+
+
Shares
विश्लेषण :

कम्युनिस्ट एकता र फुटको भुलभुलैया

पदका लागि एकता गर्‍यो, आफ्ना सहयोद्धामाथि आरोप लगायो, विभाजन गर्‍यो, अनि फेरि एकताको गीत गायो र त्यहीँबाट अर्को फुटको बिउ रोप्यो । यो अनन्त शृंखला कम्युनिस्टहरूको सनातनी रीतिरिवाज बनेको छ ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ कात्तिक १९ गते २१:३६

१९ कात्तिक, काठमाडौं । नेपालका कम्युनिस्टहरूको फुटजुटको इतिहासमा बुधबारबाट फेरि अर्को अध्याय थपिएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका नौवटा कम्युनिस्ट घटकहरूको एकतापछि नयाँ दल बनेको छ- नेपाली कम्युनिस्ट पार्टी ।

नेपाली कम्युनिस्टहरूको सनातनी विशेषता हो- फुटपछि जुट, जुटपछि पुनः फुटको गोलचक्कर । यो विशेषताले यसपटक पनि निरन्तरता पायो ।

जेनजी आन्दोलनपछि रुपान्तरणको दबाबलाई विषयान्तर गर्न अहिले नेपालमा कम्युनिस्टहरू जे गरिरहेका छन्, त्यसलाई हेर्न पार्टी फुटिरहेको छ कि जुटिरहेको छ, भन्नै मुस्किल छ ।

एकताको यो चरणमा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्की, सुदन किराँती लगायतका नेताहरू अलग भए र बुधबार प्रगतिशील अभियान नेपाल घोषणा गरे । एकीकृत समाजवादीबाट घनश्याम भूसाल पार्टी पुनर्गठन गर्ने बताइरहेका छन् भने रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरूले एमालेतिर बाटो सोझ्याएका छन् ।

काठमाडौंको भृकुटीमण्डपबाट घोषणा गरिएको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन आएका सबै दल र तीनका नेताहरूले आफ्ना नाम छोडे, चुनाव चिह्न हटाए, माओवाददेखि जबजसम्मका विचार परिवर्तन गरेर नयाँ ढंगले संगठित भए । उनीहरूले सबै बदले तर नेतृत्व भने बदलेनन् ।

त्यसैले समाजमा नेतृत्व परिवर्तनको यो तहको माग भइरहँदा पनि उनीहरू वर्षौंदेखि हालीमुहाली गर्दै आएको नेतृत्वको निरन्तरतामै अघि बढे । जसका कारण तिनै पार्टीका लाभदायी नेता र कार्यकर्ताहरू बाहेक आमजनमा उत्साह छैन ।

अब मुख्य रूपमा नेपालका कम्युनिस्टहरूबीच तीनवटा धार देखिने भए- एमाले, नवगठित नेपाली कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको धार । तर यी तीनवटै धारतर्फ भइरहेको ध्रुवीकरणले किन आशाको सञ्चार गरेको छैन ? यो बुझ्न कम्युनिस्ट नेताहरूका इतिहासदेखि वर्तमानसम्मका विचलनका चित्र र चरित्रका पन्नाहरू पल्टाउनै पर्छ ।

कम्युनिस्टका चित्र-चरित्र

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई नै गद्दार भन्ने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह अहिले पुष्पलाल महान भन्ने बिन्दुमा आइपुगेका छन् । निरंकुश पञ्चाचायतविरुद्ध २०२८ सालमा झापा आन्दोलन थाल्ने राधाकृष्ण मैनालीले २०६१ सालमै दरबार पसेर केशरजङ रायमाझी पथमा हिंडिसकेका हुन् ।

झापा आन्दोलनका तिलस्मी नेता मानिने हाल नेकपा मालेका महासचिव सिपी मैनाली ५० वर्षपछि अहिले राजतन्त्र ठीक रहेछ भन्दै वकालत गर्दै हिँड्दै छन् । २०४३ सालको सेक्टर काण्डपछि ४० वर्षदेखि अनवरत रूपमा प्रचण्ड नेतृत्वमा छ्न् । नाती पुस्ता (जेनजी) ले विद्रोह गरिसक्यो, तर अझै उनी आफ्नै नेतृत्वमै बसिरहन अनेक प्रपञ्च गरिरहेका छन् ।

