+
+

बिजुली उत्पादन क्षमता २५०० मेगावाटमाथि, वर्षामा आधा निर्यातको चुनौती

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ चैत १४ गते १९:५०

१४ चैत, काठमाडौं । ४४ मेगावाटको सुपर मादी जलविद्युत परियोजना आइतबार राष्ट्रिय प्रसारणमा जोडिएपछि नेपालको राष्ट्रिय प्रसारणलाइनमा जडित क्षमता २ हजार ५२६.९ मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । यही वर्ष १८ वटा नयाँ आयोजनाले विद्युत उत्पादन थालेका छन् ।

प्राधिकरणका प्रवक्ता समेत रहेका विद्युत भारप्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराई आयोजना निर्माण धमाधम सकिंदै गर्दा जडित क्षमता बढ्दै गएको बताउँछन् । योसँगै वर्षायाममा व्यवस्थापन गर्नुपर्ने बिजुलीको परिमाण पनि बढ्दै गएको उनले बताए ।

देशभित्र विद्युत खपत दर नबढ्दा भारतबाट निर्यातको अनुमति नपाए वर्षायाममा ठूलो मात्रामा बिजुली खेर जाने चिन्ता छ । वर्षायाममा नदी प्रवाहमा आधारित परियोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ । कुल जडित क्षमता बराबरै उत्पादन भएको विजुली देशभित्र खपत हुन नसक्ने निश्चित छ ।

साँझ र विहानको ‘पिक आवर’मा १७ सय मेगावाट बिजुली नेपालभित्र खपत हुने गरेको छ । रातमा बिजुली खपत स्वतः कमजोर बन्छ । यस्तो अवस्थामा आगामी वर्षाअघि थप आयोजनाको बिजुली राष्ट्रिय प्रसारणमा जोडिंदै छन् ।

यसअनुसार पिक आवरमै पनि आगामी वर्षायाममा करिब ८०० मेगावाट बिजुली देशभित्र खपत हुन नसक्ने अवस्था छ । रातमा त्यस्तो परिमाण १००० मेगावाट नाघ्ने देखिन्छ ।

खपत हुन

नसकेको बिजुली निर्यात गर्न नसकिए परियोजनाहरु बन्द गरेर खेर फाल्नुपर्ने हुन्छ । विगतका वर्षमा पनि निर्यात हुन नसकेको बिजुली ‘स्पिल’ (खेर) गरिएको थियो । अझ निजी क्षेत्र (स्वतन्त्र ऊर्जा उत्पादक कम्पनीहरु)का परियोजना बन्द गर्नु परे प्राधिकरणले क्षतिपूर्ति नै दिनुपर्छ ।

निर्माणाधीन आयोजनाहरु धमाधम सकिन थालेसँगै राष्ट्रिय प्रसारणमा बिजुली जोडिने क्रम बढ्दा हिउँदयाममा भने राहतको अवस्था सिर्जना हुँदैछ । नदीमा पानीको सतह घट्ने भएकाले हिउँदमा चाहिने आधा बिजुलीको लागि भारतको भर पर्नु परिरहेको छ ।

सरकारी तथ्यांकअनुसार राष्ट्रिय प्रसारणभन्दा बाहिरकोसहित गर्दा देशको विद्युत उत्पादन क्षमता २६०० मेगावाट नाघिसकेको छ । राष्ट्रिय प्रसारणबाहिर ८५ मेगावाट बिजुली रहेको अनुमान छ । विद्युत प्राधिकरणसहित स्वतन्त्र विद्युत उत्पादक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका आयोजनाहरुमार्फत विद्युत उत्पादन हुने गरेको छ ।

अहिले विद्युत प्राधिकरण र उसका सहायक कम्पनीबाट १ हजार १२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाहरुले १ हजार ४१० मेगावाट बिजुली उत्पादन क्षमता पुर्‍याएका छन् ।

