+
+

वैशाख १ मा टुँडिखेलमा संगीत, नृत्य र हास्य प्रस्तुतिसहित ओशो महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १५:१२

काठमाडौं । नेपाली नयाँवर्षको अवसरमा आगामी वैशाख १ गते टुँडिखेलमा लाइभ म्युजिकसहित ध्यान र उत्सव आयोजना हुने भएको छ । बुधबार ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा ५० हजारभन्दा बढीको उपस्थितिमा उत्सव हुन लागेको जानकारी दिइयो ।

ओशो तपोवनको सहकार्य र ओम नेपाल मिडियाले गत वर्षको वैशाख १ गतेजस्तै यसपटक पनि उत्सवको दोस्रो संस्करण गर्न लागेका हुन् । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

यसपटकको महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम हुनेछन् । बिहान ९ बजेदेखि महोत्सव सुरु हुने भएपनि मुख्य कार्यक्रम बेलुका ५ बजे हुने जनाइएको छ ।

साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने प्रवक्ता नीराजन भण्डारीले जानकारी दिए । यो सत्रमा विशिष्ट व्यक्तिहरुसहित बोधिसत्य स्वामी आनन्द अरुणबाट सत्संग र आशिर्वाद प्रदान हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, संगीत र हास्य प्रस्तुति हुनेछन् । सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिने भएको छ ।

फुड फेस्टिभलको संयोजन ख्यातिप्राप्त सेफ सन्तोष शाहले गर्नेछन् । उनले नयाँ परिकारहरु महोत्सवमा प्रस्तुत गर्ने भएका छन् । शारीरिक तथा मानसिक तनाव, हतासा र विषादको कारणले दिनानुदिन बिग्रिदै गएको स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनामार्फत समृद्ध मनुष्य निर्माण गर्नु महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरिजम प्रमोसन काउन्सिल र मिडिया संयोजकको रुपमा नेपाल चलचित्र पत्रकार संघ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?