा होइन,’ उनी प्रष्ट्याउँछन् ।

बाबुल गायनमा भन्दा कम्पोज र एरेन्जमै बढी केन्द्रित हुन चाहन्छन् । ‘गीत गाउँदै नगाउने होइन, वर्षमा एक-दुईवटा सार्वजनिक गर्छु होला । तर संगीत सिर्जना नै मेरो मुख्य काम हुनेछ । यसले सायद अरु गायक-गायिकाको रोजगारी पनि खोस्दैन होला भन्ने लाग्छ ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

गीतकार शंकर अधिकारी ‘घायल’ र गायक तथा संगीतकार बाबुल गिरीसँगको विस्तृत अन्तर्वार्ता भिडियोमा :

लेखकको बारेमा
खेम रिसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?