+
+
संसदमा एमाले र माओवादीको जुहारी :

गठबन्धन किन फेरेको ? संसद विघटन सही भनेकाले

२५ मिनेट लामो सम्बोधनमा उनको मुख्य प्रश्न थियो, १० पुसमा प्रधानमन्त्री बन्दा बनेको गठबन्धन किन फेरेको ? छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रष्ट जवाफ दिएका छन्– एमाले अध्यक्ष केपी शर्मा आलीले संसद विघटन सही भनेपछि सत्ता सहकार्यमा रहन सकिएन ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत ६ गते २१:१६

६ चैत, काठमाडौं । प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले सोमबार दोस्रो पटक विश्वासको मत लिँदा सरकार गठन गर्दाका सहयात्री एमाले र राप्रपा दुबै दलको मत पाएन । तर प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेससहितका ११ राजनीतिक दलले मत दिएका कारण सहजै बहुमत जुट्यो ।

मतदानमा सहभागी २६२ सांसदमध्ये १७२ सांसदले विश्वासको मत लिने प्रचण्डको प्रस्तावको पक्षमा मतदान गरे । २७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ मत भए पुग्छ । एमाले र राप्रपाका ८९ सांसदले विपक्षमा मत दिए भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसे ।

प्रधानमन्त्रीले सांसदको विश्वास पाउनुअघि एमाले र माओवादी केन्द्रबीच जुहारी नै चल्यो । एमालेका तर्फबाट पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मत दिने प्रधानमन्त्रीको प्रस्तावबारे बोलेका थिए । २५ मिनेट लामो सम्बोधनमा उनको मुख्य प्रश्न थियो, १० पुसमा प्रधानमन्त्री बन्दा बनेको गठबन्धन किन फेरेको ?

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रष्ट जवाफ दिएका छन्– एमाले अध्यक्ष केपी शर्मा आलीले संसद विघटन सही भनेपछि सत्ता सहकार्यमा रहन सकिएन ।

कांग्रेस नेतृत्वको गठबन्धनसँग तालमेल गरेर चुनाव लडेको माओवादीका अध्यक्ष प्रचण्ड १० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायतका ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यो बेला प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।

त्यसअनुसार ५ माघमा एमालेका देवराज घिमिरे सभामुख भए । तर राष्ट्रपति निर्वाचनमा आइपुग्दा प्रचण्डले गठबन्धन फेरे । उनकै प्रस्तावमा १२ फागुनमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय भएपछि राप्रपाले भोलिपल्ट सरकार छाड्यो भने एमालेले १५ फागुनमा समर्थन फिर्ता लिने निर्णय गर्‍यो ।

सत्ताको प्रमुख दुई घटकले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागे । त्यसक्रममा प्रचण्डले सरकारबाहिर रहेका पार्टीलाई जोडेर राष्ट्रिय सहमति बनाउन प्रयत्न गरिरहेको बेला एमाले र राप्रपा अस्थिरतातिर अग्रसर भएको बताए । उनले भने, ‘सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा साथीहरुले गर्नुहोला । यो कति राजनीतिक र जिम्मेवार निर्णय भयो, त्यसको जवाफ उहाँहरुले नै दिनुहोला ।’

प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जवाफ फर्काए, ‘एमालेले किन समर्थन फिर्ता लियो भन्ने कुरा दुनियाँलाई थाहा छ । सबैभन्दा बढ्ता स्वयं प्रधानमन्त्रीलाई थाहा छ । आफ्नो मनलाई सोधे हुन्छ ।’

पौडेललाई प्रचण्डले जवाफ फर्काए, ‘माननीय विष्णु पौडेलले भन्नुभयो प्रधानमन्त्रीलाई थाहा छ आफैंलाई सोध्नुस् । म भन्छु– अर्थमन्त्री हुनुहुन्थ्यो, तपाई आफैंलाई थाहा छ आफैंभित्र हेर्नुस् । तपाईं पनि आफ्नै आत्मसँग सोध्नुस् ।’

