+
+

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

रासस रासस
२०७९ चैत ८ गते १७:११

८ चैत, महोत्तरी । बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ। चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमा कैद गर्न व्यस्त छन् ।

महोत्सव सुरु भएको ६ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ महोत्सवमा आउने युवा तथा विद्यार्थीहरुघुमिरहेको चक्रबाट माटोका भाँडा बन्दै गरेको प्रक्रियालाई झनै चासोपूर्वक नियालिरहेको देखिन्छ ।

माटोका भाँडा बन्दै गरेको हेर्न लालायित भिडले खरिदगर्न भने खासै रुचि नदेखाएको कुम्हालको अनुभव छ । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो, हजुरबुबाहरुले यसैबाट जीविकोपार्जन गर्नुभयो’, रवीन्द्रले भने, ‘तर अब भने यसबाट व्यवसायिक लाभ लिन निकै गाह्रो छ।’

माटोका भाँडा बिक्री हुन छाडेपछि यी पसलमा भन्दा प्रदर्शनीमा सीमित हुन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन् । ‘चक्र घुमाएर भाँडा र खेलौना बनाएको हेर्दै रमाइलो मान्नेहरु धेरै छन्’, उनले सुनाए, ‘तर यस्ता भाँडाको बिक्री भने निकै न्यून छ।’

महोत्सवमा रवीन्द्रले माटोबाट बनेका अम्खोरा,चिया पिउने प्याला,खुत्रुके र ढकनालगायतका उत्पादन बिक्रीका लागि राखेका छन् । तर यसबाट हुने आम्दानी ज्यादै न्यून रहेको उहाँको गुनासो छ । उसो त महोत्सवमा मात्रै होइन हाटबजारमा पनि यस्ता भाँडा बिक्री हुन छाडिसकेको उनको अनुभव छ ।

कुनै समय मधेसको प्राचीन मिथिला क्षेत्रमा पानी राख्ने गाग्री (घैँटो, घैला), दही जमाउने छ्याँची, चामल-पीठोसहितका सर्दाम राख्न तौला र खाना पकाउने डेक्ची पनि माटाकै प्रयोग हुन्थे । तर,आधुनिकतासँगै सिल्भर र प्लास्टिकका टिकाउ भाँडाको प्रयोग बढ्न थालेपछि कुम्हालको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ ।

‘माटाका भाँडाको राखनधरन र उपयोग स्वस्थ्यकर हुन्छ’, बर्दिबासका स्वास्थ्यकर्मी राधेश्याम झा भन्छन्, ‘माटाका भाँडाको महत्व थाहा नहुँदा र कम टिकाउन हुने कारणले यसको प्रयोग कम हुँदै गएको हो।’

पछिल्लो समय अनिवार्य मानिएका धार्मिक अनुष्ठान र प्रयोजनबाहेक माटोका भाँडाको प्रयोग लगभग हराइसकेको छ । मिथिलामा चौरचन, दशैँ, दीपावली, छठ र सामा पर्वमा माटाका भाँडा र खेलौनाको प्रयोग अनिवार्यजस्तैछ ।

पितृकार्यमा पनि माटाका भाँडाको खोजी गरिन्छ । त्यसैले पर्वविशेष र अन्य खास अवसरमादही जमाउने छ्याँची, ढकन, तौला, बत्ती बाल्ने दियौरी र सामाका खेलौना बिक्री हुने गरेका भङ्गाहा-५ भूचक्रपुरका काशिलाल पण्डितको भनाइ छ ।

‘विशेष गरी खासपर्व र पितृ कार्यमा यस्ता भाँडाको माग हुन्छ, त्यतिले मात्रै जीवनयापन गर्न सकिन्न’, उनले भने, ‘जसले गर्दा पेसा नै लोप हुने अवस्थामा पुगेको छ।’

उमेरले ६० वर्ष पुगेका काशिलाललाई माटोका भाँडा बिक्न छाडेपछि पेसा हराउने हो कि भन्ने पीर लाग्न थालेको छ । मिथिला क्षेत्रमा माटोका नयाँ भाँडा शुभकार्यमा उत्तम मानिन्छ । धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा भने यसको माग अझै हुने गरेको छ ।

महोत्सवमा स्थानीय उत्पादन र सीप प्रवद्र्धनगर्ने उद्देश्यले ‘कुम्हालको चक्रस्टल’ पनि राखिएको महोत्सव आयोजकबर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठले बताए । ‘नयाँ पुस्ताले चाखपूर्वक माटोको भाँडा बनाउने सीपको अवलोकन गरिरहेका छन्’, उनले भने ।

पहिले जीवन गुजारा बनेको यो पेसाको पहिचान संकटमा परेको छ । माटाका भाँडा बनाउने काम अब जीवन धान्ने पेसा नरहेको लोकदोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष ज्ञान बस्नेतको भनाइ छ।

यद्यपि संस्कृति, परम्परा र पहिचान जोगाउनकै लागि भने पनि यसको संरक्षणका लागि जुट्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?