
१२ चैत, काठमाडौं । टी-२० क्रिकेट इतिहासमै सर्वाधिक लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ ।
क्विन्टन डे कक र रेजा हेन्ड्रिक्सको अर्धशतकमा दक्षिण अफ्रिकाले आइतबार २५९ रनको लक्ष्य पूरा गर्दै वेष्ट इन्डिजलाई ६ विकेटले हरायो ।
सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य ७ बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो । जितपछि दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
ठूलो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि ओपनरद्वय डे कक र रेजाले पहिलो विकेटका लागि १०.५ ओभरमै १५२ रनको साझेदारी गरेका थिए ।
डे ककले ४४ बल खेल्दै ९ चौका र ८ छक्का मदतमा १०० रन बनाए । रेजाले २८ बलमा ११ चौका र २ छक्का प्रहार गरी ६८ रन जोडे ।
कप्तान एइडन मारक्रमले २१ बलमा अविजित ३८ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे ।
हेनरिच क्लासेनले ७ बलमा ३ चौका मद्दतमा अविजित १६ रन बनाए । राइले रुसोले १६ र डेविड मिलरले १० रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोहनसन चार्ल्सको शतकमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । चार्ल्सले ४६ बल खेल्दै १० चौका र ११ छक्का मद्तमा ११८ रन बनाएका थिए ।
ओपनर कायल मेयर्सले २७ बलमा ५१ रन बनाए ।
यस्तै कप्तान रोभमन पावेलले १९ बलमा २८ रन जोडे । रोमारियो सेफर्डले १८ बल खेल्दै १चौका र ४ छक्का मद्दतमा अविजित ४१ रन बनाए ।
दक्षिण अफ्रिकाका मार्को जानसेनले ३ र वायने पार्नेलले २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4