+
+

मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले भत्कायो अखिलको विरासत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ९:०६

६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा एमाले निकट अखिलको विरासत भत्किएको छ ।

सधैं अखिल विजयी भएको क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन् ।

सोमबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार उनले ८१३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज शर्मा पौडेलले ६८२ मत प्राप्त गरे ।

यसअघिका सबै स्ववियु चुनावमा अनेरास्ववियुले नेतृत्व गर्दै आएको मकवानपुर बहुमुखी क्याम्पसमा पहिलोपटक अखिल क्रान्तिकारीले अनेरास्ववियुको विरासत भत्काएको छ ।

भर्खरै नेकपा एमालेको सचेतकको जिम्मेवारी पाएका महेश बर्तौला यही क्याम्पसमा २०६२ र २०६५ सालमा स्ववियु अध्यक्ष निर्वाचित भएका थिए ।

मकवानपुर जिल्लाका ८ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसले प्यानल बनाएका थिए ।

यो प्यानलले निर्वाचनको माध्यमबाट मकवानपुर बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौंडामा स्ववियु नेतृत्व लिन सफल भएको छ ।

थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका पुस्कल श्रेष्ठ यसअघि नै सर्वसम्मत अध्यक्ष भएका थिए ।

एमाले निकट अनेरास्ववियुको प्यानलमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लवको अखिल (क्रान्तिकारी) विप्लव थिए ।

मकवानपुरका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनअन्तर्गत हेटौंडा-१६ को जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) विप्लवकी मुना गोले, मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल, हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल र वनविज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कंडेल अध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?