माओवादी सशस्त्र आन्दोलनमा करिब १७ हजारको ज्यान गयो । ज्यान गुमाउनेका परिवारले अहिले पनि न्यायको पुकारा गरिरहेका छन् । उनीहरूले २० वर्षदेखि गरिरहेको न्यायको माग अझै टुंगोमा पुगेको छैन ।

पटक-पटक सत्तामा रहँदा पनि यी विषय कहिल्यै प्राथमिकतामा परेनन् । अहिले यी मुद्दा बीचैमा छोडेर प्रचण्डले माओवादकै झण्डा फेरेका छन् । अनि आफ्नै संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वको सिटमा बसेका छन् ।

झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई हेरौं त, कसलाई उत्साह आउँछ ? वामदेवले २०५४ सालमै एमाले फुटाए । २०५६ सालको चुनावमा एक सिट पनि जित्न नसकेपछि फेरि २०५७ सालमा एमालेमै मिसिए । एमालेमा कहिले झलनाथ खनाल त कहिले केपी ओली र माधव नेपालको गुटबन्दीमा सामेल भए ।

२०७७ सालमा पुन: तत्कालीन नेकपा विभाजन भएपछि ‘कम्युनिस्ट एकता महाअभियान’ भन्ने छुट्टै मोर्चा बनाए । पार नलागेपछि एमाले छिर्न खोजे । च्यासल पार्टी कार्यालयमा पुगेर आफूलाई फिर्ता बोलाउन माग पनि गरे । तर ओलीले नलिएपछि माधव नेपालकहाँ पुगेका उनी यतिबेर प्रचण्डसँग मिलेर फेरि क्रान्तिकारी परिवर्तन गर्ने र मुलुकमा समाजवाद ल्याउने भन्दैछन् । अनि अहिलेको जेनजी पुस्ता यी कुरा सुन्न अभिशप्त छ ।

नेपाल र खनालले एमालेमै हुँदा आलोपालो पार्टीको नेतृत्व गरे । उनीहरू एकअर्काका सरकार ढालेर २०६६/६७ सालमा पालैपालो प्रधानमन्त्री भए । एमालेसँग विभाजनपछि २०७९ सालको चुनावमा कांग्रेस र माओवादीसँग मोर्चाबन्दी गर्दा पनि मुस्किलले तीन लाख भोट ल्याए, राष्ट्रिय पार्टी नै बनाउन सकेनन् । अन्तत: पार्टी नै चल्न नसक्ने अवस्थामा प्रचण्डसँग पार्टी मिलाएका छन् । तर नयाँ पार्टीमा उनीहरू नै दोस्रो र तेस्रो वरीयतामा बसेका छन् ।

अर्कोतिर विप्लव हेरौं, २०६३ सालमा शान्ति प्रकियामा आएपछि माओवादी चुनावमा गयो । तर, पछि मोहन वैद्य लगायतका नेतासँग मिलेर पार्टी फुटाए । २०७०, २०७४ र २०७९ सालको चुनावमा भाग लिएनन् । त्यसमा चुनाव बहिष्कार गरे । शान्ति प्रक्रियामा आएपछि पनि छोडेर हिंसात्मक बाटो नै पक्रे । त्यो बीचमा पनि केही नागरिकको अनाहकमा ज्यान गयो । तर उनी अहिले फेरि चुनाव भन्दै २०६४ सालमा माओवादीले लिएको संसदीय राजनीतिको बाटोमै आइपुगेका छन् । फेरि कम्युनिस्ट ध्रुवीकरण भन्दैछन् ।

उनी २०६३ सालमा किन शान्ति प्रकियामा आए ? पछि किन फेरि हिंसात्मक विद्रोहकै झण्डा उठाए र अहिले फेरि संसदीय कित्तामै किन आइपुगे ? यसको चित्तबुझ्दो जवाफ उनले कसैलाई दिनु परेको छैन ।

२०७५ सालमा एमाले र माओवादीबीच स्वार्थको एकता भएको थियो । केपी ओली र प्रचण्डको पदीय आकांक्षाको सम्बोधन नहुने भएपछि २०७७ सालमा पार्टी एकता भंग भएको निकट विगत कसैले बिर्सेको छैन ।

