+
+

फिल्मपछि संगीतमा पनि सिक्वेलको लहर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १२:५१
गायक हिमाल सागर र गायिका रचना रिमाल

काठमाडौं । गायक हिमाल सागरले आफूद्वारा स्वरबद्ध हिट गीत ‘ए हो र माया’को सिक्वेल ल्याउने घोषणा गरे । वैशाख १ गते उक्त गीतको दोस्रो श्रृंखला ‘आहा माया’ ल्याउने उनको तयारी छ । विमल अधिकारीको शब्द तथा संगीत रहेको ‘ए हो र माया’लाई युट्युबमा एक करोड ९० लाख पटक हेरिएको छ । टिकटकमा भाइरल बनेको यो गीत देश तथा विदेशका स्टेजमा निकै घन्कियो ।

अभिनेता पल शाह आफू अभिनित हिट गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन ल्याउने तयारीमा छन् । आफ्नै लगानी रहने यो गीतमार्फत पलले एक वर्षपछि म्युजिक भिडियोमा कमब्याक गर्दैछन् । पुष्पन प्रधानको स्वर रहेको उक्त गीतको मेल भर्सनलाई युट्युबमा ६८ लाखभन्दा बढी पटक हेरिएको छ भने सामाजिक सञ्जालमा समेत यसलाई रुचाइएको छ । सेलिब्रिटी र दर्शकबीचको सम्बन्धको कथा चित्रण गर्ने यही म्युजिक भिडियोलाई पलले छनोट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अर्को चर्चित गीत ‘धोकेबाज हौ तिमी’को र्‍याप भर्सन ल्याउने तयारीमा संगीतकार सुवास कार्की जुटेका छन् । उक्त गीतको मेल, फिमेल र चाइल्ड भर्सन रिलिज भइसकेको छ । सुटिङ गरेर एक सातामै र्‍याप भर्सनलाई रिलिज गर्ने उनको तयारी छ । कलाकार शिशिर भण्डारीले केही दिनदेखि ‘फोटो फिरिममा ३’ ल्याए । यो गीतले अहिलेकी चर्चित गायिका रचना रिमाललाई स्थापित गरेको थियो । केही दिनमा फोटो फिरिममा ३ सार्वजनिक गर्ने तयारी छ ।

प्रस्तुत उदाहरणले नेपाली संगीतमा पनि सिक्वेलको बाढी आउँदैछ भन्ने स्पष्ट सन्देश दिन्छन् । पछिल्लो दशकमा नेपाली फिल्ममा मौलाएको श्रृंखला निर्माणको यो प्रवृत्ति संगीततिर सोझिएको छ । केही वर्षअघि छिटफुट रुपमा गीतको सिक्वेल बन्ने गरेपनि अब हप्तैपिच्छे सिक्वेल आउने तयारीमा छन् । मेल, फिमेल र किड भर्सनको नाम दिएर होस् या १, २ वा ३ नाम दिएर, संगीतकर्मी सिक्वेल निर्माणमा होमिएका छन् । यौ दौडमा यसअघि नै शिव परियार, सुनिल गिरी, विष्णु माझी, बाबु बोगटीजस्ता कलाकारले भाग लिइसकेका छन् ।

शिवले ‘आँसुको अर्थ’ गीतको तीन सिक्वेल बनाइसकेका छन् भने सुनिल गिरीले ‘को होला त्यो’, ‘देउराली’लगायत गीत सिक्वेलमा ल्याइसकेका छन् । विष्णु माझीको ‘चरी जेलैमा’, बाबु बोगटीको ‘सान्नानी’ गीतका सिक्वेल निर्माण भएर सार्वजनिक भएका छन् ।

गायक हिमाल सागर दर्शक-श्रोताको चाहना र मागलाई ख्याल गर्दै आफूहरुले ‘ए होर माया’को सिक्वेल ल्याउन लागिएको बताउँछन् । ‘दर्शकले अब पार्ट टु कहिले आउँछ भनेर सोधेको सोध्यै हुनुहुन्थ्यो । सो गीत दर्शक र श्रोताको चाहना र चासोको विषय पनि भयो । त्यही कुरालाई ध्यानमा राख्दै त्यस्तै प्यार्टनमा गीत ल्याउने निर्णय गरेका हौं,’ हिमालले अनलाइनखबरसँग भने, ‘पछिल्लो समय यो ट्रेन्ड भारत र अमेरिकामा पनि फैलिएको छ । किनभने हिट गीतको सिक्वेल ल्याउँदा धेरै पब्लिसिटी गर्नु पनि पर्दैन ।’

संगीतकार वसन्त सापकोटा दर्शकले पहिलो र दोस्रो गीत रुचाए भन्दैमा तेस्रो र चौथो गीत पनि रुचाउने निश्चित नभएको बताउँछन् । ‘यदि दोस्रो गीतलाई दर्शकले रुचाएनन् भने त्यहींबाट सिक्वेल बनाउने ट्रेन्ड ब्रेक हुन्छ । तर मलाई लाग्छ पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रोमा गुणस्तर र बेस्ट दिने प्रयास पक्कै पनि राम्रो कुरा हो,’ उनले भने ।

पछिल्लो समय टिकटक र युट्युबजस्ता प्लेटफर्मको दबाबको कारण पनि संगीतकर्मी सिक्वेल बनाउन सोझिएजस्तो देखिन्छ । आर्थिक रुपमा मुनाफा हुनेदेखि पब्लिसिटीमा पनि धेरै मेहनत गर्नु नपर्ने भएकाले संगीतकर्मीले यो सुरक्षित बाटो अपनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?