+
+

प्रधानमन्त्रीको सचिवालय भन्छ- मिटरब्याज पीडितको समस्या समाधान गर्न पहल सुरु भइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ११:०९

१० चैत, काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

पीडित किसानहरुको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । ‘आज मात्रै पनि प्रधानमन्त्रीले कानून मन्त्रालयका सचिवलाई कानूनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमा ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने ।

महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किने वातावरण बनाउन गृहसचिव मार्फत प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले जानकारी दिए ।

सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानहरुसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको र मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा पनि चलाइरहेको भन्दै घर फर्किन आग्रह गरेका थिए । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानहरुले कानून नबन्दासम्म घर नफर्कने अडान लिएका थिए ।

किसानहरुले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरुलाई चिसोबाट जोगिन कम्बलको व्यवस्था गर्न र सवारीको प्रवन्ध मिलाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानहरुलाई कम्बलको व्यवस्था गरिदिएका थिए ।

सरकारले ३५० जना मिटर ब्याजीहरुलाई कारबाहीसमेत गरिसकेको समेत शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?