पदीय शक्ति आर्जनका लागि भएको एकता त्यही महत्वाकांक्षाका कारण धरापमा पर्‍यो । पदका लागि एकता गर्‍यो, आफ्ना सहयोद्धामाथि आरोप लगायो, विभाजन गर्‍यो, अनि फेरि एकताको गीत गायो र त्यहीँबाट अर्को फुटको बिउ रोप्यो । यो अनन्त शृङ्खला कम्युनिस्टहरूको सनातनी रीतिरिवाज बनेको छ ।

फुट र जुटका बेलामा कम्युनिस्टहरूले एक अर्कालाई आरोप लगाउन कम्युनिस्ट शब्दकोषका कुनै पनि शब्दावली बाँकी राखेका छैनन् । अवसरवादी, विसर्जनवादी, पदलोलुप, गद्दार, दलाल, संशोधनवादी, दक्षिणपन्थी, अवसरवादी, उग्रवादी, दरबारिया, प्रतिक्रियावादी, क्रान्तिकारी लफ्फाजी, सारसंग्रहवादी, अहंकारी, कठपुतली उनीहरूले एकअर्कालाई गालीगलौज गर्दा प्रयोग गर्ने प्रिय शब्दावली बनेका छन् । उनीहरूले कुनै न कुनै समयमा एकअर्कालाई यी शब्दबाट ‘सुशोभित’ गरिसकेका छन् ।

नामकै संकट

फुट-जुटको शृङ्खलाले कम्युनिस्ट पार्टीहरू अहिले आफ्नो सग्लो र सहज नाम समेत राख्न मुस्किल पर्ने अवस्थामा पुगेका छन् । एकअर्कामा विलय हुन्छन्, तर विलय भएको नदेखाउन उनीहरू नामको पछि ‘कम्युनिस्ट पार्टी’ फुँदा जोड्छन् । अब त यसरी जोड्ने फुँदा समेत नपाएर कम्युनिस्ट दलहरू नामकै संकटमा पर्न थालेका छन् ।

कहिले ‘मशाल’ र ‘मसाल’ बन्छ । फुटेर बनेको पार्टीको नाम चाहीँ एकीकृत राख्छन् । जुन पार्टी फुटेर अल्पमतमा हुन्छ, उसले नाम नेकपा बहुमत राख्छ ।

नामको संकट अहिले नेपाल कम्युनिस्ट पार्टी बताउने गरेका विप्लवलाई पनि परेको छ । अर्कोसँग नाम जुध्ने भएकाले उनले पार्टीको नाम ‘कपाने’ अर्थात् कम्युनिस्ट पार्टी नेपाल राखेर दर्ता गराएका छन् । माओवादी र एकीकृत समाजवादी पार्टी सहितका दलहरूले एक अर्काका नाममा विलय हुन नचाहेपछि ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राखेका छन् ।

नेतृत्व परिवर्तन र रुपान्तरणको माग गर्नेहरू अहिले पनि कम्युनिस्ट घटकमा गद्दार कहलिँदै छन् । नेतृत्वविरुद्धको घेराबन्दीमा उभिएको भन्दै उनीहरूलाई दलाल भनिँदैछ ।

प्रचण्ड नेतृत्वको पार्टी पटक-पटक नाम बदलिएर नेकपा मसाल, नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र बन्यो । अहिले माओवाद छोडेपछि नेपाली कम्युनिस्ट पार्टी बनेको छ । कम्युनिस्टहरूलाई अहिले नामकै लागि यो तहको संकट परिरहेको छ भने अरू संकट कति होलान् ?

कम्युनिस्टहरू सबैभन्दा बढी समाज रुपान्तरणको कुरा गर्छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणदेखि वर्ग विश्लेषणमा यी पार्टीका नेताहरूले वर्षौं बिताएका छन् ।

इतिहास पल्टाएर हेर्ने हो भने नेपाली कम्युनिस्टहरू ‘चीनपन्थी’ कि ‘रूसपन्थी’ भनेर बहसमा भिडेका छन् । कहिले माओकी श्रीमति कतिवटी थिए, सांस्कृतिक विचलनमा कुन नेता कहाँ फसे भन्ने जस्ता विवादमा अल्झेका छन् ।