नेपाल विद्युत प्राधिकरणले यो वर्ष ८०० मेगावाट विद्युत प्रणालीमा थपिने अनुमान गरेको थियो । लक्ष्यअनुसार आयोजनाहरुको निर्माण सकिए यसैवर्ष जडित क्षमता ३००० मेगावाट नाघ्ने छ । प्राधिकरणका सहायक कम्पनीमार्फत बनिरहेका रसुवागढी, मध्यभोटेकोशी लगायत आयोजना सकिए लक्ष्यअनुसार जडित क्षमता पुग्छ । त्यसअनुसारको काम भने भएको छैन ।

अहिले ३ हजार मेगावाटभन्दा बढीका आयोजना निर्माणको चरणमा छन् । १० हजार मेगावाटभन्दा बढीका आयोजना विद्युत खरिद सम्झौताका लागि प्रतिक्षामा छन् । त्यसमध्ये १५०० मेगावाटको आयोजना पीपीए गर्ने चरणमा छन् ।

निर्माण सकिएका आयोजनाहरुको बिजुलीको वर्षे व्यवस्थापन भने टाउको दुखाइको विषय बनेको छ । जलविद्युत आयोजनाहरुको निर्माण धमाधम सकिंदै गर्दा अधिकतम् बिजुली भारत निर्यात हुने वातावरण बनाउन लागिपरेको विद्युत प्राधिकरण नेतृत्वको भनाइ छ ।

गत ५ र ६ फागुनमा भारतमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले १३०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्न आधार तय गरेको छ । अहिले ६०० मेगावाट बिजुली आदानप्रदान भइरहेको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ८०० मेगावाटसम्म आयात–निर्यात गर्न भारत तयार भइसकेको छ ।

बिहारसँग जोडिएका रक्सौल–परवानीपुर, कुशाह–कटैया, मैनह्या–सम्पतियासहितका प्रसारणलाइनबाट ४०० मेगावाटसम्म निर्यात गर्न दिन पनि भारत तयार छ । टनकपुरबाट ८० मेगावाटसम्म बिजुली भारत पठाउन सकिने अवस्था छ ।

अहिले भारतले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा नेपालबाट ४५२ मेगावाट बराबरको आयोजनाबाट उत्पादित बिजुली मात्र निर्यात गर्न अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रुपमा थप आयोजनालाई अनुमति दिइरहेको र अब पनि दिंदै जाने बताउँछन् । ‘हामीले प्रस्ताव गरेका अरु आयोजनाहरुले पनि अनुमति पाउनेमा विश्वस्त छौं,’ उनी भन्छन्, ‘भारतसँगको ऊर्जा व्यापार तथा सहकार्य भविष्यमा थप विस्तार हुँदै गएर दुवै मुलुकले अधिकतम् लाभ उठाउने हाम्रो विश्वास छ ।’

गत १९ जेठदेखि ३ पुससम्ममा प्रधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ (६ अर्ब ९७ करोड ६९ लाख भारु) आर्जन गरेको थियो ।

आउँदो वर्षामा देशभित्र खपत नहुने बिजुली व्यवस्थापनको चुनौतीसँग जुध्दै देशलाई आर्थिक लाभ दिलाउन प्राधिकरण तयार रहेको घिसिङ बताउँछन् । आगामी वर्षायाममा १२०० मेगावाटसम्म बिजुली भारत निर्यात हुनसक्ने सम्भावना रहेको उनले बताए ।

नयाँ बनेकासहित करिब ४०० मेगावाट बिजुली निर्यातका लागि भारतमा प्रस्ताव पठाएको जानकारी कार्यकारी निर्देशक घिसिङले दिए । बंगलादेशमा पनि वर्षायाम अगावै ५० मेगावाट बिजुली निर्यात थाल्ने योजना बनाएका उनी त्यसका लागि पूर्वाधार अभाव नहुने बताउँछन् ।

‘अरुण तेस्रोबाट निस्कने २ हजार मेगावाट बिजुली भारत निर्यात गर्न अर्को वर्ष प्रसारणलाइन पनि तयार हुन्छ,’ उनी भन्छन्, ‘त्यो लाइनको पुरा क्षमता ४ हजार मेगावाट हो । बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन बनाउन पनि टेन्डर भइसकेको छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?