
काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’को स्पिन–अफ ‘भष्मे डन’को छायांकन शुक्रबारदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरु भएको छ । आर्यघाटको बागमती तटमा शीर्ष भूमिकामा रहेका विपिन कार्कीको केही दृश्यसँगै छायांकन थालिएको हो । निर्देशक दीपेन्द्र के खनालले एक महिनाजति फिल्म छायांकन चल्ने बताए ।
पहिलो दिन विपिनसहित स्वस्तिमा खड्का र प्रकाश घिमिरेको दृश्य छायांकन गर्ने तयारी छ । फिल्ममा भष्मे डनको भूमिकामा विपिन देखिनेछन् भने घिमिरे चाहिं मितबाको भूमिकामा । छायांकन सेटबाट सार्वजनिक तस्वीरमा विपिनलाई भष्मे डनकै हुलियामा देख्न सकिन्छ भने केही पूजाआजाको दृश्य खिचिए ।
फिल्ममा सौगात मल्ल, हनुमान बनेका रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभू पौडेल, प्रकाश दाहालजस्ता कलाकार पनि महत्वपूर्ण भूमिकामा छन् । खगेन्द्र लामिछानेको निर्माण तथा पटकथा रहेको फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने तयारी छ ।
६ वर्षअघि प्रदर्शन भएको ‘पशुपतिप्रसाद’मा भष्मे डन पात्रले खराबदेखि सकारात्मक व्यवहारसम्मको यात्रा गरेको छ । उसमा आउने चरित्रको रुपान्तरणसँगै फिल्म सकिएको थियो । भष्मे डन फिल्ममा अब त्यो बिन्दूदेखिको कथा सुरु हुनेछ ।
प्रतिक्रिया 4