कहिले कोकाकोला खाएको नाममा आफ्नै नेतालाई आचरणको प्रश्न गरेका छन् । कहिले भ्रष्टाचारी, अपराधी र कानुनी रूपमा दोषी किटान भएकाहरूलाई पनि संरक्षण गर्दै नेता, मन्त्री, सांसद बनाएर क्रान्तिको अभिभारा पूरा गर्दै आएका छन् ।

‘ठोस परिस्थितिको ठोस विश्लेषण’ भन्दै लामो दस्तावेजमा महिनौं बहस पनि गर्छन् । गतिशीलता र निरन्तरतामा क्रमभंगता भन्दै आफ्नो मनलाग्दी गर्न पनि छोड्दैन् । यी सबै गर्नेहरू समाजको तत्कालीन अवस्थाबारे चाहिँ कति बेखबर हुन्छन् ? निकट भविष्यमै कस्तो हुन्छ ? भेउ समेत पाउँदैनन् । यसको ताजा उदाहरण हो, जेनजी आन्दोलन । जसको भेउ दुई दिन अघिसम्म उनीहरूलाई थिएन ।

जनताको आक्रोश कुन तहसम्म पुग्यो भन्ने उनीहरूलाई मतलब हुँदैन । गत भदौ २३ मा जेनजी आन्दोलन हुनु २ दिन अघिसम्म एमालेले गोदावरी विधान महाधिवेशनमा समाजको विश्लेषण गर्दै थियो । ५ लाख कमाउने नागरिकलाई उच्च वर्ग भन्दै विश्लेषण गर्‍यो । अवस्था यस्तो छ कि नयाँ पुस्ताले शास्त्रीय कम्युनिष्ट जार्गनहरू समेत बुझ्दैन । त्यसो त, कम्युनिष्ट नेताहरूले पनि नयाँ पुस्ताको भावना र चाहना मात्र होइन, भाषा समेत बुझेन/बुझ्दैन । यस्तोमा, सामाजिक सञ्जाल बन्दविरुद्धको आवाजलाई केही होइन भन्दै कानुनी दायरामा ल्याउने हुँकार गर्दै थियो ।

सत्ताको नेतृत्वमा रहेको दललाई समाजको मनोविज्ञान र आक्रोश कुन तहसम्म पुगेको छ भन्ने अत्तोपत्तो थिएन । अहिले देशै बर्बाद हुन लागिसक्दा, संविधानमा घाउचोट लागिसक्दा र आफ्नै सत्ता ढलेर सडकमा आइपुग्दा पनि सबै घटनालाई षड्यन्त्रको नजरबाट मात्रै हेर्दै छ । अन्य कम्युनिस्ट घटकहरू पनि यहाँको समाजको मनोविज्ञान होइन, देशी विदेशी षड्यन्त्र मात्र भनेर बसिरहेका छन् । बुधबार एकता घोषणा सभामा पनि त्यही कुरा नेताहरूले दोहोर्‍याए ।

आफ्नो अक्षमता र कमजोरीलाई महसुस गरेका छैनन् । ठूलो जेनजी विद्रोह पछि सुरु भएको नेतृत्व रुपान्तरणको बहस कोही सुन्न तयार छैनन् । बरू उही वर्षौंदेखिको एकता र फुट नामको भुलभुलैयामा अझै पनि जनतालाई पारिराख्ने कोसिस गरेका छन् । पुरानै नेताहरू आ-आफ्नो निरन्तरताका लागि आधार इलाका मजबुत पार्दैछन् ।

नेतृत्व परिवर्तन र रुपान्तरणको माग गर्नेहरू अहिले पनि कम्युनिस्ट घटकमा गद्दार कहलिँदै छन् । नेतृत्वविरुद्धको घेराबन्दीमा उभिएको भन्दै उनीहरूलाई दलाल भनिँदैछ ।

अर्को पुस्तालाई नेतृत्वमा आउनै नदिने प्रपञ्च ५० वर्षदेखि हालीमुहाली गर्ने नेताहरूले नै गरिरहेका छन् । नेतृत्व रहिरहने योजनासहितका एकता वा ध्रुवीकरणले के अब मुलुकमा परिवर्तन भइरहेको सामाजिक मनोविज्ञानलाई विश्वासमा लिन सक्छ ? के मुलुकमा फेरि कायापलट हुन्छ ? के यो कुरा जनताले बुझेका छैनन् ?

