+
+

नाचघरमा बुद्ध थिएटर फेस्टिभल सुरु, आज ‘थ्री लाफिङ मंक्स’ नाटक मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ११:४०

काठमाडौं । रंगमञ्च दिवसको अवसर पारेर ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ काठमाडौंमा सुरु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सवको तेस्रो संस्करण सुरु भएको हो । शेचेन गुम्बाका १० जना बौद्ध भिक्षुले मन्त्रोच्चारण गर्दै फेस्टिभलको औपचारिक शुभारम्भ गरे ।

समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको ‘डबली अवार्ड’ प्रदान गरियो । बरालको पुरस्कार अभिनेत्री दीया मास्केले ग्रहण गरिन् । कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक अभि सुवेदी लगायत रंगकर्मीहरुको उपस्थिति थियो ।

बुद्धको जीवन र दर्शनमा आधारित नाटक मञ्चन गर्ने फेस्टिभलको आयोजना हुनु निकै राम्रो कार्य भएको कुलपति राईले बताए । बुद्धसम्बन्धी फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनले बताए । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलमा पहिलो दिन नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गरिएको थियो ।

बुद्धलाई नेपालीले पनि राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकुन् भनेर फेस्टिभल आयोजना गरिएको महोत्सव निर्देशक तथा अभिनेता पुष्कर गुरुङले बताए । आगामी संस्करणदेखि महोत्सवलाई अन्तराष्ट्रिय स्तरमा लैजाने समेत उनको भनाइ थियो ।

चैत १७ गतेसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन् । मंगलबार ५ बजे प्रशान्त बगाले निर्देशित ‘थ्री लाफिङ मंक्स’ मञ्चन हुँदैछ । बुधबार निकिता गुरुङ निर्देशित ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित ‘पत्ताचारा’ मञ्चन हुनेछ । बिहीबार वर्षा वान्द्रा निर्देशित ‘पश्चाताप’ र सश्मिल मगर निर्देशित ‘अमरपाली’ देखाइनेछ । महोत्सवको अन्तिम दिन शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?