+
+

सरकारले व्यवसायीको समस्या समाधान गर्न पहल नगरे होटल बन्द गर्ने हानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १६:५६

६ चैत, काठमाडौं । होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या समाधान गर्न सरकारले पहल नगरे व्यवसाय नै बन्द गर्ने चेतावनी दिएको छ ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले पहल नगरे होटल बन्द गर्ने चेतावनी दिएको हो ।

हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको समाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएका ऋणका सावाँ ब्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए । उनले सरकारका नीति निर्माताहरु,सम्वद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक, ज्ञापनपत्र, सुनुवाइ लगायतका प्रयासहरुबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको बताए ।

उनले पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरु घाटामा सञ्चालित रहेको बताए । राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको उनले बताए । होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्युबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको सावाँ ब्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न माग गरे । उनले पछिल्लो समय होटलको अकुपेन्सी २५ प्रतिशत मात्रै रहेको बताए।

संघकी अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताइन् । उनले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले नेपालको पर्यटन क्षेत्र ५० प्रतिशत मात्रै लयमा आएकाले पर्यटक क्षेत्रको विकासमा चुनौती रहेको बताइन् । अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सबै फस्टाएर पर्यटन व्यवसाय सामान्य अवस्था आयो भनेपनि सामान्य अवस्थामा नआएको बताइन् । उनले पर्यटन क्षेत्रलाई सरकारले उद्योगको मान्यता नदिएको भन्दै होटल क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?