विभाजनको समीक्षा नगरी एकताको हतारो

२०७७ सालमा नेकपाको एकता किन भंग भयो ? माधव नेपालले केका लागि एमालेसँग विद्रोह गरे ? प्रचण्डले आफैंले छोडिसकेका ओलीसँग २०७९ सालको चुनावपछि प्रधानमन्त्री पद लम्बाउन किन गठबन्धन गरे ? केही दिनअघि एकीकृत समाजवादीमा एकताविरुद्ध चर्को रूपमा प्रस्तुत हुँदै माधव नेपालमाथि खनिएका झलनाथ खनाल मंगलबार राति गुण्डुमा केपी ओलीसँग कुरा नमिलेपछि बुधबार एकाएक किन माओवादी र समाजवादीको एकता सभा मिसिए ? प्रश्नै-प्रश्न छन् । जवाफ कसले दिने !

कम्युनिस्ट पार्टी नामका नाङ्ला पसल थापेर, पार्टीको नाममा एउटा लेटर प्याड समेत नभएका व्यक्तिहरू पनि जोडिएका छन् । गुणात्मक भन्दा यस्ता मात्रात्मक एकतालाई प्रचण्डले १० वटा शक्तिहरूको एकता भनिरहेका छन् । उनले बुधबार घोषणासभा पनि ‘एकैसाथ १० वटा कम्युनिस्ट घटकको एकता भएको ऐतिहासिक दिन हो’ भने ।

प्रचण्डलाई भ्रष्टाचारी करार गरेका गोपाल किरातीका लागि अहिले प्रचण्ड नै महान भएका छन् । प्रचण्डले २०६६ सालमा सडकबाट ‘कठपुतली’ करार गरेका माधव नेपाल अहिले फेरि सारथि बनेका छन् । गत साता मात्र एकता प्रक्रियामा आपत्ति जनाउँदै माधव नेपाललाई ‘विसर्जनवादी,’ ‘पलायनवादी’ भन्दै आरोप लगाउने झलनाथ खनाल तिनै नेपाललाई आफूभन्दा माथिल्लो वरीयताको नेता मानेर फर्केका छन् ।

२०७९ सालको चुनावमा रूपन्देहीमा प्रचण्डसमेतको समर्थनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भूसाल अहिले विचार नमिलेको बताइरहेका छन् । तर प्रचण्डमाथि नेतृत्व रुपान्तरणको एजेण्डामा सहमत नभएको भन्दै एकतामा नजोडिएका भूसाल यतिबेर विप्लवलाई सहि ठान्दैछन् । विप्लव लगायतका नेताहरूले तत्कालीन माओवादीमा विद्रोह गरेर नयाँ पार्टी बनाउँदा गलत भन्ने जनार्दन शर्मा र राम कार्कीहरूलाई अहिले विप्लव सही लाग्न थालेका छन् ।

कम्युनिस्ट दलहरूले गतिशीलताको नाममा कहिले ३३ दलीय मोर्चा बनाए त कहिले समाजवादी मोर्चा । यी सबै घटनाक्रम, चित्र र चरित्रलाई एक ठाउँमा राखेर हेर्ने हो भने वाम एकता र फुटका यी दृश्य कुनै थिएटरमा देखाइएका प्रहसनभन्दा कम छैनन् ।

फुट र एकताले जनता भन्दा नेताहरूको हित सुनिश्चित गरेका छन् । प्रत्येक एकता र फुटले नेताहरूको एउटा पंक्ति तयार गरेको छ । त्यो पंक्तिले जनताका दैनिक समस्या समाधानका काम भन्दा क्रान्तिकारी र कोरा सिद्धान्तका लेपन लगाएर अल्झाइरहेको छ ।

किन घट्यो आकर्षण ?

