+
+
निफमा फिल्म बहस :

‘नेताहरुले जति खराब कुरा गर्छन्, त्यति नै हास्यव्यंग्यको खुराक बन्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते ११:२७

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तिम दिन सोमबार ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयमाथि बहस भएको छ । पर्यटन बोर्डको हलमा भएको छलफल सत्रमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यंग्य अभिनेता मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई सहभागी रहे ।

हास्य अभिनेता गजुरेलले हास्यव्यंग्य हिसाबको सूत्र नभएको बताए । अधिकांशले बाहिरी हाँसो हँसाउने तर आफूले भित्रैदेखि हँसाउन प्रयास गर्ने उनले बताए । ‘पहिला म विद्यार्थी संगठनमा हुँदा त्यही संगठनको पक्ष र विपक्षमा रहेकालाई हास्यव्यंग्य गर्दथे । त्यसो गर्दा तररर ताली बज्थ्यो । त्यही भएर मलाई हास्यव्यंग्य भनेको नै त्यही हो जस्तो लाग्थ्यो,’ उनले विगत सम्झिए ।

अभिनेता अभिनेत्रीको अगाडि हास्यव्यंग्य कलाकारलाई कमेडियन भनेर सम्बोधन गर्दा पनि आफूलाई बेठीक नलाग्ने गजुरेलको टिप्पणी छ । ‘विधा र प्रस्तुति आ–आफ्नो हो,’ उनले भने, ‘नायक–नायिकाको फोटो पत्रिकामा छापिन्छ, अनलाइनमा अपलोड हुन्छ । तर तिनीहरु निश्चित समयपछि कि च्यातिन्छन्, कि डिलेट हुन्छन् । तर व्यंग्यकारको विचार मान्छेको मनमस्तिस्कमा नमेटिने छाप भएर बस्छ ।’

सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागेलाई लाग्छ नेताहरुले जति खराब कुरा गर्छन्, त्यति नै व्यंग्यको खुराक बन्छन् । ‘कसैलाई पीरमर्का नपारी हास्यव्यंग्य गर्न सजिलो छैन । तर मेरो त मनमा नै त्यही भएकाले व्यक्तिगत रुपमा मलाई असजिलो छैन,’ गाम्नागेले अनुभव बाँडे, ‘संसारमा दुःखका कुरा धेरै छन् । रुने कुरा धेरै छन् । तर हाँस्ने कुरा कम छन् । त्यसकारण यो अप्ठ्यारो विधा हो,’ उनी भन्छन् ।

फिल्म निर्देशक प्रदीप भट्टराई पछिल्लो समय नेपाली बक्स अफिसमा हास्यव्यंग्य विधाका फिल्मको कमाइ राम्रो रहेको बताउँछन् । तर यसले फिल्मको समग्र धरातल माथि उठ्यो कि उठेन भन्ने चाहिं मूल प्रश्न रहेको उनको तर्क छ । ‘पहिला–पहिला फिल्ममा हास्यव्यंग्य भनेको क्वाँटीमा मासदाल र मस्याङ मिसाएजस्तो हुन्थ्यो । अहिले हास्यव्यंग्य नै क्वाँटीजस्तो भएको छ,’ निर्देशक भट्टराई भन्छन्, ‘जुन चीजको माग छ, बजारमा त्यो चीजको अभाव छ भन्ने बुझिन्छ । अहिले हास्यव्यंग्यको माग छ । सायद यही कारण यस विधाका फिल्म चलेका हुन् ।’ समाजमा विकृति र विसंगति धेरै भएकाले पनि कमेडी विधा चलेको भट्टराईको निष्कर्ष छ ।

समालोचक डा. शर्माले महिलाले फिल्म निर्देशन गरेपनि महिलाको आत्मसम्मान बढाउने काम नभएको बताइन् । ‘महिलाले पनि पुरुष सत्ता र पितृसत्ताको मानसिकता त्याग्न सकेको देखिंदैन,’ उनले भनिन्, ‘हास्यव्यंग्य विषयलाई अत्यन्तै हलुका विषय बनाएर प्रस्तुत गर्ने गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?