उपाध्यक्ष पौडेलले प्रचण्डलाई पटकपटक एउटा प्रश्न गरे, ‘तपाईं के त्यस्तो कारण पर्‍यो ? जुन कारणले गर्दा त्यो सहयात्राबाट आज यो सहयात्रामा फर्किनुभएको छ ? यदि यही सहयात्रामा जानु थियो भने पुस १० गते किन बालकोट जानुभयो ?’  पौडेल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि त्यसको कारण एमाले अध्यक्ष ओली नै भएको जवाफ दिएका छन् । नयाँ संविधान जारी भएपछि ओलीसँग सुरु भएको सहकार्य र त्यसक्रममा आएको उतारचढावको स्मरण गरेका प्रचण्डले १० पुसमा को सहमति नेकपाकालमा एकाअर्काको आलोचना गर्दै ल्याएका दस्तावेज र प्रतिनिधिसभा विघटनको विषयलाई दुई/तीन वर्ष थाती राख्ने सहमति भएको सुनाए ।

‘…हिजो भएका वादविवाद र घटनाक्रम, चाहे त्यो संसद विघटन कुरा होस्, चाहे मैले प्रस्तुत गरेको दस्तावेज (तत्कालिन नेकपाको सचिवालय बैठकमा प्रस्तुत गरेको ओलीको आलोचनासहितको राजनीतिक प्रतिवेदन) होस्, चाहे केपीजीले दस्तावेजको कुरा होस् । त्यसलाई दुई तीन वर्ष थाती राख्ने र त्यतातिर जाँदै नजाने भन्ने भएको थियो’, प्रचण्डले भने ।

तर संसदको सुरुवाती दिनमै ओली त्यस विपरीत प्रस्तुत भएको प्रचण्डको आरोप छ । दुई महिनामा सत्ता समीकरण किन फेरियो भन्ने एमाले प्रश्नको सोझो उत्तर भन्दै उनले भने, ‘विश्वासको मत दिने दिन (गत पुस २६ गते) उहाँले सगौरव मैले संसद विघटन गर्नु सही हो । क्यानडामा, इंगल्याण्डमा, कहाँ–कहाँ, यहाँ पनि शेरबहादुरले विघटन गरेको भनेपछि त्यही दिन यो (एमालेसहितको गठबन्धन) भंग हुनेतिर गयो भन्नेमा मभित्र पुगिसकेको थिएँ ।’

त्यही बेला कांग्रेसले आफूलाई छोडेकामा पश्चाताप गरेपछि आफ्नो लभ परेको उनले सुनाए । एमाले उपाध्यक्ष पौडेलले पुरानै गठबन्धनमा फर्किनु थियो भने १० पुसमा किन बालकोट आएको भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ दिए ।

‘तपाईंहरु आइदिए हुन्थ्यो भनेर केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो । म चाहिँ यतै (कांग्रेससहितको गठबन्धन) बल गर्दै थिएँ । अनेक गरेर बोलाउनुभयो’, प्रचण्डले भने, ‘बाइद वे म (बालकोट) जानुपर्ने स्थिति बन्यो म गएँ ।’

जवाफ दिने क्रममा अधिकांश समय पौडेलले उठाएका प्रश्नको प्रतिवादमा खर्चिएका प्रचण्डले गठबन्धन टुट्ने बेलामा ओलीले गरेको च्यालेन्जलाई पनि स्मरण गरे । ओलीले आफूलाई ठूलो शिक्षा समेत दिएर पठाएको भन्दै प्रचण्डले भने, ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा सभामुखको बायाँपट्टी लविमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’

ओलीले कांग्रेसले कुनै पनि बेला धोका दिन्छ र माओवादी प्रतिपक्षमा पुग्छ भनेर बारम्बार भनेको भन्दै प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवातिर हेर्दै भनेका छन्, उहाँको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने तपाईं हाम्रो हातमा छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?