जब फुटले जनआधार कमजोर बनाउँछ, त्यही बेला नेताहरू एकताको अभियान चलाउँछन् । तर पटक-पटकका वाम एकता किन लामो समय टिकेनन् ? एकता हुँदा चर्का कुरा गरिन्छ । जब सत्ता र शक्तिको कुरा आउँछ तब कम्युनिस्ट पार्टीहरू फुटेको इतिहास छ ।

पञ्चायतकालमा भएका कम्युनिस्ट पार्टीका विभाजनमा केही वैचारिक विमति पनि थिए । तर प्रजातन्त्र पुनर्स्थापनापछिको एमाले विभाजन होस् वा २०६४ सालपछि माओवादी धारको विभाजन मूलत: सत्ता र शक्तिकै छिनाझपटीले भएको थियो । त्यसैले हो, कम्युनिस्टलाई वैचारिक आन्दोलनभन्दा ज्यादा गुटहरूको महासंघ आरोप लागेको र नेतृत्वको नैतिक विश्वसनीयता पनि कमजोर हुँदै गएको ।

आजका कम्युनिस्टहरू नेतृत्वको भजन गाउँछन् । जनताका कुरा चुनाव भोट लिने बेलामा बाहेक अरू बेला सुन्दैनन् । संगठनमा समर्पित कार्यकर्ताभन्दा सत्ताभोगीले अवसर पाउँछन् । त्यसैले त हो, स्थानीय तहदेखि संघीय सरकारसम्म कम्युनिस्टहरूको प्रभाव भएपनि त्यसले जनतामा आशा जगाउन नसकेको र जेनजी विद्रोहको आधार तयार भएको । यदि जनतासँग जोडिएर केही आशा जगाएको भए, यो तहको विद्रोहबाट आफैं बढारिन पर्थ्यो ? अनि अहिले एक-एक सिला खोजेर वृहत् कम्युनिस्ट एकताको छारो हाल्न पर्थ्यो र ?

नेपालका कम्युनिस्टहरूलाई विगतमा जनताले नपत्याएका होइनन् । २०५१ सालको चुनावपछि एमाले केही बलियो भएको थियो । २०६४ सालमा माओवादीलाई जनताले शक्तिशाली मत दिएका थिए ।

०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा।

२०७४ सालको चुनावमा एमाले र माओवादीको वाम एकता हुँदै पार्टी एकीकरणको समेत योजनाबाट आकर्षित भएर करिब दुई तिहाइ मत आयो । २०५१ सालमा मनमोहन अधिकारी, चारपटक केपी ओली, तीनपटक प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र बाबुराम भट्टराई गरी ६ जना त प्रधानमन्त्री नै बने ।

प्रत्येक सरकारमा कम्युनिस्ट घटकहरू सहभागी हुन छुटेनन् । अहिले पनि प्रदेश सरकार स्थानीय सरकारमा उनीहरूकै वर्चस्व छ । त्यति ठूलो अवसर पाउँदा पनि उनीहरूले सदुपयोग गर्न सकेनन् । जसको क्षति अहिले उनीहरूलाई नै भएको छ । अझै समीक्षा गरी रुपान्तरणमा जानुपर्छ भन्ने उनीहरूलाई महसुसै भएको छैन ।

कम्युनिस्ट पार्टीहरूले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा केही नगरेको चाहीँ होइन । गणतन्त्र ल्याउने, सामाजिक विभेदविरुद्ध जागरण गराउने काममा कम्युनिस्टहरूको भूमिका छ । त्यही आधारमा नेपालको संविधानसभाबाट संविधान बनाउन पनि उनीहरूको भूमिका रह्यो । तर राजनीतिक क्रान्तिका लागि भूमिका खेलेका दलहरू त्यही उपलब्धी जोगाउन समेत नसक्ने अवस्थामा किन पुगे ? यसको समीक्षा आज एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले गरेको छ ?

अहिले आवश्यकता त सत्ता केन्द्रित राजनीति र व्यक्तिपूजा होइन, संस्थागत नेतृत्व निर्माणको हो । क्रान्तिकारी भाषण होइन, जनताका वास्तविक समस्या बोल्ने र सम्बोधन गर्ने नेता चाहिएको हो । र पटक-पटक अवसर पाएर पनि असफल भएको नेतृत्व परिवर्तनको हो । के अहिलेको कम्युनिस्टहरूको एकता र ध्रुवीकरणले यो कोणबाट रुपान्तरित हुने बाटो लिन्छ ?

यदि यी प्रश्नको जवाफ खोजेर अघि बढेनन् भने अहिले जति चर्का कुरा गरे पनि इतिहासले कम्युनिस्ट नेताहरूलाई क्रान्तिकारी होइन, सिद्धान्तका व्यापारी र उनीहरूका पार्टीलाई सत्ता/शक्तिका लागि खोलेको पसलको रूपमा मात्र सम्झने छन् ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?